सोमवार, 4 जनवरी 2016

काठमाडौंका नेता र मन्त्रीलाई मधेसमा कसले रोक्दैछ ?

जिल्लामा सिके राउतलाई फ्री, मन्त्रीलाई रोकतोक !
२० पुस, काठमाडौं । राजधानीमा रहने नेता, मन्त्री र सांसदहरु मधेसमा नझरेको गुनासो आइरहेको छ । तर, उनीहरुलाई जिल्लामा जान नदिने अरु कोही नभएर तिनै जिल्लाका सिडियो र प्रहरी प्रमुखहरु नै रहेको ठूला दलका नेताहरुले गुनासो गर्न थालेका छन् ।

ck-rautप्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो महिना संविधानबारे भ्रम हटाउने राष्ट्रिय अभियानको उद्घाटन गरेका थिए । तर, त्यो सरकारी अभियान लिएर जिल्लामा जान खोज्दा तराई मधेसका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नै मन्त्रीलाई समेत जिल्लामा नआउन आग्रह गरेको गुनासो काठमाडौंमा सुनिन थालेको छ ।
सिके राउतलाई फ्री !
मधेसका विभिन्न जिल्लामा कार्यरत सिडियो र प्रहरी प्रमुख एवं गुप्तचर अधिकारीहरुले काठमाडौंबाट मन्त्री र दलका नेतालाई तराई नर्झन आग्रह गरे पनि सिराहा, सप्तरी लगायतका विभिन्न जिल्लामा सिके राउतले अलग देशका लागि भन्दै कथित जनमत संग्रह गर्दै हिँडेका छन् ।‘मधेस देशके लिए’ भन्दै यतिबेला राउतले जनमत संग्रह गर्दै हिँडेका छन् । यस्तै अभियान चलाएर ६ महिनामा मधेसलाई नेपालबाट अलग बनाउने राउतले बताएका छन् ।


विद्या भण्डारी झण्डै रोकिइन्
गत पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरस्थित रामजानकी मन्दिरमा पुग्दाको भित्री कथा निकै रोचक छ । भगवान रामको विवाह पञ्चमीमा गत साल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जन्तीका रुपमा जनकपुर आउने तयारीमा थिए । तर, सुरक्षाको कारण देखाउँदै मोदीको भ्रमण रोकियो । यस वर्षको विवाह पञ्चमीमा मोदी नआए पनि नेपालको थात थलोमा हुने धार्मिक उत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनु वाञ्छनीय रहेको सुझाव केही नेताहरुले शीतल निवासलाई दिए । र, सोही सुझावअनुसार राष्ट्रपति भण्डारी यसवर्ष जनकपुर गइन् । तर, राष्ट्रपति भण्डारीको जनकपुर यात्रा सहजै तय नभएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । राष्ट्रपतिलाई जनकपुर लैजान अहम भूमिका खेलेका ती नेताले भने-‘मन्त्री र नेताहरु मधेसमा जानै नसक्ने अवस्था भएकाले राष्ट्रपतिलाई लानैपर्ने थियो, तर सिडियो र प्रहरीले नआउनोस्, यहाँ सुरक्षा दिन सकिँदैन भन्ने खबर पठाएको पठायै गरे ।’ आफ्नै देशको कुनै पनि भूभागमा राष्ट्रपतिलाई स्थानीय सरकारी अधिकारीहरुले नआउनोस् भनेपछि आफूहरु गम्भीर भएको ती नेताले सुनाए । ‘हामीले जसरी पनि राष्ट्रपति जनकपुर जानैपर्छ भन्यौं र हामीलाई सेनाले साथ दियो । प्रधान सेनापतिले साथ दिए ।’ तर, राष्ट्रपति जनकपुर जाने दिन फेरि स्थानीय प्रशाशनले भ्रमण रद्द गर्न भनेको ती नेताले दोहोर्‍याए । ‘सुरक्षा दिन सकिँदैन, नआउनोस् भनेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि धर्मराउनुभयो,’ स्रोतले भन्यो, तर अब भ्रमण रद्द गर्दा राम्रो सन्देश जाँदैन भनेपछि उसैदिन प्रधानमन्त्री ओली रसुवातिर जानुभयो, राष्ट्रपतिजी जनकपुर जानुभयो ।’
बाबुरामलाई डीएसपीको ‘सेन्सर’
त्यसो त मधेसमा रिस्क मोलेर भ्रमण गर्ने पहिलो नेता डा. बाबुराम भट्टराई थिए । मधेस आन्दोलन चलिरहेका बेला डा. भट्टराई जनकपुर गएका थिए, त्यहाँबाट उनी हिँड्नासाथ आन्दोलनकारीले मञ्च तोडफोड गरेका थिए । जनकपुर भ्रमणको केही दिनपछि डा. भट्टराई कैलालीको थारु वस्तीतर्फ लागे । त्यहाँ पनि जिल्ला प्रशासनले डा. भट्टराईलाई रोक्ने प्रयास गर्‍यो । सुरक्षा दिन सकिँदैन, त्यसैले नआउनुभन्दै स्थानीय प्रशासनले डा. भट्टराईलाई पटक-पटक फर्काउने प्रयास गरेको थियो । बाबुरामका एक सहयोगीले दिएको जानकारी अनुसार जिल्लामा पुगेपछि डा. भट्टराई र डीएसपीवीच भनाभनसमेत भएको थियो । डीएसपीले सुरुमा भट्टराईलाई अन्तरक्रिया कार्यक्रम नगर्न भनेका थिए । पछि बोल्ने विषयमा ख्याल गर्न भने । डा. भट्टराईले लोकतन्त्रमा के बोल्ने, के नबोल्ने भन्ने विषय प्रहरीले सेन्सर गर्न नमिल्ने जवाफ फर्काएका थिए । स्थानीय प्रशासनले जिल्लामै नआउन पटक-पटक दबाव दिए पनि डा.भट्टराईले तराईका विभिन्न जिल्लाको भ्रमण गरे र आफ्ना कुराहरु राखे । मन्त्रीलाई सदरमुकाम नआउन दबाव जिल्लामा कार्यरत सिडियो र डीएसपीहरु नेतालाई जिल्लामा आउन नदिनका लागि कतिसम्म गर्छन् भन्ने अर्को उदाहरण पूर्वी तराईमा पनि छ । कमल थापा नेतृत्वको राप्रपा नेपालका तर्फबाट भूमिसुधारमन्त्री रामकुमार सुब्बा संविधानबारे बताउन सुनसरी जाने कार्यक्रम थियो । तर, स्थानीय प्रशासनले संविधानबारे जनतालाई बुझाउने कार्यक्रम इटहरीमा तय गर्‍यो । जिल्ला पुगेका मन्त्री सुब्बाले सोधे- मधेसी समुदायलाई संविधानबारे बुझाउने कार्यक्रम मधेसीको बाहुल्य रहेको जिल्ला सदरमुकाम इनरुवामा किन राखिएन ? सरकारी अधिकारीहरुले इनरुवामा कार्यक्रम गर्न नसकिने जवाफ दिए । आफ्नै देशमा, आफ्नै गृह जिल्लामा मन्त्री र नेताले जान नसक्ने ठाउँ पनि हुन्छ ? झ्वाँक्की स्वाभावका मन्त्रीले स्थानीय सरकारी अधिकारीलाई धर्काउँदै भने,’ जसरी पनि सुनसरी सदरमुकाम इनरुवामा कार्यक्रम आयोजना गर्नैपर्छ । भोलिपल्ट मन्त्री सुब्बालाई खबर आयो-‘जिल्ला सुरक्षा समितिले इनरुवामा कार्यक्रम गर्न नसकिने ठहर गरेको छ हजुर ।’ जनकपुरमा राष्ट्रपतिको भ्रमण गराउँदा झडप भएपछि रन्किएर सुनसरी पुगेका मन्त्री सुब्बाले फेरि जवाफ दिए- ‘त्यसरी हुँदैन, इनरुवामा मेरो प्रमुख आतिथ्यतामा संविधानबारे जानकारी दिने कार्यक्रम राख्नैपर्छ ।’ अन्ततः मन्त्रीको बारम्बारको चेतावनीपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुले कार्यक्रम त आयोजना गरे, तर इनरुवा बजारभन्दा करिब एक किलोमिटर टाढा । तर, सो कार्यक्रममा मन्त्री सुब्बासँगै सदभावना पार्टीमा नेताले समेत सहभागिता जनाए । संविधानका बारेमा बोले । आफ्नै जिल्लामा जाँदा पनि अर्को देशमा गएजस्तै महसुस हुन थालेपछि इटहरीका रैथाने नेता समेत रहेका मन्त्री सुब्बाले जिल्लाको दक्षिणी भागको सीमा क्षेत्रमा संविधानबारे अर्को अन्तरक्रिया गर्न लगाए । जहाँ उनले गौतम बुद्धको मूर्तिसमेत स्थापित गर्ने बचन दिए ।
  सिडियो र प्रहरी प्रमुखमाथि नेताको आक्रोश
मधेसका विभिन्न जिल्लामा काठमाडौंबाट नेताहरु जाँदा उनीहरुलाई जनतामा जान प्रोत्साहन गर्नुको साटो सरकारी अधिकारीहरुले नै रोक्ने काम गरिरहेको भन्दै एक नेताहरुले आक्रोश पोख्न थालेका छन् । ‘सरकारको कमाण्ड सम्हाल्नेहरुले नै नेतालाई मधेसमा जान नदिने हो भने देशको हालत के होला ?’ स्रोतले भन्यो- ‘काठमाडौंबाट नेतालाई मधेस झनै हुँदैन भन्ने तिनै डीएसपी र सिडियोहरु अलग देशको माग गर्दै भइरहेको ‘जनमत संग्रह’ लाई भने टुलुटुलु हेरेर बसिरहेका छन्, जुन हाम्रा लागि दुर्भाग्य हो ।’ पछिल्लो समय एमालेका नेताहरु पनि केन्द्रीय योजना नै बनाएर मधेस अभियानमा जुटेका छन् । त्यसक्रममा पनि धेरै नेताहरुले स्थानीय प्रशासनको अवरोध झेल्नुपरेको नेताहरुको अनुभव छ । एमाओवादीका नेताहरु चाँहि अहिलेसम्म मधेस अभियानमा खासै जुटेका छैनन् । एमाओवादी अध्यक्ष प्रचण्ड यसवीचमा सुनसरी र मोरङमा गए पनि आफ्नो निर्वाचन क्षेत्र सिरहामा गएका छैनन् ।
प्रचण्ड आए सुरक्षा दिन सकिन्छः प्रजिअ 
त्यसैगरी सिराहाका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर बीकेले पनि आफ्नो जिल्लामा केन्द्रीय नेताहरु आएर कार्यक्रम गर्ने अवस्था रहेको बताए । प्रचण्डलगायत कोही पनि सांसद वा मन्त्रीहरु जिल्लामा आए सुरक्षा दिन सकिने अवस्था रहेको प्रजिअ बीकेले अनलाइनखबरलाई बताए । त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ पनि आफ्नो जिल्ला सदरमुकाममा मन्त्री आउँदा कार्यक्रम गर्न नसकिने अवस्था नरहेको बताउँछन् । ‘भूमिसुधार मन्त्रीज्यू आउँदा इनरुवामा समेत कार्यक्रम भएकै हो, दक्षिणका ५/६ वटा गाविसमा समेत मन्त्रीज्यूकै आतिथ्यमा कार्यक्रम भयो,’ प्रजिअ पन्थले अनलाइनखबरसँग भने- ‘बाटो बाटोमा कसले उहाँलाई नआउनोस् भन्यो, थाहा भएन तर हाम्रो जिल्लामा कसैले कार्यक्रम गर्छु भन्यो भने सुरक्षाको विश्लेषण गरेर कार्यक्रम गर्न सकिने स्थिति छ ।’ यद्यपि जिल्लाका केही स्थानहरु चाँहि सम्वेदनशील अवस्थामा रहेको भन्दै प्रजिअ पन्थले भने-‘हाम्रो जिल्लामा पनि केही ठाउँहरु सुरक्षाका दृष्टकोणले सम्वेदनशील छन् ।’ तर, काठमाडौंबाट ठूला नेताहरु जिल्लामा आउनु र जनतासँग घुलमिल हुनु राम्रो काम होइन र ? यसमा किन स्थानीय प्रशासनले प्रोत्साहित नगरेको ? अनलाइनखबरको चासोमा प्रजिअ पन्थले भने- ‘त्योचाहिँ राजनीति गर्नेहरुको विषय भयो, प्रशासनिक दृष्टिले भन्ने हो भने हाम्रो जिल्लामा कुनै पनि गाविस कार्यालयहरु बन्द छैनन् । सबै ठाउँमा सरकारी सेवा सुचारु छन् र जनताले पाउनुपर्ने सरकारी सेवा पाइरहेका छन् ।’ 

कोई टिप्पणी नहीं: