मंगलवार, 22 दिसंबर 2015

विप्लवको सशस्त्र युद्धको पहिलो प्रहार प्रचण्डमाथि !

काठमाडौ, पुस ७। एमाओवादीको २० दिने केन्द्रीय समिति बैठकमा रोचक रोचक प्रसंगहरु उठे । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कार्यक्रमसहितको प्रतिवेदन पेश गरेपछि बोल्ने क्रममा नेताहरुले उखान टुक्का, कथा किस्सादेखि रमाइला रमाइला ‘जोक्स्’ सुनाए । बैठकको अन्तिम दिन भने दाहालले पार्टीको आगामी ‘लडाइँ’बारे व्याख्या गर्ने क्रममा एउटा महत्वपूर्ण सूचना सार्वजनिक गरेका थिए ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टीले आगामी दिनमा सामना गर्नुपर्ने वैचारिक र राजनीतिक चुनौतिमध्ये एक नेत्रविक्रम चन्द पनि भएको उनको व्याख्या थियो । उनले विप्लवको सशस्त्र युद्धले कम्युनिस्ट आन्दोलनलाई फाइदाभन्दा बढी बेफाइदा गर्ने विश्लेषण गर्दै यसले चाँडै वैचारिक धु्रवीकरण ल्याउन सक्ने बताएका थिए । ‘विप्लवजीहरुले चाँडै सशस्त्र युद्धको सुरुवात गरेर पार्टीलाई पूर्ण भूमिगत बनाउने सूचना प्राप्त भएको छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘उहाँहरुको युद्धले नेपालको कम्युनिस्ट आन्दोलनलाई सकारात्मक ढंगले अघि बढाउने नभई झन् पछि धकेल्ने छ ।’
स्रोतका अनुसार पार्टी फूटको औचित्य सावित गर्न नसकेर अस्तित्व संकटबाट गुज्रिरहेको विप्लव माओवादीले पहिलो प्रहारको निशाना एमाओवादीका नेताहरुलाई बनाउने भएपछि प्रचण्डले यसबारे व्याख्या गरेका हुन् । तथापि बैठकमा भने उनले विप्लवको प्रहार एमाओवादीमाथि हुनेबारे कुनै प्रसंग उल्लेख गरेनन् । मात्र विप्लवले चाँडै सशस्त्र संघर्ष घोषणा गर्ने र कम्युनिस्ट पार्टीहरुबीच तीव्र धुवीकरण हुने बताएर सांकेतिक रुपमा यसबारे बताएका थिए ।

सशस्त्र युद्ध थाल्ने भन्दै प्रचण्डसहित अघिल्लो पुस्ताका नेताहरुलाई छाडेर छुट्टै पार्टी गठन गरेका नेत्रविक्रम चन्दले न त अहिलेसम्म कुनै ध्वंसात्मक कार्वाही गरेका छन् न त उनका गतिविधि नै पूर्ण भूमिगत भएको छ । यसबीचमा उनले काठमाडौंमा दुई÷चार पटक केही हजार मानिसहरु उतार्नेबाहेक खासै नतिजामुखी काम केही गर्न सकेका छैनन् । यसबाट उनीप्रति सुरुवाती अवस्थामा रहेको आकर्षण पनि क्रमशः घट्दै गइरहेको छ ।
न त संघर्षको घोषणा गर्न सक्ने स्थिति न त संविधान स्वीकार गरेर खुला राजनीतिमा आउन सक्ने परिस्थितिका बीच ‘साख बचाउन’ भए पनि विप्लवले केही निहुँ पारेर युद्ध घोषणा गर्ने करिब निश्चित देखिन्छ । उनका एक उच्च तहका नेताले भने ‘पार्टी निकै अघि बढिसकेको’ जानकारी दिँदै थप कुरा केही बताउन नमिल्ने बताए ।
विप्लवले युद्ध घोषणा गरेमा पहिलो प्रहार प्रचण्ड पक्षधर नेता तथा कार्यकर्ताहरुमाथि हुने सम्भावना पनि प्रवल छ । किनकी उनको पहिलो चुनौति नै ‘भोलि गएर विप्लव पनि प्रचण्डजस्तो हुँदैन भन्ने के निश्चित छ ?’ भन्ने आम धारणाको निराकरण गर्नु छ । मानिसहरुमा विप्लव पनि अहिले प्रचण्डलाई आरोप लगाएजस्तो ‘धोकेवाज’ वा ‘गद्दार’ हुन नसक्ने ग्यारेन्टी के छ ? भन्ने भावना प्रवल छ ।
यस अर्थमा उनले प्रचण्ड पक्षधरहरुमाथि प्रहार केन्द्रित गरेर ‘गद्दार’ वा ‘धोकेवाज’हरु माथि कार्वाही गर्न सुरु गरेको भन्ने प्रचार गर्दै पुराना कार्यकर्ताको मनोविज्ञान जित्ने कोसिस गर्ने सम्भावना प्रवल छ । यस क्रममा उनले प्रहारको निशाना एमाओवादीभित्र पनि ‘भ्रष्ट’हरुमा केन्द्रित हुने भन्दै सूचना संकलन गरिसकेको बताइन्छ ।

कोई टिप्पणी नहीं: