मंगलवार, 12 जनवरी 2016

लाप्राकमा चार दिनपछि बल्ल पुग्यो सरकारी राहत

 गोरखा, २८ पुस । हिमपातले अस्तब्यस्त बनाएको गोरखाको लाप्राकस्थित गुप्सीपाखामा चार दिनपछि ‘सरकारी राहत’ पुर्‍याइएको छ । आज बिहानदेखि नेपाली सेनाको एमआइ १७ हेलिकप्टरले न्यानो कपडा र खाद्यान्नलगायत सामग्री ढुवानी सुरु गरेको हो ।
लाप्राकमा चार दिनपछि बल्ल पुग्यो सरकारी राहतगुप्सीपाखामा ६१७ टहराका भूकम्पपीडितले कष्टकर जीवन निर्वाह गर्दै आएका छन् । हिमपात पछि जिल्ला दैवीप्रकोप उद्धार समितिले ४०६ थान त्रिपालका साथै सौर्य बत्ती पठाएको थियो । केयर नेपाल नामक गैरसरकारी संस्थासँग समन्वय गरी ती राहत सामग्री पीडित समक्ष पुर्‍याइएको भएपनि अपुग थियो ।
सरकारले पठाएको एक हजार थान कम्बल, पाँच सय थान सिल्पिङ ब्याग, १५ हजार केजी चामल, ड्राई फूडका प्याकेटहरु लाप्राकका लागि ढुवानी सुरु गरिएको भैरवी दल गणका मेजर सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
‘बिहान एक खेप राहत सामग्री लाप्राक पुर्‍याइयो,’ उहाँले भन्नुभयो – ‘मौसम प्रतिकूल हुँदा दोस्रो पटक उडेको हेलिकप्टर लाप्राक अवतरण गर्न नसकेर फर्काइयो ।’ कुहिरो लागेकाले हेलिकोप्टर अवतरणमा समस्या भएको बताइएको छ ।

मौसममा सुधार भएपछि पुनः हेलिकप्टरमार्फत् राहत सामग्री लाप्राक पुर्‍याएर बितरण गर्ने नेपाली सेनाले जनाएको छ । हिमपातपीडितहरु भने टहरो भित्र जमेको हिउँ बाहिर निकाल्न ब्यस्त छन् । घाम नलागेकाले लाप्राकमा चिसो बढेको छ । हिउँ पग्लन सकेको छैन । रासस

कोई टिप्पणी नहीं: