२३ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको छ । मोबाइल रिचार्ज नभएपछि जीएसएम मोबाइलका सेवाग्राही हैरान भएका छन् ।
टेलिकमले ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याएपछि रिचार्जमा समस्या देखिन थालेको हो । सोमबारदेखि भने रिचार्जमा झनै समस्या आएको छ । जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ता पदम पोखरेलले हिजोदेखि मोबाइल रिचार्ज नभएको गुनासो पोखे ।
‘रिचार्ज गर्न खोजेको २४ घण्टा वितिसकेको छ, अहिलेसम्म भएको छैन,’ सेवाग्राही पोखरेलले भने- ‘कतिपय कामहरु मोबाइलबाट फोन गरेर गर्नुपर्छ, व्यालेन्स नहुँदा समस्या परेको छ ।’ अर्का सेवाग्राही पुष्प चापागाईंले पनि मोबाइल रिचार्ज नभएर हैरान भएको गुनासो गरे ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ५० रुपैयाँको रिचार्ज कार्डले समस्या थपिएको अनलाइनखबरलाई बताइन् । ‘सेवाग्राहीले थोरै रकमको रिचार्ज धेरै पटक गरिदिँदा सिष्टममा लोड थपिएपछि यस्तो समस्या आएको छ’ उनले भनिन् ‘हामी सिष्टम अपग्रेडेसनको काम गर्दैछौं, सेवाग्राहीले सकेसम्म धेरै रकमको रिचार्ज गरिदिएमा अहिलेको समस्या कम हुन्छ ।’
मोबाइल रिचार्ज नभएपछि धेरै सेवाग्राहीले सामाजिक सञ्जालमा टेलिकमप्रति गुनासो पोखिरहेका छन् । कतिपय सेवाग्राहीले एनसेलले जितिसक्दा समेत टेलिकमका कर्मचारीको होस नआएको आरोप लगाएका छन्।
‘रिचार्ज कार्डमा समस्या हो कि भनेर तीनवटा कार्ड किनिसकेँ, एउटा पनि रिचार्ज भएन’ महर्जनले भने- ‘यही समस्या रहि रहेमा सेवाग्राहीले मोबाइल रिचार्ज गर्न ठूलो सास्ती भोग्नुपर्ने देखिन्छ ।’
कार्डविना नै रिचार्ज
टेलिकमकी प्रवक्ता वैद्यले मोबाइल पोइन्ट अफ सेल्स (एम्पोस) सिष्टमबाट रिचार्ज गर्न सुझाव दिएकी छन् । यो इलेक्ट्रोनिक सिष्टम हो । टेलिकमका आधिकारिक वितरक तथा रिटेलरकोमा गएर आफ्नो नम्बर दिएपछि उनीहरुले कार्डबीना नै रिचार्ज गरिदिन्छन् । तत्कालै म्यासेज आउने हुँदा विश्वसनीय समेत हुन्छ ।
एम्पोस सिष्टमबाट रिचार्ज गरेमा यस्तो समस्या नआउने प्रवक्ता वैद्यले बताइन् । ‘हाम्रो कार्डबाट मात्र रिचार्ज गर्ने बानी छ, यसो हुँदा सिष्टममा लोड बढ्ने समस्या हुन्छ,’ उनले भनिन्- ‘हामीले रिचार्जको विकल्प दिएका छौं, विस्तारै कार्डबाट इलेक्ट्रोनिक सिष्टममा डाइभर्ट भएमा रिचार्जमा समस्या हुनेछैन ।’
एम्पोस सिष्टमबाट जीएसएम पि्रपेड, पोष्टपेड मोबाइल, ल्यान्डलाइन र एडीएसएलको बिल भुक्तानी गर्न सकिन्छ । प्रवक्ता वैद्यका अनुसार एम्पोसबाट पि्रपेड मोबाइलमा १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिन्छ ।
यसैगरी, पोष्पेड मोबाइल र ल्यान्डलाइनको सय रुपैयाँदेखि ५ हजार पैयाँसम्म बिल भुक्तानी गर्न सकिन्छ । एडीएसएल इन्टरनेटको ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म बिल भुक्तानी गर्न सकिने प्रवक्ता वैद्यले बताइन् ।
‘ग्राहकको मागअनुसार ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याएका हौं, यसले रिचार्ज सिष्टममा लोड थप्ने काम गरेको छ, अब ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा कम पठाउने योजनामा छौं’ प्रवक्ता वैद्यले भनिन् ‘यसो भनेर हामी तर्किने कुरा हुँदैन, सिष्टममा अपग्रेडेसनको काम हुँदैछ, पछि समस्या समधान हुन्छ ।’
टेलिकमको रिचार्जमा देखिएको समस्याले करोडौं ग्राहक समस्यामा परेका छन् । टेलिकमका जीएसएम र सीडीएमका एक करोड २३ लाख ३१ हजार ६१९ जना ग्राहक रहेका छन् । जसमध्ये जीएसएम सेवाका ग्राहकमात्रै एक करोड १० लाख ४५ हजार २४२ जना रहेका छन् । अहिले जीएसएम मोबाइलको रिचार्जमा समस्या देखिएको हो । टेलिकमको रिचार्जमा समस्या देखिएको यो पहिलो पटक भने होइन । पटक-पटक रिचार्जमा समस्या देखिँदा पनि टेलिकमले समस्या समाधानमा खासै ध्यान नदिएको सेवाग्राहीको आरोप छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें