शनिवार, 22 अक्टूबर 2011

प्रधानमन्त्रीको भारत भ्रमण/दुई देशबीच दूरगामी सम्झौता

baburam
काठमाडौ, कार्तिक ५ - नेपाल र भारतले लगानी प्रवर्द्धन तथा सुरक्षणसम्बन्धी महत्त्वपूर्ण सहमति 'बिपा' सहित तीन सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् । यसअघि चर्चामा रहेको लगानीकर्ताहरूले एकअर्काको देशमा लगानी गर्दा दोहोरो कर तिर्नु नपर्ने व्यवस्थासहितको डबल ट्याक्सेसन एभोयडेन्स् एग्रिमेन्ट (डीटीएए) मा भने हस्ताक्षर हुन सकेन ।
किन भएन हस्ताक्षर ?
नेपाल र भारतले सन् १९८७ मा डीटीएएमा हस्ताक्षर गरेका थिए । डीटीएएमा परिवर्तित घरेलु तथा अन्तर्राष्ट्रिय वातावरणअनुसार पुनर्विचार गर्न नेपालले भारतसमक्ष प्रस्ताव राखेपछि २००८ र २००९ मा द्विपक्षीय वार्ता भएको थियो । प्रधानमन्त्री भट्टराईको यो भारत भ्रमणका क्रममा डीटीएएमा हस्ताक्षर गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको छ ।
दुवै पक्षले केही प्राविधिक कारणले मात्रै सम्झौतामा हस्ताक्षर नभएको बताएका छन् । उच्च नेपाली अधिकारीहरूका अनुसार भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले छिट्टै आफैं काठमाडांै आई सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । यसैगरी भारतीय पक्षले यस्तो खाले सम्झौता हालसम्म ८९ वटा मुलुकसँग भइसकेको तर सन्तोषजनक नतिजा प्राप्त नभएको उल्लेख गर्दर्ै नेपालसँग पनि यस्तो सम्झौता गर्नु आफ्नो प्राथमिकतामा नरहेको धारणा राखेको एक उच्च नेपाली अधिकारीले जानकारी दिए ।
भ्रमणअघि दुवै मुलुकका अधिकारीहरूबीच काठमाडौंमा छलफल हुँदा भारतीय पक्षले नयाँ सम्झौतामा हस्ताक्षर भएपछि १९८७ को सम्झौता स्वतः खारेज हुने प्रस्ताव राखेको थियो । नेपाली पक्षले भारतको उक्त प्रस्ताव अस्वीकार गर्दै अर्काे प्रावधान राख्न प्रस्ताव गरेको थियो । नेपाली पक्षले पहिलेको सम्झौताअन्तर्गत भएका काम पनि नयाँ सम्झौताअन्तर्गत भएको मानिने प्रस्ताव गरेको थियो । भारतीय पक्षले पनि उक्त प्रस्ताव नमानेपछि डीटीएएमा हस्ताक्षर नगर्ने मनस्थिति बनेको थियो । तर नयाँदिल्ली आएपछि भारतले नेपाली पक्षकै प्रस्तावअनुसार हस्ताक्षर गर्न तयार भए पनि अन्त्यमा प्राविधिक कारण देखाउँदै हस्ताक्षर नगरिएको ती उच्च अधिकारीले जानकारी दिए ।
तीन सम्झौता
यहाँस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र उनका भारतीय समकक्षी मनमोहन सिंहको उपस्थितिमा दुवै मुलुकका सम्बन्धित अधिकारीहरूले बिपा, लाइन अफ क्रेडिट अर्थात् सहुलियत दरको ऋण र गलगाँड नियन्त्रणमा भारतीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बिपामा भारतका तर्फबाट अर्थमन्त्री प्रणव मुखर्जी र नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झाले हस्ताक्षर गरेका थिए ।
दोस्रो सम्झौताअनुसार भारतले नेपाललाई २५ करोड अमेरिकी डलरको सहुलियत दरको ऋण उपलब्ध गराउनेछ । उक्त ऋण राजमार्ग, पुल, विमानस्थल, सिँचाइ, सडक, रेलमार्ग तथा जलविद्युत् आयोजना निर्माणमा खर्च गरिनेछ ।
भारतका तर्फबाट भारतीय आयात-निर्यात बैंकका अध्यक्ष टीसीए रंगनाथन एवं नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव लालशंकर घिमिरेले हस्ताक्षर गरे । गत वर्ष राष्ट्रपति रामवरण यादवको भारत भ्रमण भएका बेला उक्त सहुलियत दरको ऋण उपलब्ध गराउने घोषणा भारतीय पक्षले गरेको थियो । यो सहुलियत दर ऋणको सम्झौताअन्तर्गत नेपालले १ दशमलव ७५ प्रतिशत ब्याजमा ऋण पाउनेछ । २० वर्षभित्र तिरिसक्नुपर्ने उक्त ऋणको अवधि नाघे ५ वर्षसम्म थप्न सकिने व्यवस्था छ । 
यस्तै गलगाँड नियन्त्रण कार्यक्रमका लागि अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । भारतका तर्फबाट विदेशसचिव रञ्जन मठाईं र नेपालका तर्फबाट आपूर्तिसचिव पुरुषोत्तम ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
समझदारीअनुसार भारतले गलगाँड नियन्त्रणका लागि ३ करोड नेपाली रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । त्यसमातहत दुर्गम भनेर मानिएका नेपालका २२ जिल्लामा केन्दि्रत रहेर आयोडिनयुक्त नुन भारतबाट ल्याइनेछ । यसअघि १९७३ देखि २०१० सम्ममा भारतले गलगाँड नियन्त्रणका लागि ४१ करोड भारतीय रुपैयाँ र आयोडिनको कमीका कारण हुने समस्या समाधानका लागि अनुदान दिएको थियो ।
सोनियासँग भएन भेट
प्रधानमन्त्री भट्टराईले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू गरे पनि सत्तारूढ युनाइटेड प्रोगेसिभ एलायन्स यूपीएकी अध्यक्ष सोनिया गान्धीसँग भने भेट भएन । यसअघि तयार पारिएको प्रधानमन्त्रीको भेटवार्ता सूचीमा उनको नाम उल्लेख गरिए पनि भेटबारे निक्र्याेल भने भएको थिएन । बिहीबार राति तयार पारिएको अर्काे भेटवार्ता सूचीबाट भने उनको नाम हटाइएको थियो । भारतीय अधिकारीहरूले गान्धीको स्वास्थ्य अवस्था सन्तोषजनक नरहेकाले भेटघाट तय नगरिएको जानकारी दिएका छन् ।
दिनभर भेटमा व्यस्त प्रधानमन्त्री भट्टराई दिनभरजसो महत्त्वपूर्ण भेटघाटमा व्यस्त भए । उनलाई भेट्न बिहान इन्डो नेपाल पार्लियामेन्टरी फ्रेन्डसिप ग्रुपका अध्यक्ष जयप्रकाश अग्रवाल प्रधानमन्त्री बसेको होटल लीला पुगे । त्यसपछि भारतीय विदेशमन्त्री एसएम कृष्णाले प्रधानमन्त्रीसँग भेटेका थिए । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृष्णाले छलफल अत्यन्तै फलदायी भएको टिप्पणी गरे ।
'मैले खासगरी द्विपक्षीय सम्बन्धबारे भारतको गहिरो चासो प्रधानमन्त्रीसमक्ष राखें । भारत नेपालसँग अत्यन्तै सुमधुर सम्बन्ध चाहन्छ,' उनले भने ।
नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन आफ्नो सीमाभित्र बसी भारतले सहयोग गर्ने बताए । 'नेपालका दलहरूको सहजतालाई ध्यानमा राखी भारतले शान्ति प्रक्रिया र संविधान निर्माणमा सघाउनेछ,' उनले भने ।
त्यसपछि भट्टराईले भारतीय राष्ट्रपति प्रतिभादेवी सिंह पाटिललाई राष्ट्रपति भवनमा भेटे । लगत्तै भारतीय व्यवसायीहरूका अग्रणी संगठनहरूले होटल लीलामा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भए । प्रधानमन्त्रीले भारतीय उपराष्ट्रपति हमिद अन्सारीसँग पनि शुक्रबारै भेट गरे । 
भारतका प्रभावशाली नेता एवं अर्थमन्त्री प्रणव मुखर्जीले भने भट्टराईसँग भेट्न साँझ होटल लीला पुगेका थिए । त्यसअघि भट्टराईलाई लोकसभामा विपक्षी दलकी नेतृ सुष्मा स्वाराजले भेटेकी थिइन् । भेटमा उनले नेपालमा स्थायित्व आएको भारतले हेर्न चाहेको धारणा प्रधानमन्त्रीसमक्ष राखेको सञ्चारकर्मीहरूलाई जानकारी दिइन् । ती भेटघाट सकिएपछि भारतीय समकक्षी सिंहसँग भेटवार्ताका लागि भट्टराई हैदरावाद हाउस पुगेका थिए । त्यसलगत्तै दुई मुलुकका टोलीबीच भएको छलफलपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सिंहले भट्टराईको सम्मानमा हैदरावाद हाउसमै रात्रिभोजको आयोजना गरे । त्यहाँबाट होटल र्फकेपछि उनलाई भेट्न विपक्षी दल भारतीय जनता पार्टीका अध्यक्ष नीतिन गड्करी पुगेका थिए ।
शनिबार पनि महत्त्वपूर्ण भेटघाट
शनिबार पनि प्रधानमन्त्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिनेछन् । उनी बसेकै होटलमा भेट्न भारतीय गृहमन्त्री पी चिदम्बरम् र रक्षामन्त्री एके एन्टोनी बिहान पुग्नेछन् । आफूले विद्यावारिधि उपाधि लिएको जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । साँझ भने जनता दल युनाइटेडका अध्यक्ष तथा विपक्षी गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्सका संयोजक शरद यादवले भट्टराईको सम्मानमा सेभेन तुलगक रोडस्थित आफ्नै निवासमा कार्यक्रम राखेका छन् । त्यसपछि नेपाली दूतावासले रिसेप्सनको आयोजना गर्नेछ ।
भ्रमणको अन्तिम दिन आइतबार भने देहरादुन पुगेर विशेष आर्थिक क्षेत्रको अवलोकनपछि प्रधानमन्त्री नयाँदिल्ली हुँदै स्वदेश र्फकनेछन् ।

कोई टिप्पणी नहीं: