१० फागुन, काठमाडौं । वालकृष्ण थापा ०४९ सालमा निरीक्षकका रुपमा प्रहरी सेवामा प्रवेश गरे । त्यस क्रममा उनले पेश गरेको त्रिभुवन विश्वविद्यालयको बीएस्सीको प्रमाणपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० सालमा जाली (नक्कली) भएको ठहर गरेको छ । बढुवा भएर प्रहरी नायब उपरीक्षक (डीएसपी) भइसकेका थापाले यसैकारण बदनामी मात्रै बेहोर्न परेन, प्रहरी सेवाबाटै अपमानजक बहिर्गमनसमेत हुनुपर्यो ।
प्रायः भारतीय शैक्षिक प्रमाणपत्रहरु नक्कली ठहरिने गरेको समयमा प्रहरीका उच्च तहका अधिकारीसँग त्रिविकै प्रमाणपत्र नक्कली भेटिँदा अख्तियारका अनुसन्धान अधिकारीहरु पनि तीनछक्क परेका छन् । भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याइन्छ भन्ने आम आशंकालाई यस प्रकरणले नेपालतर्फ मोडेको छ ।
आयोगका अनुसार ०७० सालमा डीएसपी थापाजस्तै ४१ जना प्रहरी अधिकारीहरुले नक्कली सर्टिफिकेटका कारण सेवाबाट हात धोएका छन् । जसमा प्रहरी निरीक्षक नरबहादुर बिष्ट, जितेन्द्र भट्टराईलगायतमा पनि यो सूचीमा सामेल छन् । उनीहरु अधिकांशले भारतीय नक्कली प्रमाणपत्र प्रयोग गरेको भेटिएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्रको जालो सरकारी तथा सार्वजनिक सेवामा ‘क्यान्सर’का रुपमा फैलिरहेको अख्तियारको ठहर छ । यसले अयोग्य व्यक्तिलाई शिष्ट जिम्मेवारीमा पुर्याउने र त्यसैका कारण सार्वजनिक सेवामा विभिन्न समस्या ल्याउने गरेको अख्तियारका अधिकारीहरु बताउँछन् ।
कुन क्षेत्रमा धेरै समस्या ?यसैलाई ध्यानमा राखेर अख्तियारले पछिल्लो जाली शैक्षिक प्रमाणपत्रको जालो चिर्न अभियान नै चलाएको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग बताए ।
‘भारतीय सर्टिफिकेट भनेपछि अधिकांशले नक्कली भन्ने सोच्छन् । यही आशंकाले सम्बन्धित संस्थाहरुले नै त्यस्ता प्रमाणपत्रबारे आयोगमै उजुरी गर्ने गरेका छन् । सर्वसाधारणहरुले पनि यस विषयमा आयोगमा उजुरी गर्छन्’ प्रवक्ता पुस्करले भने- ‘नक्कली प्रमाणपत्रको जालो अब उच्च सरकारीतहसम्म पुगिसकेको छ र यसको नियनत्रण चुनौतिपूर्ण बन्दै गएको छ ।’
सरकारी सेवा प्रवेश र बढुवा तथा पदोन्नतिका क्रममा नै नक्कली सर्टिफिकेट पेश भएको अनुसन्धानबाट देखिएको छ । पुस्करका अनुसार विशेषगरी प्रहरी तथा शिक्षक र सार्वजनिक संस्थानका जागिरेहरु नक्कली सर्टिफिकेटको प्रयोगमा अब्बल देखिएका छन् । बितेका दुई आर्थिक वर्षमा अख्तियारले यससम्बन्धी १ सय ७६ वटा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७०/७१मा ८० वटा मुद्दा दायर भएका हुन् भने बितेका वर्ष ९६ वटा मुद्दा विशेष अदालतमा पुगेका छन् । यसमध्ये ५८ वटा मुद्दा प्रहरी र ४९ वटा शिक्षा क्षेत्रसँग सम्वद्ध छन् ।
झण्डै ३३ प्रतिशत मुद्दा प्रहरी विरुद्ध दायर भएका छन् भने २८ प्रतिशत मुद्दा शिक्षकहरुविरुद्ध परेको छ । यी दुई क्षेत्रपछि सार्वजनिक संस्थानमा जागिर गर्नेहरुको मुद्धा बढी विशेष पुगेको पुस्करले जानकारी दिए ।
बहालवाला सचिवसमेत अनुसन्धानमा‘निजामति सेवामा प्रवेश गर्दा पनि नक्कली प्रमाणपत्र पशे गरेका धेरै मुद्दा विशेषमा पुगेका छन्’ पुस्करले भने- ‘शैक्षिक प्रमाणपत्र मात्रै होइन विभिन्न तालिमका प्रमाणपत्रहरु पनि नक्कली बनाएर पेश भएका भेटिएका छन् ।’अख्तियारले दायर अधिकांश मुद्दा भारतीय विद्यालय, कलेज र विश्वविद्यालयबाट ल्याएको देखाइएका छन् । आयोगमा अहिले दुई हजारभन्दा बढी नक्कली शैक्षिक प्रमाणपत्रबारेको उजुरी जम्मा भएका छन् । त उजुरीहरुमाथि छानबिन अघि बढिसकेको प्रवक्ता पुस्करले बताए ।
‘नक्कली प्रमाणपत्रको जालो हद कतिसम्म पुग्यो भने बाहालवाला सचिवका प्रमाणपत्र पनि नक्कली भएको उजुरी आयोगमा छ’ पुस्करले भने-‘शैक्षिक प्रमाणपत्रदेखि तालिमका नक्कली प्रमाणपत्र पेश गर्नेहरु उच्च तहमै पुगेको यसबाट अनुमान गर्न सकिन्छ ।’
अख्तियारले नक्कली प्रमाणपबारे अदालतमा पेश गर्ने ९५ प्रतिशत मुद्दा जित्ने गरेको छ । अख्तियारले परेका उजुरीहरुमाथि भारतीय शैक्षिक संस्थामा आफ्नै प्रतिनिधि पठाएर अनुसन्धान गर्ने गरेको छ ।
‘पछिल्लो समयमा विभिन्न तेस्रो मुलुकबाट ल्याइएका प्रमाणपत्र पनि अनुसन्धानको घेरामा छन् । यिनीहरुको हकमा हामीले अनलाइन प्रविधिको प्रयोग गरेर सूचना र तथ्यहरु बटुलिरहेका छौं’ प्रवक्ता पुस्करले भने-‘आवश्यक पर्दा इमेलको पनि प्रयोग गछौं ।’
गैह्रसरकारी र निजी क्षेत्रमा हालत के होला ?सरकारी तथा सार्वजनिक सेवामा यति जाली प्रमाणपत्रको जालो ब्यापक बनिरहँदा निजी क्षेत्र भित्रको अवस्था कस्तो होला भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अख्तियारको क्षेत्रभित्र नपर्ने गैह्रसरकारी संघसंस्था, निजीऔद्योगिक तथा व्यवसायिक प्रतिष्ठान लगायतमा यस्ता प्रमाणपत्र छ्यापछ्याप्ती हुनसक्ने अख्तियारका अधिकारी बताउँछन् । ‘सरकारी क्षेत्रमा कमसेकम अख्तियरको डर छ । गैह्रसरकारी र निजी क्षेत्रमा त यस्ता प्रमाणपत्रबारे कसैले चासो नै राख्दैन’ अख्तियारका एक अधिकारीले भने- ‘नेपाली सेनाभित्र पनि जाली शैक्षिक प्रमाणपत्रबारे खासै अध्ययन हुँदैन ।’
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें