मंगलवार, 25 अक्तूबर 2011

देउसीभैलो राति १२ बजेसम्म

काठमाडौं, कार्तिक ९ -   जिल्ला प्रशासन कार्यालयले देउसीका नाममा जबरजस्ती पैसा नअसुल्न र राति १२ बजेपछि देउसीभैलो नखेल्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसीका नाममा चाड सुरु हुनुअगावै पत्र पठाएर पैसा माग्ने गरेको भन्दै त्यस्तो नगर्न निर्देशन दिएको हो । 
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले चाडपर्वका नाममा उच्छृङखलता बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरे । 'आफ्नो क्षमता र हैसियत अनुसार देउसी खेल्ने हो, तिहारलाई जबरजस्ती पैसा उठाउने पर्व बन्न नदिन कडाइ गरिएको हो,' ढकालले भने- 'जबरजस्ती पैसा मागिरहेको खबर पाए पक्राउ गरी कारबाही गर्नेछौं ।' 
जिल्ला सुरक्षा समितिले राति १२ बजेपछि देउसी कार्यक्रममा समेत रोक लगाएको छ । 'जबरजस्ती पैसा असुलेको र राति सुत्न नदिएको जनगुनासो आएपछि १२ बजेभन्दा ढिलो देउसी नखेल्न सचेत गराएको हो,' ढकालले भने ।  
यसैबीच प्रहरीले तिहारका लागि काठमाडौं भित्र्याएको ८० केजी पटकासहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले थानकोटबाट ७० र मखन गल्लीबाट १० केजी पटका बरामद गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं असनका राजु ठकुरी र सुनसरीका सबु अर्याल रहेका छन् । काठमाडौं परिसरका प्रवक्ता डिएसपी धीरजप्रताप सिंहले स्टोर गरिराखेको स्थानबाट ल्याइँदै गरेको पटका बरामद गरिएको जानकारी दिए । यस्तै, मखन गल्लीबाट १० किलो पटकासहित जयराम शाहीलाई पक्राउ गरेको छ ।

कोई टिप्पणी नहीं: