मंगलवार, 25 अक्तूबर 2011

केन्द्रीय कारागारमा बन्दी चाप

 कार्तिक ८ -   सुन्धारास्थित केन्द्रीय कारागारमा साँघुरा र जीर्ण भवनका कारण कैदी र बन्दी समस्यामा परेका छन् । गत असोजको भूकम्पले कारागारभित्रका भवनहरू चर्केर बस्न नहुनेपछि बन्दीहरूले संयुक्त रूपमा समस्यालाई प्रधानमन्त्री र गृहमन्त्री समक्षसमेत राखेका छन् । 'पहिल्यैदेखि बन्दीको चाप थियो,' केन्द्रीय कारागार जेलर तीर्थराज भट्टराईले कान्तिपुरसित भने, 'भूकम्पले भवन चर्काएपछि ठूलो त्रास फैलाएको छ ।' उक्त परिसरमा केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला बन्दी गृह गरी तीन वटा कारागार छन् । सबैमा गरी २ हजार ८५ जना बन्दी छन् । मुस्किलले १२ सय क्षमता भएकोमा चाप बढ्दा दैनिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो पीडितहरूको छ । दसैंका बेला कैद मिनाहा गर्न १ सय ४ जनालाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले ४ जनाको मात्र कार्यान्वयन गरेपछि कैद भुक्तान गरी बसिरहेका आक्रोशित भएका छन् । कैदभित्र हुनुपर्ने केही पनि सुविधा छैन,' कारागारभित्र अध्यापन गराउँदै आएका नवराज लम्सालले भने, 'सरकारले कानुनी सुविधासमेत रोकेपछि समस्या बढेको हो ।' तथ्यांकअनुसार कारागारमा एक हजार २ सय ८३, भद्रमा ५ सय ५८, महिलामा २ सय ३५ र नाबालक ९ जना छन् । कारागार नियमावली अनुसार ५० प्रतिशत कैद भुक्तान भइसकेका, चालचलन राम्रो भएकालगायत मापदण्ड भित्र पर्ने १ सय ४ जनालाई मिनाहाका लागि कार्यालयले विभागमा सिफारिस गरेको थियो । त्यसको बेवास्ता भएपछि बन्दीहरू आश्चर्यमा परेका लम्सालले जनाए ।
उनीहरू संगठित भई सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि पनि नभए चरणबद्ध दबाबमूलक कार्यक्रम गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिए । 'खाना खाने, नुहाउने, दिसापिसाब गर्ने, सुत्ने केही व्यवस्था छैन,' एक बन्दीले भने, 'पिसाब फेर्नका लागि बिहानभर लाइन लाग्नुपर्छ ।'

कोई टिप्पणी नहीं: