गुरुवार, 27 अक्तूबर 2011

ब्युटिपार्लरको कमाइले विद्यालय

parlaor
कास्कीकोट (कास्की), कार्तिक १० - बाजागाजा, फूलमालासहित शिक्षक, विद्यार्थी र गाउँलेको भव्य स्वागतले उनी खुसी थिइनन् । बरु मेहनत गरेर कमाएको रकम खेर नजाओस् भन्नेतिर सचेत देखिन्थिन् । 'बालबालिकाको भविष्य उज्ज्वल भएको देख्न चाहन्छु,' जापानको एक ब्युटिपार्लरकी सञ्चालिका चुकाहारा जुन्कोले भनिन्, 'भवन बन्यो, अब गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकले जोड दिनुपर्‍यो ।'
जापान साइतामास्थित न्युरोड हेयर क्लियरकी जुन्कोको विशेष पहलमा यहाँको वसन्त प्राथमिक विद्यालयको अत्याधुनिक भवन बनेको हो । ७७ लाख १० हजार लागतमा बनेको ११ कोठे भवनका लागि जुन्कोले ब्युटिपार्लरको आम्दानीमध्ये ५८ लाख रुपैयाँ नगदै उपलब्ध गराएकी हुन् । नपुग रकम स्थानीय अभिभावकले श्रमदान र विद्यालयले जुटाएको थियो । भवनको क्षेत्रीय शिक्षा निर्देशक बाबुराम पौडेलले मंगलबार उद्घाटन गर्दै भौतिक पूर्वाधार गुणस्तरीय शिक्षाका लाािग पहिलो आवश्यकता रहेको बताए ।
घुम्न आउने क्रममा ८ वर्षअघि विद्यालयमा पुगेकी जुन्कोले भौतिक पूर्वाधार नाजुक देखेपछि सहयोग गरेकी हुन् । 'नौडाँडाबाट सराङकोट जाने क्रममा बालबालिका खेलेको देखेर विद्यालय छिरेपछि अवस्था देखेर सहयोग गरेका हौं,' जुन्कोले भनिन् । क्लियरअन्तर्गत अन्य ९ वटा ब्युटिपार्लर आवद्ध रहेका र तिनमा कार्यरत १ सय ५० स्टाफको सहयोगमा रकम संकलन गरिएको उनले सुनाइन् । जुन्कोका अनुसार विद्यालयको नाजुक अवस्था सुनाएपछि स्टाफले पनि उत्साहपूर्वक काम गरी रकम संकलनमा सहयोग पुर्‍याएका थिए । उनीहरूमध्ये अधिकांश कपाल काट्ने गर्छन् ।
विद्यालयका प्रअ मनहरि अधिकारीले जुन्को ७ वर्षदेखि लगातार विद्यालयमा आएर अवस्था बुझेपछि भवन निर्माणमा सहयोग गरेको बताए । 'सुरुमा पुस्तकालय माग गरेका थियौं,' अधिकारीले भने, 'तर पुरानो जीर्ण भवन देखेर जुन्को आफैंले नयाँ बनाउन सहयोग गर्नुभयो । भवन बनेपछि पानी पर्नसाथ बिदा दिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।' बर्सेनि सहयोगीसाथ विद्यालयमा आउने जुन्कोले विद्यार्थीको कपाल काट्ने, पोसाक तथा अन्य शैक्षिक सामग्री दिन्थिन् । अधिकारीका अनुसार जुन्कोले पुस्तकालय निर्माणका लागि ०६३ मा ३० हजार जापानी येन दिएकी थिइन् । भवनसँगै फर्निचर र शौचालयको सुविधासमेत थपिएको शिक्षक विद्यार्थी दंग छन् । 
अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि उच्चस्तरीय शिक्षा सुधार समिति बनाएर अंग्रेजी माध्यममा पढाइ सुरु गरी नमुना बनाउने बताए । 'कपाल काटेर कमाएको पैसाले यति ठूलो सहयोग गरें,' उनले भने ।

कोई टिप्पणी नहीं: