सोमवार, 24 अक्तूबर 2011

चालकलाई जेल, तस्करीलाई उन्मुक्ति

भक्तपुर, कार्तिक ७ - जिल्ला अदालत भक्तपुरले एम्बुलेन्समा नक्कली बिरामी बनाएर चन्दन तस्करी गर्ने चालकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । चन्दन पठाउने तस्करको पहिचान भए पनि वन कार्यालयले त्यस्ता व्यक्तिलाई अनुसन्धानसमेत नगर्दा उन्मुक्ति पाएका छन् ।
काठमाडौंबाट तातोपानी जाँदै गरेको बा६च ८७८९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले ४९ किलो रक्तचन्दन फेला पारेको थियो । सिन्धुपाल्चोकको भैरवकुण्ड युवा क्लबले सञ्चालन गरेको एम्बुलेन्ससहित प्रहरीले चालक सिन्धुपाल्चोक लिस्ती-४ का २३ वषर्ीय साबु शेर्पा र लिस्ती-३ का नक्कली बिरामी स्याङ्बुलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको थियो ।
बिरामी बन्ने स्याङ्बुलाई एक लाख धरौटी लिएर तारेखमा छाडेको जिल्ला वन कार्यालय भक्तपुरका निमित्त कार्यालय प्रमुख न्हुच्छेकृष्ण श्रेष्ठले बताए । 'एम्बुलेन्सको चालक पुर्पक्षका लागि थुनामा छन्, बिरामी बन्ने व्यक्ति धरौटीमा छुटे,' उनले भने । अन्तिम फैसला नभएसम्म एम्बुलेन्स सुरक्षित राख्न आदालतले वन कार्यालयलाई निर्देशन दिएको छ ।
चालक शेर्पाले प्रहरीलाई दिएको बयान अनुसार ३० हजार रुपैयाँमा ४ गोलिया चन्दन काठमाडौंबाट तातोपानीसम्म पुर्‍याउने जिम्मेवारी लिएका थिए ।
त्यस्तै टाटामोबाइलमा फल्स बटम बनाएर चीन लैजान लागेको रक्तचन्दन बरामद गरे पनि तस्करीलाई नियन्त्रणमा लिन सकेको छैन । चन्दन बोक्ने गाडीको बिलबुकमा गाडीधनीको नाम हुँदा पनि नियन्त्रणमा लिन नसकेको भन्दै प्रहरीले वन कार्यालयको कार्यप्रति आपत्ति जनाएको छ । वनपैदावार भएकाले अनुसन्धान गर्ने कार्य वन कार्यायलले गर्ने गर्दछ । फल्सबटम चन्दनसहित नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाउँदा पनि अनुसन्धानमा ढिलाइ गरेको प्रहरीले जनाएको छ ।
दसंैअघि ना१च २३३५ नम्बरको गाडीमा ३ सय २९ किलो चन्दन भेटिएको थियो । 'चन्दनसहित वन कार्यालयमा बुझाएको दुई साता हुँदा पनि तस्करको पहिचान गरेर कारबाही गर्न सकेको छैन,' एक प्रहरी अधिकृतले भने, 'गाडीको ब्लुबुकमा गाडीधनीको नाम समेत उल्लेख छ । उसलाई समान्य सोधपुछसमेत भएको छैन ।'
नियन्त्रणमा लिएको गाडीको ब्लुबुकमा ललितपुरको सिर्जना बचत तथा ऋण सहकारी संस्थाको नाम छ । त्यसको ऋणी बाह्रबीसेका कवितमान श्रेष्ठको नाममा छ । उनी बाह्रबीसे यातायात व्यवसायी संघका अध्यक्षसमेत हुन् । 'चालकले लापरबाहीले साहूको गाडीमा फल्सबटम राख्ने हिम्मत गर्न सक्दैन,' एक व्यापारीले भने, 'जसको नाममा गाडी छ, उसैको मिलोमतोमा पनि हुन सक्छ, उसैको पनि चन्दन हुन सक्छ, वन कार्यालयले अनुसन्धानमा ढिलाइ गर्दा तस्करले उन्मुक्ति पाएको छ ।' गाडीका चालकलाई कारबाही भए पनि अधिकांश घटनामा तस्करलाई नियन्त्रणमा लिन सकेको छैन  ।
भदौ १६ मा ठिमीको चारदोबाटो हुँदै रोजभिलेज जाने सडक छेउको बारीमा फेला परेको ना१च २३३५ नम्बरको गाडीमा रक्तचन्दन फेला परेको थियो ।  गाडीको पछाडिको ढालाबाट भित्र अर्को बार लगाएर चन्दन राखिएको थियो । प्रहरीले बरामद गरेको १७ गोलिया रक्तचन्दन ६ किलोदेखि ४६ किलोसम्मका छन् ।
जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले गाडीमा भेटिएको काठ चन्दन हो/होइन अनुसन्धान भइरहेको बताए । 'चन्दन नहुन पनि सक्छ, त्यसको टुक्रा अनुसन्धानका लागि प्रयोगशालामा पठाएका छांै,' उनले भने, 'रिपोर्ट आएपछि मात्रै थप अनुसन्धान अगाडि बढ्छ ।' त्यस्तै गाडीधनीको तीन पुस्ते विवरण यातायात व्यवस्था कार्यालय नारायणीमा माग गरिएको उनले बताए । अनुसन्धानबाट तस्करीको पहिचान भए कारबाही गर्ने उनले बताए ।
रक्तचन्दन प्रतिबन्धित वनस्पतिको सूचीमा पर्छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) ले रक्तचन्दन बिक्रीमा रोक लगाएको छ । नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरी पक्ष राष्ट्र भएको छ ।

कोई टिप्पणी नहीं: