काठमाडौं, कार्तिक ८ - काग र कुकुर तिहार मंगलबार एकै दिन मनाइँदैछ । यस पटक चतुर्दशी तिथि टुटेकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको ज्योतिष वासुदेवकृष्ण शास्त्रीले बताए । उनका अनुसार मंगलबार बिहान कागपूजा र मध्यान्ह कुकुरपूजा गर्नुपर्ने हन्छ । 'यमपञ्चक काग तिहार सोमबार रातिदेखि नै सुरु हुन्छ तर रातमा कागपूजा हुँदैन,' उनले भने ।
कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्लपक्ष द्वितीयासम्म पाँच दिन दीपावलीका साथ यो पर्व मनाइन्छ ।
यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन धन (लक्ष्मी) र चौथो दिन गोवर्द्धन र नेवारहरूले आफ्नै शरीरलाई पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ ।
यमलोकका राजा यमराजले समेत आफ्ना दैनिक कार्यलाई स्थगन गरेर पाँच दिनसम्म बहिनी यमुनाको पाहुना हुन जान्छन् भन्ने पौराणिक कथन छ । यो चाडलाई यमपञ्चक पनि भनिन्छ ।
पहिलो दिन सन्देशवाहकका रूपमा कागलाई, दोस्रो दिन कुकुर पूजा गरिन्छ । यही दिन आयुर्वेदका ज्ञाता धन्वन्तरी दिवस मनाइन्छ । बुधबार औंशी तिथिमा बिहान गाई तिहार भनेर गाईको र रातमा घरभरि बत्ती तथा सुगन्धित धूप बालेर रुपैयाँ, सुन-चाँदी तथा बहुमूल्य वस्तुहरूका साथै लक्ष्मीको चित्र राखी पूजा आराधना गर्ने परम्परा छ । यस रातलाई सुखारात्री भन्ने गरिन्छ ।
तिहारको चौथो दिन बिहीबार गोवर्द्धन पूजा भनेर गोवर्द्धन, बहरहरू र बलिराजाको पूजा गरिन्छ । नेवार समुदायमा भने 'म्हःपूजा' भनेर सगुन लिएर आफ्नै शरीरको पूजा गरेर भोज खाने गरिन्छ ।
यसै दिन ११३२ वर्षअघि काठमाडौंका जनतालाई ऋणमुक्त गराई राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा राष्ट्रको नाममा चलाइएको नेपालसम्वत् ११३२ सुरु हुन्छ । शुक्रबार भाइटीका भनी दिदीबहिनीद्वारा आफ्ना दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गरी निधारमा सप्तरंगी टीका र गलामा मखमली, गोदावरी फूलको माला पहिराउने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष माधव भट्टराईका अनुसार भाइटीकाको साइत बिहान ११: ५५ छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें