नेपालगन्ज, कार्तिक ९ - उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले प्रहरीको सुविधा र भत्ता बृद्धि गर्ने घोषणा गरेका छन् ।
मंगलवार नेपालगन्जमा मध्यपश्चिम क्षेत्रस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्दै गृहमन्त्री गच्छदारले पाँच दिनभित्र सशस्त्र र नेपाल प्रहरीको सुविधा र रासनभत्ता सेना सरह बनाईने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै, प्रहरीलाई निजामति कर्मचारीसरह घरकर्जा उपलब्ध गराउने प्रहरी चौकी, ब्यारेक मर्मत, शौचालय र भान्साघर निर्माण गर्न तिहारपछिको मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने उनले बताए ।
प्रहरी र गृह प्रशासनलाई राजनीतिक हस्तक्षेप शून्य तथा भ्रष्टाचार शून्य सहनशिलतामा पुर्याउनु आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै ती निकायमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सरकारले सुधार कार्यक्रम ल्याउन लागेको पनि उनले जनाए । तत्काल गर्ने, दुई/तीन महिनाभित्र गर्ने र र दुरगामी खाले कार्यक्रम ल्याउने र प्रहरीको खस्केको छवि र मनोबल उठाउनु आफ्नो प्राथमिकता रहेको गृहमन्त्री गच्छदारले बताए । शान्ति प्रक्रिया टुंगोमा पुगेर संविधान निर्माण भई आम निर्वाचन नहुँदासम्म सुरक्षा निकायको भूमिका सबैभन्दा बढी रहेको उनले बताए । 'दुई छाक भोकै बस्न सक्छ तर, जीउधन सुरक्षा भएन भने एकछिन पनि सहेर बस्दैन'- गच्छदारले भने ।
प्रहरीको कार्यशैली, व्यवहार र भाषाशैलीमा सुधार गर्नुपर्ने उनले बताए । सुडान प्रकरणपछि प्रहरी नेतृत्वको इमान्दारिता पनि शंकाको घेरामा परेको उल्लेख गर्दै गच्छदारले भने,- अठोट गरेरै भ्रष्टाचारलाई शून्य सहनशिलतामा पुर्याउनु आवश्यक छ ।
सुरक्षा सम्मेलनमा मध्यपश्चिमका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी थिए । प्रहरी प्रमुखहरुले संगठनभित्र जनशक्ति, साधनस्रोत र बजेट अभाव रहेको गुनासो गरेका थिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारीहरुले राजनीतिक दलका हस्तक्षेपले अप्ठ्यारो रहेको बताएका थिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें