बुधवार, 26 अक्तूबर 2011

नेपाली यात्रुबाट पैसा असुलेर अमेरिकामा तीन व्यवसायी बेपत्ता

न्युयोर्क, कार्तिक ९ - तीन वटा ट्राभल्स एजेन्सीका सञ्चालक एकाएक भागेपछि कयौं नेपाली यात्रुहरू अलपत्र परेका छन् । नेपाली समुदाय लक्षित इन्डो नेपाल, फ्लाइट माउन्टेन र सहारा युनाइटेड एजेन्सीका सञ्चालक लाखौं डलर उठाएर भागेको पीडितहरूले जनाएका छन् ।
साता अघिदेखि इन्डो नेपालका सुनिल सिंह, माउन्टेन फ्लाइटका ईश्वरी मास्के र सहारा युनाइटेडका राजाराम घिमिरे सम्पर्कविहीन छन् । काठमाडौं जोरपाटीका सोनाम छिरिङले कान्तिपुरसित भने, 'एक महिनाअघि फ्लाई माउन्टेन ट्राभल एजेन्सीबाट श्रीमती र मेरा लागि टिकट किनेको थिएँ । गत सोमबार उडान मिति थियो । तर टिकट बुक नै भएको रहेनछ । उड्ने तयारी गर्दा पो थाहा भयो ठगियो भनेर ।' छिरिङले दुई टिकटका लागि पच्च्ाीस सय डलर तिरेका थिए । फ्लाई माउन्टेनको कार्यालय गत सातादेखि बन्द छ । मास्के सम्पर्कमा नआएपछि दर्जनौं यात्रुहरूले प्रहरीसमक्ष उजुरी दिएका छन् । पीडित सोलुकी पेमा छिरिङले भनिन्, 'प्रहरीले सञ्चालकहरू अमेरिकामै रहे खोजी गरिने आश्वासन दिएको छ ।'
आप्रवासी नेपालीहरू रहेको ज्याक्सन हाइटस्थित उक्त कार्यालयमा अहिले दिनहुँ पीडितहरूको लाइन थपिँदै गएको छ । तिहारका लागि नेपाल जान गत आइतबारको टिकट किनेका बुटबलका राम श्रेष्ठले भने, 'विदेशमा नेपालीद्वारा नेपाली ठगिनु पर्‍यो । पैसा पनि गुम्यो, तिहार पनि छुट्ने भयो ।'
गत वर्षदेखि ट्राझल्स एजेन्सी सञ्चालन गरेकी मास्के गैरआवासीय नेपाल संघ, अमेरिकामा आबद्ध छिन् । न्युयोर्कमा विविध खाले नेपाली सामुदायिक कार्यमा देखा पर्ने मास्केसँग कान्तिपुरले सम्पर्क गर्न खोज्दा हुन सकेन ।
अर्का पीडित सुनिता साङबोका अनुसार मास्केले हरेक ग्राहकलाई १९ जना यात्रु ल्याए, एउटा टिकट निःशुल्क दिने 'अफर' गरेकी
थिइन् । 'मास्केले सबै यात्रुलाई उडान मितिभन्दा दुई दिनअघि मात्र कार्यालयमा सम्पर्क गर्न भनेकी थिइन् । अहिले सच्चाई बाहिर आयो,' साङबोले भनिन् । पीडितहरूका अनुसार कम्तीमा २४ नेपाली सहित ४८ जनाको रकम लिएर सञ्चालक बेपत्ता भएकी छिन् । पीडितहरू सोमबारै न्युयोर्कस्थित नेपाली कन्सुलर अफिसमा पुगेका थिए । कन्सुलर अफिसले सम्बन्धित अमेरिकी निकायमा त्यसको उजुरी पुर्‍याइदिने बचन दिएको छ ।
इन्डो नेपालका सञ्चालक सिंहको कार्यालयमा पनि साताअघिबाट ताला लागेको छ । उनी त्यसयता सम्पर्कमा छैनन् । भारतको नयाँदिल्लीमा पढ्ने छोरीलाई भेट्न मंगलबार उड्ने तरखर गरेका काठमाडौं सातदोबाटोका सुजित कार्कीले शनिबार मात्र आफ्नो टिकट फर्जी भएको पत्तो पाए । 'हतार-हतार फोन गरे । सम्पर्क भएन र अफिस आउँदा बन्द रहेछ,' कार्कीले भने । केही वर्षदेखि व्यापार गरिरहेका सिंह भारतीय नागरिक हुन् । सिंह फिल्मी निर्माता उद्धव पौडेलकी डिभोर्स पत्नीका श्रीमान् हुन् ।
सहारा युनाइटेडका राजाराम घिमिरे पनि बेपत्ता भएको उत्तिकै समय भयो । एक पीडितले भने, 'नियोनित रूपमा तीनै जना मिलेर पैसा लिएर बेपत्ता भए । एकै तरिकाले पैसा असुलेर एक दिन तीनै जना हराएका छन् ।' तीनै जनाले नेपालीसहित बंगाली र भारतीयबाट  लाखौं डलर असुलेको अनुमान गरिएको छ । उनीहरू हाल अमेरिकाबाट अन्य देशतर्फ गइसकेको अनुमान प्रहरीको छ ।
ज्याक्सन हाइटमा एक व्यापार व्यवसायमा सक्रिय आप्रवासी नेपालीले भने, 'ठग्ने नियतले गर्दा, इमानदारीपूर्वक काम गर्ने हामीलाई समेत अप्ठ्यारो परेको छ ।'

कोई टिप्पणी नहीं: