काठमाडौं, कार्तिक १० - स्थानीय विकास मन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टी उपाध्यक्ष मोहन वैद्यले जति विरोध गरे पनि शान्ति र संविधान पूरा भएरै छाड्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लवको देउसी टोलीसँग बिहीबार मन्त्री निवास पुल्चोकमा रायमाझीले शान्ति र संविधानको विरोध गर्नेको कुनै तुक नभएको टिप्पणी गरे । ‘जो सुकैले राँको बाले पनि, कालोझण्डा देखाए पनि शान्ति र संविधान पूरा भएरै छाड्छ,’ वैद्य समूहको अवरोधप्रति संकेत गर्दै उनले भने, ‘राजनीतिक दलका लागि यो कार्यभार पूरा गर्नुको विकल्पै छैन ।’
राजावादी विचार र युद्धकालीन धङधङी बोकेका शक्तिहरुको कारण शान्ति प्रक्रिया अगाडि बढाउन समस्या रहेको उनको भनाइ थियो । ‘कसै कसैमा युद्धको धङधङी छ,’ वैद्यपक्षलाई लक्षित गर्दै उनले भने, ‘राजाको व्यवस्थाको धङधङी रहेका पनि छन्, यिनीहरुलाई मिलाउन केही समस्या पक्कै भएको छ ।’
माओवादीको आन्तरिक विवाद सतहमा आउनुलाई भने मन्त्री रायमाझीले अन्यथा लिन नहुने टिप्पणी गरे । ‘यस्ता विवाद सतहमै आउनुपर्छ,’ उनले भने, ‘विवाद गुम्स्याउनुभन्दा बहसमै ल्याएर समाधान गर्न सकिन्छ ।’
तीन वर्षसम्म पूरा हुन नसकेको शान्ति प्रक्रिया अबको एक महिनामा पूरा हुने आधार तयार नभए मुलुक असफल हुने उनको भनाइ थियो । ‘निर्धारित समयमा शान्ति प्रक्रिया पूरा भएन भने र संविधान बनेन भने देश असफल हुन्छ,’ उनले भने, ‘अबको एक महिनामा जसरी हुन्छ पूरा गर्नैपर्छ ।’
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें