रविवार, 30 अक्टूबर 2011

जमकट्टेलमाथि आक्रमण गर्ने पन्त को हुन् ?

ramesh
काठमाडौ, कार्तिक १३ - काभ्रेको बिर्ता देउराली घर भएका ३५ वर्षीय रमेश पन्तको वास्तविक नाम तारानिधि पन्त हो । एसएलसी पास गरेपछि काठमाडौं छिरेका उनी २०५४ सालमा कुपण्डोलको मितेरी रेस्टुरेन्टमा काम गर्दैगर्दा माओवादीमा प्रवेश गरेका हुन् । द्वन्द्वकालमा माओवादी नेता कृष्णबहादुर महराका सहयोगीसमेत भएका उनी नेवा राज्यसमिति सचिवालय सदस्य हुन् । मजदुर नेता जमकट्टेल अखिल नेपाल टे्रड युनियन महासंघको अध्यक्ष हुँदा पन्त सचिव थिए । उनी अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघका निवर्तमान अध्यक्षसमेत हुन् । ३ वर्षअघि हिमाल मिडियामाथि गरिएको आक्रमणको नेतृत्व पन्तले नै गरेका थिए ।
जमकट्टेलमाथि आक्रमण 'पार्टी भित्रैबाट’
माओवादी मजदुर नेता शालिकराम जमकट्टेलमाथि पार्टी कार्यकर्ताले नै आक्रमण गरेको प्रहरीले जनाएको छ । 
प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जमकट्टेलमाथि अखिल नेपाल टे्रड युनियनका निवर्तमान महासचिव रमेश भनिने तारानिधि पन्तको योजनामा आक्रमण भएको हो । ब्युरोले दुई महिना लगाएर यससम्बन्धी अनुसन्धान गरेको हो । गत भदौ १० गते बबरमहलमा कट्टेलमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । 
ब्युरोले आक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रड प्रहार गर्ने मकवानपुरका इन्द्रबहादुर शाही ठकुरी, खोटाङका कमल बुढाथोकी, मकवानपुरका सुदीप कार्की र राम पुडासैनी छन् । तेस्रो डिभिजनका लडाकु ठकुरी गत असारमा शिविर छाडेका थिए । पुडासैनी पनि लडाकु हुन् । बुढाथोकी अखिल नेपाल होटल तथा रेस्टुरा मजदुर संघ मूल इकाई कमिटीका सदस्य हुन् । 
प्रहरीले मुख्य योजनाकार पन्त र सहयोगी झापाका रजन खरेललाई पक्राउ गर्न सकेको छैन । पन्तले शालिकराम माथि आक्रमण गर्ने जिम्मा पुडासैनीलाई दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पन्तले १ महिना लगाएर घटनाको योजना बनाएका थिए । 
प्रहरीका अनुसार मजदुर समूहभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षधर शालिकराम जमकट्टेल, उपाध्यक्ष मोहन वैद्य पक्षधर बद्री बजगाईं र प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर रमेश पन्त समूहबीचको लडाइँले ठूलो रूप लिएको हो । 'पार्टीभित्र पहिलेदेखि चलेको आन्तरिक द्वन्द्वले ठूलो रूप लिएको हो,' ब्युरोका एसएसपी कमलसिंह बमले भने ।
प्रहरीले तीनवटै समूह र जमकट्टेलका अन्य व्यक्तिसँगको सम्बन्धमाथि अनुसन्धान केन्दि्रत गरेको थियो । 'अनुसन्धानबाट पन्त समूहकै संलग्नता पुष्टि भयो,' एक वरिष्ठ प्रहरी अधिकृतले भने ।
जमकट्टेलले भने पन्त समूहसँग पार्टीभित्रको वैचारिक मतभेद आक्रमण हुनुपर्ने गरी नभएको बताए । उनले आफू माथि आक्रमण गर्ने भन्दै प्रहरीद्वारा सार्वजनिक गरिएकाहरू कोही नचिन्ने उल्लेख गरे । 'म पन्तजीबाहेक अरूलाई चिन्दिनँ, ज्यान मार्ने उद्देश्यले घटाइएको घटना हो,' उनले भने 'प्रहरीले यत्रो समय लगाएर गरेको अनुसन्धानलाई म नर्कान सक्तिनँ ।'
प्रहरी प्रधान कार्यालयले ब्युरो प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालको अध्यक्षतामा छानबिन टोली गठन गरेको थियो । टोलीमा एसएसपी हेमन्त मल्ल, एसपी शेरबहादुर बस्नेत, एसपी भुपाल भण्डारी र डीएसपी भूपेन्द्र खत्री थिए । जमकट्टेल माथि आक्रमण हुनु दुई महिनाअघि अन्नपूर्ण क्यासिनोमा पन्त पक्ष र जमकट्टेल समूहबीच झडप भएको थियो । जमकट्टेल समूहका कल्पदीप राई समूहले पन्त पक्षधर ज्ञानेन्द्र महर्जन माथि आक्रमण गरेको थियो । होटल अन्नपूर्णको बिबाद साम्य हुन नपाउँदै एभरेस्ट क्यासिनोमा समेत दुईपक्षबीच झडप भएको थियो । 
प्रहरीले सुराकीको सूचनादेखि आक्रमण भएको दिन घटनास्थल वरपर जमकट्टेलसँग सम्बन्ध राख्ने मोबाइल विवरण अध्ययन गरेकोे थियो । 'घटनास्थल वरपर उनीसँग सरोकार राख्ने व्यक्तिहरूको टेलिफोन विवरण त अध्ययन गरियो नै, २४ सै घन्टा शंकास्पद लाग्ने स्थानमा प्रहरी पठाएर सूचना संकलन गरियो' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'लामो समय लगाएर अनुसन्धान गर्दा सफल भएको घटनामा यो पनि पर्छ ।' 
पक्राउ परेकाहरूले क्यासिनो, होटल तथा रेस्टुरेन्टमा बढी पकड जमाएका जमकट्टेल समूहलाई तह लगाउन आक्रमण गरिएको बताएका छन् ।

को हुन् रमेश पन्त ?
काभ्रेको बिर्ता देउराली घर भएका ३५ वर्षीय रमेश पन्तको वास्तविक नाम तारानिधि पन्त हो । एसएलसी पास गरेपछि काठमाडौं छिरेका उनी २०५४ सालमा कुपण्डोलको मितेरी रेस्टुरेन्टमा काम गर्दैगर्दा माओवादीमा प्रवेश गरेका हुन् । द्वन्द्वकालमा माओवादी नेता कृष्णबहादुर महराका सहयोगीसमेत भएका उनी नेवा राज्यसमिति सचिवालय सदस्य हुन् । मजदुर नेता जमकट्टेल अखिल नेपाल टे्रड युनियन महासंघको अध्यक्ष हुँदा पन्त सचिव थिए । उनी अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघका निवर्तमान अध्यक्षसमेत हुन् । ३ वर्षअघि हिमाल मिडियामाथि गरिएको आक्रमणको नेतृत्व पन्तले नै गरेका थिए ।

कोई टिप्पणी नहीं: