सोमवार, 7 मार्च 2016

वाह ! धर्मगुरुहरु : धार्मिक तथा सामाजिक सद्भावमा धर्मगुरुहरुको प्रशंसनीय कार्य

नेपालगन्ज, फागुन २४ । धार्मिक तथा सामाजिक सद्भाव प्रवाहमा नेपालगन्जका धार्मिक गुरुको प्रयासलाई यहाँ अत्यन्त सराहनीय मानिएको छ ।हिन्दू धर्मगुरु महन्त चन्द्रनाथ योगीको अध्यक्षतामा क्रिश्चियन धर्मगुरु बेन्जामिन श्रेष्ठ, बुद्ध धर्मगुरु गुन्जबहादुर लामा, सिख धर्मगुरु राजेन्द्रसिंह सरदार र इस्लाम धर्मगुरु मौलाना अब्दुलजब्बार मन्जरी सदस्य रहेको ‘अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्च’ को भूमिका अहिले सर्वत्र प्रशंसाको विषय बनेको छ ।
वाह ! धर्मगुरुहरु : धार्मिक तथा सामाजिक सद्भावमा धर्मगुरुहरुको प्रशंसनीय कार्यधार्मिक तथा जातीय संवेदनशीलतामा जोखिमपूर्ण मानिएको बाँके जिल्लामा धर्मगुरुले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न खेलेको भूमिकालाई यहाँको सुरक्षा निकायले प्रशंसनीय कार्यको रुपमा लिएको छ ।
“धार्मिक गुरुहरुको सामूहिक एकताले हामीलाई शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव कायम गर्न ठूलो हौसला र बल मिलेको छ र यसमा सुरक्षा निकाय क्रमशः सफलसमेत हुँदै गएको छ” – मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालको भनाइ छ । धार्मिक गुरुहरुले एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भावको सन्देश प्रवाह गर्दा र आपसमा अङ्कमाल गरी मानवीय धर्म नै सबैभन्दा ठूलो धर्म भनी प्रवचन दिँदा यहाँका नागरिकको आत्मामा त्यसको छाप बसेको पाइन्छ ।

“हामीले आफ्नो धर्मलाई माया र अरुको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने भावना जागृत भएको छ, द्वेष र ईष्र्याले हैन सद्भावबाट मात्र शान्ति र अमनचयन प्राप्त गर्न सकिँदोरहेछ, यही नै नागरिकले सिकेको कुरा हो” – बाँके कम्दी गाविसका झगरु यादवको बुझाइ बनेको छ ।
अहिले समग्रमा बाँके जिल्ला शान्त छ, यहाँ धार्मिक तथा सामाजिक सद्भाव कायम छ, स–साना धार्मिक विवादको सम्भावना देख्नेबित्तिकै धार्मिक गुरुहरुको सामूहिक प्रयत्नबाट त्यसलाई सहमतिमा ल्याउने गरिएको छ । धार्मिक गुरुहरुको प्रयास हाम्रा लागि सुरक्षा व्यवस्था कायम गर्न मार्गनिर्देशन बनेको बताउँदै प्रहरी नायब महानिरीक्षक नेपालले भने– “प्रहरी त शान्ति सुरक्षाका लागि माध्यम मात्र हो, निमित्त नायक त धार्मिक गुरुहरु बनेका छन् ।” धार्मिक गुरुको यही प्रशंसनीय कामका लागि क्षेत्रीय प्रहरी कार्यालयले धार्मिक गुरुहरुलाई आइतबार यहाँ आयोजित कार्यक्रममा सम्मानसमेत गरेको छ । “हाम्रो धार्मिक एकता टुट्दैन, हामी सधैँ एउटै मञ्चबाट धार्मिक तथा सामाजिक सद्भाव प्रवाह गर्ने काममा लागिरहने छौँ” – धार्मिक गुरुहरुको प्रतिबद्धता छ । रासस 

कोई टिप्पणी नहीं: