सोमवार, 17 अक्टूबर 2011

मैदाको परिकार खाँदा एकको मृत्यु, चार बिरामी

नुवाकोट (त्रिशूली), आश्विन ३० - मैदाको पिठोबाट बनाएको परिकार खाँदा यहाँ एक बालिकाको मृत्यु भएको छ भने चारजना सिकिस्त बिरामी परेका छन् ।
सूर्यमती गाविस–६ का उजेली राईको एक वर्षीया छोरी युनिका राईको गएराति मृत्यु भएको हो ।
आइतबार दिउँसो घरमा बनाएको खाजा खाँदा उजेली राई, छिमेकी च्यान्टे राई, उहाँकी श्रीमती लक्ष्मी राई र १० महिनाको शिशु राज राई गम्भीर बिरामी परेका छन् ।
बिरामीहरूलाई उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएकामा गएराति युनिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
अन्य चारजनाको हाल शिक्षण अस्पतालमा उपचार भइरहेको र १० वर्षे शिशु राजको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी सहायक निरीक्षक लक्ष्मण गौतमले जानकारी दिनुभयो  ।
राई परिवारले भदौ १२ गते बट्टारस्थित दुवाल स्टोर्सबाट खरिद गरी लगेको मैदाको पिठोको खाजा खाँदा उक्त घटना भएको आफन्तहरुले बताएका छन् ।
मैदामा अन्य विषादी मिसिएको या पिठो बिग्रिएर उक्त घटना भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
यसअघि उक्त दुवाल स्टोर्समा जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य वस्तु फेला परेपछि एक महिनाअघि स्टोर्समा शिल गरेको थियो । रासस

कोई टिप्पणी नहीं: