गुरुवार, 17 दिसंबर 2015

पत्रकार गोलेमाथिको सांघातिक आक्रमण : महासङ्घद्वारा भत्सर्ना

काठमाडौँ, २ पुस । नेपाल पत्रकार महासङ्घले नयाँपत्रिका दैनिक काभ्रेका संवाददाता तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का काभ्रे जिल्ला सदस्य राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गरी महासङ्घले स्वतन्त्ररूपमा आफ्नो पेसागत दायित्व पूरा गर्ने पत्रकारमाथि भएको आक्रमण सिङ्गो प्रेसमाथिको आक्रमण भएको बताउँदै घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेको छ । महासङ्घले गोलेमाथि भएको आक्रमणको भत्सर्ना गर्दै दोषीको तत्काल पहिचान गरी कडा कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवम् पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घ काभ्रे शाखाका अनुसार मङ्सिर २९ गते घर फर्कने क्रममा राति ८ बजे बनेपाको आजाद मावि अगाडि सात आठजनाको समूहमा रहेका व्यक्तिहरूले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । यसैबीच तामाङ संचार समूहले तामाङ संचार समूह काभ्रेका सहसचिव समेत रहेका गोलेमाथिको आक्रमण सिंगो प्रेस जगत र स्वतन्त्र पत्रकारितामाथि गरिएको आक्रमण भएको संस्थाको ठहर रहेको छ ।

समूहका महासचिव विष्णु तामाङले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही र घाइते पत्रकारको उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायहरुमा जोडदार माग गर्दै गोलेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

कोई टिप्पणी नहीं: