बुटवल,९ कार्तिक। एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाले पार्टीको निर्णय र निर्देशन विपरीत प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग बिपा सम्झौता गरेको बताउनुभएको छ। उहाँले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि पार्टी पोलिटब्युरो बैठकले कुनै सम्झौता नगर्न निर्देशन दिएको र संविधानसभामा रहेका दलहरुको बैठकले समेत कुनै सम्झौता नगर्न सुझाव दिए पनि त्यसलाई उल्लङ्घन गरेर बिपा सम्झौता गरिएको बताउनुभयो।
क्रान्तिकारी पत्रकार सङ्घ अवध समितिले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री भट्टराई भारत जानुअघि नै भारतले उक्त सम्झौताको प्रस्ताव नेपालमा पठाएको र सरकार गठन गर्दा मधेसी दलहरुसँग गरिएको चारबुँदे सहमतिको आडमा बिपा सम्झौता गरिएको दाबी गर्नुभयो। मधेसी मोर्चासँग गरिएको चारबुँदे सहमतिको अन्तिम चौथो बुँदामा अप्रत्यक्ष ढङ्गले भारतसँग लगानी सुरक्षा सम्झौताको विषय राखिएकाले प्रधानमन्त्रीले बाध्य भएर अहिले त्यसलाई कार्यान्वयन गरेको उहाँले आरोप लगाउनुभयो।महासचिव थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ‘रअ’ को इसारामा चलेको भन्ने यसअघिको आफ्नो भनाइका सम्बन्धमा अध्यक्षले नै स्पष्टीकरण दिनुपर्छ भन्नुभयो। उहाँले पार्टी अध्यक्षजस्तो जिम्मेवार व्यक्ति पार्टीलाई नै जानकारी नगराई भारतको सिलिगुढी गएको विषयमा पार्टीभित्र र आमजनतालाई स्पष्ट नपार्दासम्म अध्यक्ष दाहाल शङ्काको घेरामा रहने बताउँदै भन्नुभयो- भेट नै नहुने भन्ने होइन तर पारदर्शी हुनुपर्छ । रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें