, काठमाडौं, माघ १३ - एउटा छिमेकी देशको संविधान निर्माणमा आफ्नो स्वार्थ पूरा नभएको बहानामा अर्को छिमेकी मुलुकमाथि नाकाबन्दी गर्नु कुनै कोणबाट औचित्यपूर्ण हुन सक्दैन । सर्वप्रथम हामीले हामी आफैंलाई चिन्नुपर्छ । हामी कृषि तथा औद्योगिक वस्तु उत्पादन वृद्धि र नयाँ वस्तु तथा सेवा पहिचान गर्नेतर्फ लाग्नुपर्छ । कृषिको सम्मान आत्मनिर्भरताको बलियो आधार हो ।
हामी आत्मनिर्भर हँुदै आएका वस्तुको लिस्ट तयार पार्दैगर्दा त्यो लिस्ट छोटो होला तर आत्मनिर्भरताको बलियो आधार बन्नेछ । डेरी उत्पादन, कुखुरा पालन, माछा पालन, चिया तथा कफी, तरकारी तथा मसलाजन्य उत्पादन, छालाजुत्ता, जिआई पाइप, टेक्सटाइल, जुस, धागो, जुटका उत्पादन, प्लाइउड तथा काठका समान, रेडिमेड गार्मेन्ट (तयारी पोसाक) आदिमा आत्मनिर्भर छौं ।
व्यवस्थापन चुस्त भए तरकारीमा आत्मनिर्भर हुनेछौं । किनकि ५५ लाख मेट्रिक टन तरकारीको माग भए पनि करिब ४५ लाख मेट्रिक टन नेपालमै उत्पादन भएकाले पनि आत्मनिर्भरतातर्फ अघि बढेको स्पष्ट हुन्छ । हाम्रा सन्दर्भमा प्रतिस्पर्धात्मक लाभका वस्तु पहिचान गरेर विश्व बजारमा पठाउनुपर्छ । मुलुकको प्रतिस्पर्धात्मक लाभको वस्तु जलविद्युत हो । जलविद्युतलाई वस्तु व्यापारको रुपमा निकासी गर्न पनि सकिन्छ । सरकारले अहिले जलविद्युत निर्माणमा रहेका नीतिगत अवरोधलाई हटाएर फास्ट ट्रयाकमा अघि बढाए आत्म निर्भरताको बाटो खुल्छ । हामीले भारत र नेपालबीच इन्धन र जलविद्युतबीच अन्तरसम्बन्ध निर्माण गर्न सक्नुपर्छ । नेपालमा विद्युत बेचेर धनी बन्ने सपना छोडेर नदीनालाकै किनबेच गर्ने संस्कारलाई हटाउनुपर्छ ।नेपाल पर्यटकीय हिसाबले धनी राष्ट्र हो । यहाँ जोखिम उठाउन मनपर्ने पर्यटकका लागि त्यस्ता थुप्रै पर्यटकीय स्थल छन् । प्राकृतिक, साहसिक, धार्मिक, सांस्कृतिक पर्यटनका लागि यो राष्ट्र धनी छ । विश्व बजारमा मार्केट गर्न सक्यौं भने पर्यटन क्षेत्रको आयस्रोत बढाउन सक्छौं । पर्यटनमार्फत नै दुई देशबीच व्यापारिक अन्तरसम्बन्धको वातावरण निर्माण गरेर आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छौं ।
इन्धनको सबैभन्दा ठूलो हिस्सा यातायातमै खर्च हुन्छ । गुड्ने–उड्ने सबै साधनलाई इन्धन चाहिन्छ । भान्सा घर होस् या रेस्टुरेन्ट, इन्धनविना चल्दैन । ऊर्जाको अभावमा पर्यटन विकास हुन सक्दैन । उद्योग कलकारखाना चल्न सक्दैन । सबैभन्दा पहिला हामी विद्युतमा आत्मनिर्भर हुनुपर्छ । यसो भन्न थालेको चार दशक भइसक्यो, परिणाम शून्य बराबर छ । केही वर्षदेखि आएको ऊर्जा जागरणले ऊर्जा विकासमा केही वर्षमा प्रगति हुने देखिए पनि यो पर्याप्त छैन । पेट्रोलियम पदार्थको अन्वेषण र उत्पादन सजिलो छैन । खर्बौंको बजेट आवश्यक पर्छ । कुवाको अपरेटिङ लागत मात्र होइन पाइपलाइन र प्रशोधनशालामा पनि खर्बौं खर्च हुन्छ । त्यसकारण हाम्रा लागि जलविद्युत नै ऊर्जाको मुख्य आधार हो । राज्यको बजेटको ठूलो हिस्सा विप्रेषण, नागरिक लगानी र वैदेशिक लगानीलाई समेत आकर्षित गरी पाँच वर्षभित्र थप परिणाममा जलविद्युत निर्यातमा अगाडि बढ्नु आजको आवश्यकता हो ।
अन्तर्निर्भरताका लागि आवश्यक सबैभन्दा महत्वपूर्ण कुरा लगानीको वातावरण निर्माण गर्नु हो । बाह्य लगानी बढाउन वातावरण सहज र सुरक्षित गर्न ढिला गर्नु हँुदैन । बाह्य लगानी बढाई ठूलाठूला कम्पनी भित्र्याउने, जसले व्यापारिक अन्तरसम्बन्ध निर्माणको सुनिश्चितता प्रदान गर्दछ । यस्तो अवस्थामा कुनै देशले अर्को देशमा नाकाबन्दी गर्नु भनेको दुवैका लागि हानिकारक हुन जान्छ र अनुकूल परिस्थितिको निर्माण पनि हँुदैन ।
हामीले अन्तर्राष्ट्रिय व्यापारमा प्रभाव पार्न सक्ने क्षेत्र पहिचान गरी निर्धारण गर्नुपर्छ र त्यहाँ आफ्नो प्रभाव जमाउन सक्नुपर्छ । यसरी अन्य राष्ट्रको लगानी नेपालमा भित्र्याउने र आफूले प्रभाव पार्न सक्ने क्षेत्रमा क्षमता विकास गरी व्यापार गर्ने कुरालाई हामीले संस्थागत गर्न सक्यौं भने यसले हामीलाई अन्तर्निर्भरताको बाटोमा लैजान्छ ।
हामीले आफूसँग नभएको वस्तुको प्रयोगमा मितव्ययिता र राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, विद्यार्थी जस्ता सामूहिक क्षेत्रमा हाम्रा उत्पादनको प्रयोग बाध्यकारी व्यवस्था गर्ने र यसमा राष्ट्रिय जागरण सिर्जना गरी नागरिकलाई पनि त्यसका लागि प्रेरित गर्नुपर्छ ।
के हामी करेसाबारीमा तरकारी लगाउन सक्दैनौं ? के हामी दिनचर्या र खाने बानीमा परिवर्तन ल्याउन सक्दैनौं ? अनि हामी चामलको भातको विकल्पमा अन्य खाद्यवस्तु उपभोगमा बदलिन सक्दैनौं ? किन हामीले आफूलाई पुग्न सक्ने गरी उत्पादन गर्ने वस्तुमा पनि परनिर्भरता बढाउँदै आयौं ? यी र यस्ता प्रश्नको अन्त्यका लागि अब हामीले उपभोग गर्ने बानीमा परिवर्तन गर्नु आवश्यक छ ।भुटानले २०२० सम्ममा ७० प्रतिशत पेट्रोलियम पदार्थको प्रयोगलाई घटाउने रणनीति बनाएर घरायसी काम र ऊर्जा खपत हुने सबै क्षेत्रमा विद्युतीय र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाएको छ । के हामी पनि पेट्रोलियम पदार्थको प्रयोगलाई घटाउने उपाय खोजेर अगाडि बढ्न सक्दैनौं ?
हामी कृषि, पर्यटन उद्योग, जडिबुटीसँगै सूचना प्रविधि, शिक्षा, स्वास्थ्य लगायत अन्य सेवा क्षेत्रमा प्रवेश गरेर आफ्ना उत्पादन बेच्न सक्छौं । सूचना प्रविधिमा हाम्रो उत्पादन राम्रो र सस्तो हुन सक्छ । सेवा क्षेत्रका कन्सल्टेन्सी लगायतका सेवामा पनि राम्रो र सस्तो सेवा दिन सक्छौं । सूचना प्रविधिमा लगानी बढाउने हो भने हामीले साँच्चिकै त्यसको उत्पादन विकास गर्न सक्छौं । हामीले जे गर्दै आयौं मात्र होइन, हामीले नगरेका र सम्भावना भएका थप नयाँ क्षेत्रमा पनि हात हाल्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा हामीले गर्ने अन्तर्राष्ट्रिय सन्धिमा हाम्रो भूमिका नै हो । सन्धि गर्दा एउटै धरातलमा बसेर हाम्रा लागि पनि उत्तिकै फाइदा हुने गरी गर्नुपर्छ । सन्धि गर्दा रणनीतिक कोणबाट सोचिनुपर्छ र त्यस्ता सन्धिबारे सार्वजनिक रुपमा छलफल गरिनुपर्छ, ताकि हामीले लिने अडानबारे हामी पहिल्यै प्रस्ट होऔं ।
नेपाल स्रोतविहीन मुलुक हुँदै होइन । यहाँ इन्धन खानीदेखि बहुमूल्य जडिबुटीको भण्डार छ । हामीमा इच्छाशक्ति हुनुपर्यो । परिणाममुखी काम गर्नुपर्यो । परनिर्भरबाट अन्तर्निर्भर हुँदै आत्मनिर्भर हुन अरु समय खेर नफालौं, ढिलो भइसक्यौं ।
आत्मनिर्भरताको निर्विकल्प आधार भनेको कृषिजन्य उत्पादनको वृद्धि हो । विद्युुत्, पर्यटन, जडिबुटी, कृषिजन्य उत्पादनकै सहयोगमा औद्योगिक विकास सम्भव छ । औद्योगिक विकास नै समृद्ध मुलुकको परिचय हो ।
(नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत शुक्रबार पोखरामा विमोचन हुन लागेको अधिकारीको पुस्तकबाट)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें