शनिवार, 15 अक्टूबर 2011

मधेस टुक्रयाउने रक्षा मन्त्रीको अभिव्यक्तिको थारुले कडा प्रतिवाद गर्ने

काठमाडौं, असोज २८ (नागरिक)- सभासद् महेश चौधरीले मधेस टुक्राउने भनी वर्तमान सरकारका रक्षा मन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता शरदसिंह भण्डारीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्। उनले थारु समुदायले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चौधरीले आरोप लगाए- मन्त्री भण्डारीले २२ जिल्ला टुक्रयाउने भनेको तराईका मूल बासिन्दा थारुहट जिल्लालाई समेत जोडी थरुहटलाई मधेसमा मिलाउने षड्यन्त्र हो। सभासद् चौधरीको भनाई थियो- एक मधेस, एक प्रदेसको नारा लगाई मधेसमा चर्काएको आन्दोलनले नेपाली भूमिलाई भारतीय भूमिमा मिलाउने षड्यन्त्र भएको छ, यस राष्ट्रघाती षड्यन्त्रको थरुहट क्षेत्रबासीले कडारुपले प्रतिकार गर्नेछ।

उनले थारु जाति राष्ट्रिय एकता, अखण्डताप्रति गम्भीर रहेको र देशको मूल कानुन संविधान र देश विखण्डनकारीको विरुद्ध कडा प्रतिवाद गर्दै राष्ट्रको गरिमा जोगाउन यो समुदाय प्रतिबद्ध रहेको पनि बताए। चौधरीले प्रतिप्रश्न गर्दै भने– मधेस भनेको के हो ?, मधेसी समुदाय को हुन् ?, नेपालमा मधेस कहिलेदेखि स्थापना भयो ?, तराई मधेसको यस्ताखाले परिभाषाले देश विखण्डन हुन्छ, मधेसको नाममा देश टुक्रयाउन खोजिए हामी आन्दोलनमा उत्रन तयार छौं।

सभासद् चौधरीले मधेसी समुदायले आफूबाहेकका नेपाली जनतालाई आफू बसोबास गरेको भू–भागबाट लखेट्न खोजेको आरोप लगाउँदै यस्ता नेतासहितको अप्राकृतिक गठबन्धनको सरकार तत्काल विघटन गरी राष्ट्रिय सहमतिको सरकार नबनाए मुलुकमा ठूलो दुर्घटना हुने ठोकुवा पनि गरे। उनले भने- नेपालमा मधेस नै छैन, नेताले बनाएको मधेस मधेस नै होइन, यो देश टुक्रयाउने भीषण षड्यन्त्र हो।

कोई टिप्पणी नहीं: