बुधवार, 9 दिसंबर 2015

प्रहरीले बरामद गरेको डिजेल किसानलाई बिक्री

२३ मंसिर, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत हप्ता बरामद गरेको दुई हजार लिटर पेट्रोल आज जिल्लाका किसानहरुलाई बिक्री गरेको छ । बढी मूल्यमा रातमाटेको त्रिशुली आयल स्टोरका सञ्चालकले पम्पबाटै बिक्री गरेको डिजेल प्रहरीले जिल्ला अदालत नुवाकोटको आदेशमा किसानहरुलाई बिक्री गरेको हो ।
एक हजार लिटर डिजेल नुवाकोटको रातमाटे गाउँ विकास समितिबाट मंसिर १५ गते राती काभ्रे लैजादै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । डिजेल प्रतिलिटर एक सय ६० रुपैयाँमा पम्पबाटै बिक्री गर्ने र एकै व्यक्तिलाई ठूलो परिमाणमा दिने गरेपछि रातमाटेमा रहेको त्रिशुली आयल स्टोरका सञ्चालक जीवन भण्डारीलाई समेत प्रहरीले पक्राउ गरेर जिल्ला अदालत पेश गरेको थियो । भण्डारी दुई लाख ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् ।
डिजेलको कालोबजारीमा संलग्न भएका नुवाकोटको जिलिङ गाउँ विकास समिति वडा नम्बर ३ का कृष्ण दाहाल र सिन्धुली भुवनेश्वर गाउँ विकास समिति ३ का अर्जुनकुमार कार्कीलाई ५०/५० हजार रुपैयाँ धरौटीमा अदालतले छाडेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहका अनुसार त्रिशुली आयल स्टोरका सञ्चालक भण्डारीले काभ्रेको विभव फुड्स प्रा.लिको नाममा बढी मूल्यमा डिजेल बिक्री गरेका थिए । प्रहरीले आज प्रतिकिसान २० लिटरको दरले नेपाल आयल निगमले तोकेकै मूल्यमा बिक्री गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
– कपिलदेव खनाल

कोई टिप्पणी नहीं: