सोमवार, 17 अक्टूबर 2011

नेपालमा लगानी आउनेमा विश्वस्त: अर्थमन्त्री पुन

काठमाडौँ, ३० असोज । अर्थमन्त्री वर्षमान पुनले नेपालमा गैरआवासीय नेपाली एनआरएनको लगानी भित्रनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।  मन्त्री पुनले उक्त कुरा आज अर्थमन्त्रालयमा आयोजित गैरआवासीय नेपाली सङ्घ एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा भेटघाट कार्यक्रममा बताउनुभएको हो ।
उहाँले एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुले नेपालमा लगानीको वातावरण मिलाउनका लागि ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले एनआरएनहरुको समस्याप्रति राज्यको सहयोगी भूमिका रहने पनि स्पष्ट पार्नुभयो । अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले नेपालमा एनआरएनहरुले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेलले एनआरएनहरुले नेपालको स्वार्थ र हितका लागि नेपालमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले एनआरएनबाट नेपालको शिक्षा क्षेत्रमा लगानी गर्ने तर्फ ध्यान पुर् याउन समेत आग्रह गर्नुभयो ।
एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालमा लगानीको वातावरण बनाउन एलसी प्रकि्रयामा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैगरी सङ्घका नवनिर्वाचित अध्यक्ष जिवा लामिछानेले नेपालमा तत्काल एनआरएनहरुले हाइड्रोपावरको क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।

कोई टिप्पणी नहीं: