शनिवार, 22 अक्टूबर 2011

१९५० सन्धि समीक्षाका लागि समूह गठन गर्न प्रम भट्टराईको प्रस्ताव

नयाँ दिल्ली, कात्तिक ५ (नागरिक) - प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय समकक्षी मनमोहन सिंहसँगको भेटवार्तामा सन् १९५० को सन्धि लगायत समग्र नेपाल-भारत सम्बन्धमाथि समीक्षा गर्न दुई देशका विशिष्ट व्यक्तिहरूको समूह गठन गर्ने प्रस्ताव राखेका छन्। 'प्रधानमन्त्रीले सन् १९५० को सन्धि लगायत दुई देशबीच भएका सबै सन्धिहरू समीक्षा गर्न, अन्य विवादका विषयहरू सुल्झाउन र अहिलेको द्विपक्षीय संयन्त्रबारे समीक्षा गर्न छुट्टै समूह गठनको प्रस्ताव गर्नुभयो,' भ्रमण टोलीका सदस्य स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नागरिकसँग भने।
बैठकमा सामेल स्रोतका अनुसार भारतीय प्रधानमन्त्री सिंहले नेपालको शान्ति प्रक्रियामा सघाउ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुका साथै संविधान लेखन छिटै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे। तर, उनले सीमा सुरक्षाको विषयमा आफ्नो चासो व्यक्त गरेको स्रोतले जानकारी दियो।
हैदरावाद हाउसमा भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले भ्रमणका क्रममा भएका छलफलहरूले दुई देशबीच समझदारी बढाउन सहयोग पुर्‍याउने बताए।

सोनियासँग भेट भएन
प्रधानमन्त्री बाबुराम भट्टराई र सत्तारुढ संयुक्त प्रगतिशील गठबन्धन (युपिए) की अध्यक्ष सोनिया गान्धीबीच शुक्रबार हुने भनिएको भेटवार्ता रद्द भयो।
विदेश मन्त्रालय स्रोतहरूले स्वास्थ्यका कारण उनी प्रधानमन्त्रीसँग भेट्न असमर्थ भएको बताए। गान्धीले केही समययता विदेशी पाहुनासँग भेटेकी छैनन्। गत साता भियतनामका राष्ट्रपति र त्यसअघिको साता म्यानमारका राष्ट्रपतिसँग पनि उनले भेटेकी थिइनन्।

कोई टिप्पणी नहीं: