रविवार, 30 अक्टूबर 2011

छठ पर्व शुरु


शीतलप्रसाद महतो। बिरगञ्ज, १३कार्तिक। श्रद्धा भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बका रुपमा मनाइने छठपर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड हो छठ पर्व ।
तराईका सबै जातजातिले साझारुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोवस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
विशेषगरेर तराईवासीहरुले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ ।
पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा-अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा व्रतालुहरुले खोला नाला नदी पोखरी र तलाउलगायतका जलासयमा गई नुहाईधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु लसुन प्याज र कोदोजस्ता वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गरिन्छ ।
पञ्चमी तिथी दोस्रो दिन लाई ‘खरना’ संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गर्दछन्।
प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खिरलाई लिइन्छ। त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खिर चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।
षष्ठीका दिन तेस्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ। त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले श्रद्धापूर्वक गीत गाउने गर्छन्।
केरवा ज फरल घउरस वोपर सुगा मडराय
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।
छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न। छठ मातालाई चढाउने केरा सुगाले नखाउन् भनेर गीतबाटै सचेत गराउन खोजिएको छ। सोही दिन अन्नबाहेक फलफूल ठकुआ भुसवा खजुरी पेरुकिया तथा मुला गाजर बेसारको गाँठो ज्यामिर नरिवल सुन्तला केरा नाङ्लो कोनिया सरबा ढाकन माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलासयसम्म पुग्ने गर्छन् । यस अवसरमा व्रतालु महिलाहरुले श्रद्धापूर्वक यस्तो गीत गाउने गर्छन् -
हातबा मे फूलवा के डलिया छठ पूजन जाय ।
छठी मैया होइब सहाय छठ पूजन जाय ॥
हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला। निर्धारित जलासयमा पुगेर परिकारहरु जलासयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत् गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरुप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरुप अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्। पर्वको चौथा अर्थात अन्तिम दिनलाई पारन पार्वण भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरु पुनः जलासयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर् याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ। प्रातःकालीन अर्घमा दीपमालाले सजिएका जलासयमा अपूर्वको अनुभूति हुन्छ।
महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी उनीहरुले सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाका विराट राजाको क्षेत्रमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुणिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यत्तिकै छन्। वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख बिरुवा वनस्पति प्राणी जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सा पद्धतिमाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाबाट रोगमुक्त भएको भन्ने उल्लेख छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा-झुप्पा फलहरु चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ। यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन्। आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरु मनाउने गर्छन्। रासस

कोई टिप्पणी नहीं: