
नयाँ दिल्ली, कार्तिक ५ - प्रधानमन्त्री बाबुराम भट्टराईको भारतसँग तीन चरणको सम्बन्ध गाँसिएको छ । गोर्खाबाट एसएलसीमा बोर्ड फस्र्ट भई काठमाडौंबाट आईएस्सी गरेर इन्जिनियरिङमा 'डक्टरेट' गर्न झन्डै १० वर्ष उनले भारतीय भूमिमै बिताए । जब इन्जिनियरिङ छाडेर 'जनयुद्ध' मा होमिए, फेरि अर्को दशक लगभग यहीं बित्यो । यसपटक उनी तेस्रो रूप लिएर नयाँदिल्ली आएका छन्- प्रधानमन्त्रीका हैसियतमा ।
तेस्रो 'अवतार' मा आउँदा आफूलाई संयोगवशः तीनै किसिमबाट प्रस्तुत गरे भट्टराईले । पहिलो साक्षात्कार उनका पुराना समाजवादी-वामपन्थी मित्रहरूसँग भयो । दोस्रो व्यापारी-उद्योगी
जमातसँग । अनि तेस्रो भारतीय संस्थापनको नेतृत्वमा रहेका राजनीतिज्ञहरूसँग । तीन फरक-फरक जमातसँग तालमेल मिलाएर आफूलाई प्रस्तुत गर्नु सहज थिएन, तर प्रधानमन्त्री भट्टराईले त्यसलाई कुशलतापूर्वक संयोजन गरे ।
वाम वृत्तमा आफूले 'क्रान्ति' नछाडेको सन्देश दिए, उद्योगपतिहरूलाई नेपालमा लगानीका निम्ति आह्वान गरे, अनि भारतीय प्रधानमन्त्रीलगायत सत्तारूढ शक्तिसँग राजनीतिक समझदारी र घनिष्ठता बढाउन भरमग्दुर प्रयत्न गरे । खासगरी लामो छलफलपछि शुक्रबार साँझ भएको लगानी सुरक्षण तथा संवर्द्धन सम्झौता (बिपा) ले भारतसँग आर्थिक मात्र होइन, राजनीतिक सम्बन्ध पनि निकट बनाउने प्रधानमन्त्री भट्टराईको विश्वास छ ।
पहिलो भेट कमरेडहरूसँग
प्रधानमन्त्रीले आफ्नो औपचारिक भ्रमणको सुरुआत अनौपचारिक कार्यक्रमबाट गरे, आफ्ना पुराना दौंतरीहरूलाई भेटेर । बिहीबार अपराह्न कन्स्िटच्युसनल क्लबमा वामपन्थी मासिक 'समकालीन तिसरी दुनियाँ' ले भट्टराईको स्वागतमा गरेको कार्यक्रमका एक प्रमुख आकर्षण गेरुबस्त्रधारी अधिकारकर्मी स्वामी अग्निवेश थिए ।
अग्निवेश ती व्यक्ति हुन्, जसले भट्टराई र हिसिला यमीको बिहे गराउने भूमिका खेलेका थिए । सुरुमा यो नेपाली जोडी 'कोर्ट म्यारिज' गर्न दिल्लीको तीसहजारी अदालत पुगेको थियो । तर कोर्ट म्यारिजको औपचारिकता पूरा गर्न महिनौं लाग्ने बुझेपछि उनीहरू अग्निवेशकहाँ पुगे ।
'स्वामीजी, अब हामी संघर्षमा होमिन नेपाल र्फकंदैछौं, त्यसभन्दा अगाडि तपाईंले हाम्रो बिहे गराइदिनुस्,' भट्टराईको आग्रह स्वीकार्दै आर्यसमाजका सन्यासी अग्निवेशले मन्त्र पढे र आगोलाई साक्षी राख्दै उनीहरूको बिहे गरिदिए । यो थियो ३० वर्षअघिको कुरा, जुन बेला भट्टराई जवाहरलाल नेहरू विश्वविद्यालयबाट पीएचडी सक्दैथिए ।
'त्यसबेला बाबुरामजीको मनमा जुन आगो थियो, त्यो गीत, भाषण र नाटकको माध्यमबाट हाम्रासामु आउँथ्यो,' अग्निवेशले सम्भिmए, 'हामी मिलेर एउटा सपना बुन्थ्यौं, पूरै दक्षिण एसियाभरि क्रान्तिको लहर पैदा गर्ने र पुँजीवादलाई समाप्त पार्ने ।'
प्रधानमन्त्रीका रूपमा भट्टराईलाई अग्निवेशको स्वागत ससर्त थियो । 'आज म साथीका नाताले बाबुरामजीलाई केबल यति भन्न चाहन्छु, याद गर्नु होला, सत्ता यथास्थितिवादतिर गयो भने मानिसहरूको सपनामाथि विश्वासघात हुनेछ,' पूर्वसांसदसमेत रहेका उनले भने, 'अनि फेरि कसैले क्रान्तिको लहर पैदा गर्ने कोसिस थाल्नेछ । नेपालमा यस्तो कदापि हुनुहुँदैन ।'
यस्तै विनम्र 'चेतावनी' प्रधानमन्त्रीले थुप्रै वामपन्थी-समाजवादी मित्रहरूबाट पाए । यो सूचीमा भारतको विपक्षी गठबन्धन 'एनडीए' का संयोजक शरद यादवदेखि आनन्दस्वरूप बर्मा र सुधीन्द्र भदोरियासम्म थिए । सायद त्यसलाई समेत ध्यानमा राख्दै भट्टराईले भने, 'मैले दिल्लीमा पढ्दा १० वर्ष बिताएँ । त्यतिबेला तपाईंहरूसँगै मिलेर संघर्ष गरें, नारा लगाएँ र सँगसँगै लडें । प्रधानमन्त्री भए पनि मैले आम जनताको मुक्तिको त्यो बाटो छाडेको छैन ।'
दोस्रो व्यापारीहरूसँग
'पुँजीवाद समाप्त पार्ने' अग्निवेशहरूको जमघटबाट प्रधानमन्त्री भट्टराईलाई पुँजीवादी जमातमा पनि पुग्नु थियो । शुक्रबार दिउँसो भारतीय उद्योगीहरूको संगठन 'फिक्की' र 'सीआईआई' सँगको साक्षात्कारमा उनले नेपालमा लगानी गर्न उत्प्रेरित गरे । 'नेपालमा तपाईंहरूलाई स्वागत छ,' प्रधानमन्त्रीले लगानीकर्ताहरूलाई भने, 'वैदेशिक लगानीका निम्ति हामीले अनुकूल नीति निर्माण र वातावरण बनाएका छौं, तपाईंहरू आउनु होस् ।'
फिक्कीका कार्यकारी सदस्य एवं फिप्ले इनर्जी प्रालिका अध्यक्ष डेभिन नारंगले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा लगानी गर्न सकिने सम्भावना व्यक्त गरे । सीआईआईका पूर्वअध्यक्ष राजीव कौलले द्विपक्षीय साझेदारीको नयाँ युग सुरु गर्नुपर्ने टिप्पणी गरे । तर त्यसका निम्ति भारतीय लगानीकर्ताहरूले औद्योगिक सुरक्षाको सुनिश्चितता चाहेका छन् जसको नेपाली जवाफ शुक्रबार साँझ भएको 'बिपा' सम्झौता बन्न पुगेको छ । यसले दंगा, युद्ध, सशस्त्र द्वन्द्व, विप्लव र संकटकालका कारण बाह्य लगानीका उद्योगहरूले नोक्सानी बेहोर्नुपरेमा क्षतिपूर्ति दिने सुनिश्चितता गरेको छ ।
प्रधानमन्त्री भट्टराईका विचारमा भारतसँग भएको यो नयाँ सम्झौताले वैदेशिक लगानीको नयाँ ढोका खोल्नेछ । तर काठमाडौंबाट आएका एक उद्योगपतिले बिपाजस्ता सम्झौताले लगानीका निम्ति ढोका खोले पनि मुख्यतः नेपालमा राजनीतिक स्थिरता हुने/नहुने कुरामा यो निर्भर हुने टिप्पणी गरे ।
भट्टराईको चाहिँ दृढ विश्वास केमा देखिन्छ भने नेपालले जबसम्म आर्थिक विकास गर्दैन, तबसम्म न हाम्रो लोकतन्त्र र राजनीतिक प्रणाली स्थिर रहन्छ, न त मुलुक आर्थिक रूपमा समृद्ध हुनेछ । त्यसैले राष्ट्रिय आय बढाउन बाह्य लगानी भित्र्याउनैपर्ने बाध्यात्मक अवस्था रहेको आफ्नो निष्कर्ष रहेको उनले सुनाउने गर्छन् । त्यसको स्पष्ट छनक भट्टराईले नयाँदिल्लीमा दोस्रो दिन उद्योगपति वृत्तसँग गरेको अन्तक्रिर्यामा देखिन्थ्यो ।
राजनीतिक संवाद
प्रधानमन्त्री भट्टराईको भ्रमणको कार्यसूची आर्थिक मुद्दामा केन्दि्रत रहे पनि यसको दीर्घकालीन राजनीतिक महत्त्व रहेको देखिन्छ । केही वर्षदेखि भारतको प्राथमिकतामा रहेका सुपुर्दगी सन्धि, एयर मार्सललगायत सुरक्षा सम्बन्धित विषयलाई यसपटक भारतीय पक्षले प्राथमिकतामा राख्न चाहेन । नेपालमा विवाद उब्जन सक्ने कुनै विषयमा प्रवेश गरेर भट्टराईलाई अप्ठ्यारोमा पार्ने पक्षमा पनि भारतीय संस्थापन देखिएन । यसको एकमात्र कारण उनी राजनीतिक रूपमा सफल हुन् भन्ने चाहना हो ।
भारतको संस्थापनदेखि मिडिया र निजी क्षेत्रमा समेत प्रधानमन्त्री भट्टराईको छवि निकै विश्वसनीय बनेको यसपटक स्पष्ट भयो । हिजो माओवादीलाई हेर्ने दृष्टिकोणमा दिल्लीको संस्थापनमा ठूलै विभाजन थियो । तर भट्टराई नेतृत्वको सरकारलाई चाहिँ निकै सकारात्मक रूपमा हेरिएको छ । यसको एकमात्र कारण यही गठबन्धनकालमा शान्ति-संविधानको प्रक्रिया टुंगोमा पुगोस् भन्ने मात्र होइन, माओवादीमा भट्टराई-प्रभाव बढोस् भन्ने अघोषित चाहनासमेत हो ।
यो अवस्थामा आइपुग्न प्रधानमन्त्री भट्टराई स्वयंलाई पनि सहज थिएन । 'हामीलाई नेपालमा भारतपरस्त भनियो, अनि भारतमा चाहिँ भारतविरोधी,' उनले एक प्रसंगमा भने, 'अनि मलाई लाग्यो, हामी ठीक ठाउँमा छौं ।'
उनी ठीक ठाउँमा रहे/नरहेको भारतीय मूल्यांकनचाहिँ उनी र उनको पार्टीले मुख्यतः शान्ति प्रक्रियाका सम्बन्धमा निकट भविष्यमा लिने निर्णयमा निर्भर रहनेछ । भट्टराई स्वयंले चाहिँ शुक्रबार बिहान शान्ति र अहिंसाका प्रतीक महात्मा गान्धीको राजघाट समाधिमा पुगेर आफ्नो प्रतिबद्धता जाहेर गरे ।
'म बीसौं शताब्दीका महान् चिन्तक भारतका राष्ट्रपिताप्रति विनम्र सम्मान प्रकट गर्दछु,' उनले त्यहाँको हस्ताक्षर पुस्तिकामा लेखेका छन्, 'समसामयिक विश्वको यो नयाँ सन्दर्भमा हामीलाई उहाँको खाँचो झनै पर्नेछ ।'
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें