रविवार, 23 अक्टूबर 2011

प्रधानमन्त्रीको भ्रमणको राजनीतिक सन्देश

नयाँदिल्ली, कार्तिक ६ - प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमण मूलतः आर्थिक मुद्दामा केन्दि्रत रहे पनि त्यस क्रममा उनले अर्को एउटा उपलब्धिसमेत हासिल गरेका छन्, त्यो हो- राजनीतिक विश्वासको पुनःस्थापना । खासगरी आफ्नो पार्टी र भारतीय संस्थापनबीच झन्डै दुई वर्षदेखि चिसिएको सम्बन्धलाई सहजीकरण गर्न सफल भएका छन् उनी ।
भारतका निम्ति आफूले अविश्वसनीय मानिरहेको माओवादीलाई भरोसा गर्न सक्ने आधार बनेको छ, शुक्रबार हस्ताक्षरित द्विपक्षीय लगानी प्रवर्द्धन एवम् संरक्षण सम्झौता -बिपा) । यसले भारतको लगानी भित्र्याउन बाटो खोल्ने भट्टराईको विश्वास छ भने भारतीय पक्षचाहिँ माओवादी नेतृत्वको सरकारकै बेला आफ्नो प्राथमिकताको दूरगामी सम्झौता हुन सकेकामा सन्तुष्ट छ । यस अर्थमा यो आर्थिक समझदारीमात्र होइन, राजनीतिक दूरी घटाउने दस्तावेजसमेत बनेको छ ।
प्रधानमन्त्री भट्टराईले आफ्नो नेतृत्वमा नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र नयाँ संविधान हुँदै नयाँ निर्वाचनतर्फ जान सकिने विश्वासिलो मार्गचित्रसमेत नयाँदिल्लीमा पेस गरेका छन् । यससँगै माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेको सन्देश भारतीय संस्थापनका सबै अंगमा प्रवाह भएको
छ । परिणामस्वरूप भारतले नेपालस्थित आफ्ना सबै 'प्रभाव' परिचालन गरेर माओवादी अगुवाइमा शान्ति प्रक्रिया टुंग्याउने अनुकूल वातावरण बनाउन सघाउनेछ ।
अर्को एउटा उपलब्धिचाहिँ सन् १९५० को सन्धिदेखि सीमा समस्या र आर्थिक साझेदारीसम्मका विषयमा दुई देशलाई सुझाव दिन दुवै पक्षका विशेषज्ञहरू राखेर 'इमिनेन्ट पर्सन ग्रुप' बनाउने सहमति हो ।
नागरिक तहबाट हुने यो प्रयासले नेपाल-भारतका परम्परागत समस्या सुल्झाउने र नयाँ आधारमा सम्बन्ध विकसित गर्ने वातावरण बनाउन सक्छ । त्यसो भएमा भारतसँगको 'असमान' सम्बन्ध अन्त्य गर्नुपर्ने पुरानो नारा पनि सम्बोधित हुने ठानिएको हुन सक्छ ।
भट्टराईको भ्रमणले माओवादी र भारतको 'शीतयुद्ध' लाई सामान्यीकरणमात्र गरेको छैन, नयाँदिल्लीमा उनी स्वयंको उचाइ पनि बढाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन वर्षअघि यहाँ प्रधानमन्त्रीका रूपमा आउँदा समाजवादी नेता शरद यादवले उनको सम्मानमा आफ्नो निवासमा जस्तो राजनीतिक जमघट गरेका थिए, प्रधानमन्त्री भट्टराईलाई पनि उनले शनिबार साँझ त्यही ठाउँमा त्यसैगरी स्वागत गरे । त्यहाँ सत्तारूढ कंग्रेसदेखि भाजपा, सीपीएम, जनता दल र तेलगु देशमसम्म प्रमुख भारतीय पार्टीका थुपै्र प्रभावशाली नेताहरू उपस्थित थिए, जसले भट्टराईको मुक्तकण्ठले प्रशंसा गरे । दिल्लीले दाहालको ठाउँमा भट्टराईलाई राख्न थालेको स्पष्ट सूचक थियो त्यो ।
प्रधानमन्त्री भट्टराई भने यसबारे सचेत छन् । खासगरी शान्ति, संविधान र भारतसँग सम्बन्धित मामिलामा उनी अध्यक्ष दाहाल सँगसँगै अगाडि बढ्न चाहन्छन् । शनिबार सबेरै उनले अध्यक्षलाई फोन गरेर अघिल्लो साँझ भारतीय पक्षसँग भएको वार्तालापको विवरण सुनाए । र, बिपाबारे विवाद नबढोस् भन्ने सरोकार राखे । माओवादीकै वैद्य समूहले बिपालाई 'राष्ट्रघाती' भन्दै विरोध थालेको अवस्थामा दाहाल-भट्टराई कति सँगसँगै अगाडि बढ्छन्, यसैले उनीहरूको आपसी सम्बन्धमात्र होइन, भारत र माओवादीको भावी समीकरणसमेत निर्धारण गर्नेछ ।

कोई टिप्पणी नहीं: