सोमवार, 4 जनवरी 2016

भारत आतंकवादको निशानामा, पठानकोटपछि मजारमा आक्रमण

afaganistan२० पुस, काठमाडौं । इस्लामिक स्टेट (आइएस) बाट बेलाबखत आक्रमणको धम्की व्यहोर्दै आएको भारतमाथि एकपछि अर्को आतंकवादी आक्रमण हुन थालेको छ । पञ्जावसँग सीमा जोडिएको पठानकोटमा हमला भएको ४८ घण्टा नबित्दै आइतबार राति अफगानिस्तानको मजार ए शरीफमा रहेको भारतीय वाणिज्य दूतावासको कार्यालयमा आतंकवादी समूहले आक्रमण गरेको छ ।
स्थानीय सरकारी अधिकारीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएअनुसार आक्रमण गर्नेहरु वाणिज्य दूतावासभित्र छिर्ने कोसिस गरेका थिए । आइतबार अबेर राति भएको आक्रमणमा बम बिस्फोटका साथै गोलीको आवाज सुनिएको थियो । यस घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ ।

भारतीय दूतावासका एक अधिकारीले आफूहरुमाथि आक्रमण भएको र लडाइँ जारी रहे पनि सबै सुरक्षित रहेको बताएको बीबीसीले जनाएको छ । अहिलेसम्म कसैले पनि हमलाको जिम्मेवारी लिएका छैनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाहोर पुग्नुअघि अफगानिस्तान गएका थिए । मोदीको भ्रमण लगत्तै यी हमलाहरु गरिएका छन्, जसलाई भारतीयहरुले मोदीमाथिको आतंकवादी निशानाका रुपमा हेरेका छन् ।
यसअघि शनिबार बिहान भारतको पन्जावस्थित पठानकोट एयरबसमा आक्रमण भएको थियो । आक्रमणमा चार चारपन्थी मारिएका थिए । आक्रणकारीलाई नामेट पारिएको भारतीय अधिकारीले बताए पनि आइतबार पनि सो क्षेत्रमा गोली पड्केको आवाज सुनिएको थियो ।
आइएसको धम्कीले रेल्वे सेवा प्रभावित
यसैवीच इस्लामिक स्टेटले इमेलमार्फत धम्की दिएपछि आइतबार केहीबेर दिल्लीबाट लखनऊ रुटमा चल्ने रेल्वे सेवासमेत अवरुद्ध भयो ।
धम्कीपछि सुरक्षाकर्मीले रेल्वे सेवा रोकेर खानतलासी गरेका थिए । तीन दिनयता भारतमा एकपछि अर्को आतंकवादी आक्रमण बढ्न थालेपछि जनजीवनमा त्रास बढेको छ ।
इस्लामिक अतिवादी इस्लामिक स्टेटले विगतदेखि नै भारतलाई आफ्नो निशाना बनाउँने भन्दै धम्की दिने गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइएसले धार्मिक अतिवादीको संज्ञा दिएको थियो ।
यसैवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको प्रतिकारका लागि सोमबार उच्चस्तरीय सुरक्षा बैठक ठाकेका छन् ।
पठानकोटमा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको हुनसक्ने भारतीयहरुले आरोप लगाएका छन् । तर, पाकिस्तानले पठानकोट घटनाको निन्दा गर्दै भारतप्रति औपचारिकरुपमै सहानुभूति प्रकट गरेको छ ।
भारतमा आतंकवादी हमला बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने खतरा बढेको छ । भारतसँग सीमा जोडिएको तराईमा यतिबेला आन्दालने भइरहेको र दशगजा क्षेत्रसमेत आन्दोलनका लागि प्रयोग भइरहेको अवस्थामा यसले भारतको सुरक्षा संवेदनशीलतामा ‘लुप होल’को काम गर्न सक्ने र भारतबाट आतंकवादीहरु नेपालमा घुसपैठ हुन सक्ने सम्भावना बढेको छ । 

कोई टिप्पणी नहीं: