मंगलवार, 25 अक्तूबर 2011

महँगा भए खानेकुरा, सरकारी अनुगमन शून्य

विष्णु पोखरेल, काठमाडौं, कात्तिक ८- धेरैजसो उपभोग्य वस्तुमा व्यवसायीले आपसी मिलेमतोमा कृत्रिम भाउ बढाएका छन्। यातायात सिन्डिकेटका कारण ढुवानी भाडा वृद्धि हुँदा पनि कतिपय वस्तुको मूल्य आकासिएको छ तिहारको मुखमा खाद्यान्न, चिनी, मरमसला लगायत सबैजसो उपभोग्य वस्तुमा उच्च मूल्य वृद्धि भएको छ।
बढी उपभोग हुने चाडपर्वका समयमा बजार भाउ ह्वात्तै बढ्दा सीमित आम्दानी भएका उपभोक्ता प्रभावित भएका छन्।
धेरैजसो उपभोग्य वस्तुमा व्यवसायीले दसैंतिहारको मौका छोपेर आपसी मिलेमतोमा कृत्रिम भाउ बढाएका छन्। यातायात सिन्डिकेटका कारण ढुवानी भाडा वृद्धि हुँदा पनि कतिपय वस्तुको मूल्य आकासिएको छ।
दसैंअघि बजार अनुगमनमा सक्रिय देखिएको जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको टोलीले व्यावसायिक गुटबन्दीका कारण भएको मूल्यवृद्धि रोक्न सकेको छैन।
आम्दानी सीमित छ भने यसपटक तिहारमा गुलियो चिनीको मूल्यले मन तितो बनाउने छ। एक महिनायता एक किलो चिनीको भाउ १० रुपैयाँ बढेको छ। राजधानीका खुद्रा बजारमा एक महिनाअघि ६५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी ७५ सम्म पुगेको छ।
चिनीमात्र होइन, चामल, दाल, गेडागुडी, आलु लगायत दैनिक उपभोग्य वस्तुहरू पछिल्लो एक महिनाभित्र किलोमा ३ देखि २० रुपैयाँसम्म महँगा भएका छन्। खानेतेल प्रतिलिटर ७/८ रुपैयाँ महँगिएको छ। एक महिनामा चनाको भाउ प्रतिकिलो २० रुपैयाँ बढेको छ।
कम समयमै यति उच्च दरमा मूल्य बढ्नुको कारण के त?
आयातकर्ता, थोक र खुद्रा बिक्रेताहरू एकअर्कालाई दोष दिन्छन्।
चाडबाडमा माग बढेपछि थोक बिक्रेताले त्यसैलाई आधार मानेर भाउ बढाएको खुद्रा बिक्रेताको आरोप छ। थोक बिक्रेता भने ढुवानी भाडावृद्धि र चोरी पैठारीमा कडाइ गरिएकाले बजार भाउ बढेको दाबी गर्छन्।
नेपाल चेम्बर अफ कमर्सका सचिव देवेन्द्रभक्त श्रेष्ठले साउनमा ढुवानी भाडा वृद्धि भएपछि राजधानीमा मूल्यवृद्धि भएको बताए। 'ढुवानी व्यवसायीको सिन्डिकेटले लागत बढ्न गई मूल्यवृद्धि भएको हो,' थोक बिक्रेतासमेत रहेका श्रेष्ठले सोमबार नागरिकसँग भने, 'सिन्डिकेटका कारण भनेको समयमा माल ढुवानी गर्न सवारी साधन पाइरहेका छैनौं, यसले व्यापार लागत बढेको छ।'
नागरिकले नेपाल खुद्रा व्यापार संघ, वाणिज्य विभाग र विभिन्न ठाउँका पसलबाट संकलन गरेको मूल्यअनुसार एक महिनायता गेडागुडीको भाउ सबभन्दा धेरै बढेको छ। चिनी, खानेतेल र चामलको पनि मूल्यवृद्धि भएको छ।
कोटेश्वरको भ्यालु मार्टका सञ्चालक पुरुषोत्तम ज्ञवालीका अनुसार सबैखाले चामलको भाउ प्रतिकिलो ३ देखि ५ रुपैयाँ बढेको छ। 'थोक बिक्रेताले नै महँगोमा बेचेपछि हामीले बढाउनै पर्‍यो,' उनले भने।
मिल सञ्चालकहरूले भने पुरानो चामलको मात्र भाउ बढेको जानकारी दिएका छन्। 'पुरानो चामलको भाउ किलोमा २० पैसादेखि १ रुपैयाँसम्म बढेको छ,' भैरहवाको आरके एग्रेनका सञ्चालक अशोक जैसवालले भने, 'पुरानो चामल गुणस्तरीय हुने भएकाले सधैं बढ्ने गर्छ।'
यस अवधिमा चनाको भाउ तीन/चार पटक बढिसकेको छ। नेपाली चनाले अपुग हुँदा वर्षेनी भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने व्यवसायीहरू बताउँछन्। नेपालमा भारत हुँदै अस्ट्रेलियाबाट चना आउँछ। 'यसपालि अस्ट्रेलियाली चना नआउँदा अभाव भई भाउ बढेको हो,' कुलेश्वरको न्यु आशिष इन्टरनेसनलका सञ्चालक प्रमोद महेश्वरीले भने, 'नेपाली चनाले यहाँको मागै थेग्दैन।'
कोटेश्वरको भूमि खाद्य सप्लायर्सका प्रोप्राइटर सन्तोष गौतमका अनुसार अस्ट्रेलियाली चना नआएपछि व्यवसायीहरूले इजिप्टबाट ल्याइरहेका छन्। इजिप्टको चनाको भाउ पनि पहिलेभन्दा ह्वात्तै बढेको गौतमले बताए। 'चनाको थोक मूल्य नै ८५ रुपैयाँ किलोभन्दा माथि छ,' उनले भने, 'ठाउँअनुसार खुद्रा मूल्य ९५ रुपैयाँ किलोसम्म पुगिसक्यो।'
व्यवसायीहरूका अनुसार भाउ बढ्नुको अर्को कारण अनुगमनको डर पनि हो। आयातकर्ता र थोक व्यापारीले अनुगमनको डरले पर्याप्त सामान बिक्री नगरेको गौतमले जानकारी दिए।
सिन्डिकेटले वीरगन्ज, भैरहवाको भाडा महँगो
ढुवानी व्यवसायीको सिन्डिकेटका कारण वीरगन्ज र भैरहवाबाट राजधानी भित्रिने सामान महँगो पर्ने गरेको छ। ढुवानी व्यवसायीहरूले सिन्डिकेटका नाममा जोर-बिजोर प्रणाली लागु गरेका छन् भने ढुवानी भाडा पनि वृद्धि गरेका छन्। राजधानीमा भारत तथा तेस्रो मुलुकबाट आउने अधिकांश उपभोग्य वस्तु यिनै नाका हुँदै भित्रन्छन्।
कपिलवस्तुको चन्द्रौटादेखि सर्लाहीसम्म ढुवानी व्यवसायीले जोर-बिजोर प्रणालीका नाममा सिन्डिकेट कायम गरेका छन्। यो प्रणालीमा सबै व्यवसायीले एकै दिन सवारी चलाउन पाउँदैनन्। आलोपालो गरेर चलाउनुपर्छ। यसरी चलाउँदा एउटा सवारीधनीको दुई सातामा मात्र पालो आउँछ। सरकारले पटकपटक यातायात सिन्डिकेटलाई गैरकानुनी घोषणा गरे पनि विभिन्न यातायात व्यवसायी संगठनका नाममा सिन्डिकेट जारी छ।
ट्रक व्यवसायीहरूको छाता संस्था नेपाल ट्रक तथा ट्यांकर व्यवसायी महासंघको सिन्डिकेटका कारण स्वतन्त्र रूपमा सवारी साधन चलाउन नपाएको गुनासो सम्बन्धित व्यवसायीहरूले नै गरेका छन्।
'हामीले आफ्नो लगानीअनुसार प्रतिफल लिन पाएका छैनौं,' भैरहवाका एक व्यवसायीले नागरिकसँग टेलिफोनमा भने, 'समितिको नाममा भएको दादागिरीले हाम्रौ गाडीको पालो दुई सातामा बल्ल एकचोटि आउँछ।'
महासंघले हालै भैरहवा र वीरगन्जबाट राजधानीसम्मको ढुवानी भाडा पनि वृद्धि गरेको छ। सरकारको सहमतिबिनै महासंघले भाडा बढाएको हो। वीरगन्ज वा भैरहवाबाट १ किलो सामान राजधानी ल्याउँदा व्यवसायीले १ रुपैयाँ ८० पैसा तिर्नुपर्छ। दुई महिना अघिसम्म यस्तो भाडा किलोको १ रुपैयाँ ६० पैसा थियो। सरकारले तोकेको भाडादर पनि यही हो।
'सरकारले डिजेलको भाउ ५८ रुपैयाँ लिटर हुँदा तोकेको भाडा हो यो,' महासंघका अध्यक्ष अर्जुन रानाभाटले भने, 'अहिले बढेर ७६ रुपैयाँ पुगिसक्यो, हामीले बाध्य भएर भाडा बढाएका हौं।'
राजधानीका बिक्रेताहरू भने सिन्डिकेटकै कारण यस क्षेत्रको ढुवानी भाडा बढी भएको बताउँछन्। सिन्डिकेट भएका रूटको तुलनामा नभएका क्षेत्रको ढुवानी भाडा कम हुनुले उनीहरूको भनाइ पुष्टि गर्छ।
भैरहवाबाट काठमाडौंको दुरी करिब २ सय ८० किलोमिटर छ। यहाँ महासंघले प्रतिकिलो १ रुपैयाँ ८० पैसा भाडा तोकेको छ। तर, विराटनगरबाट काठमाडौंको दुरी भैरहवाको भन्दा झन्डै दोब्बर (५ सय ५० किलोमिटर) छ। यहाँको भाडा पनि प्रतिकिलो १ रुपैयाँ ८० पैसा नै छ। करिब ६ सय ५० किलोमिटरको धनगढी-काठमाडौंको भाडा पनि प्रतिकिलो २ रुपैयाँ पर्छ।
पूर्व र पश्चिम रूटको दाँजोमा वीरगन्ज र भैरहवाको भाडा महँगो छ। चन्द्रौटाभन्दा पश्चिम र सर्लाहीबाट पूर्व ढुवानी व्यवसायीहरूले स्वतन्त्र रूपमा सवारी चलाउन दिएका छन्। वीरगन्ज र भैरहवा रूटमा भने त्यहीँका ढुवानी व्यवसायीको हालिमुहाली छ।
महासंघका अध्यक्ष रानाभाट भने वीरगन्ज र भैरहवाबाट आउने ट्रकले काठमाडौंबाट फर्कंदा ढुवानी सामान नपाउने भएकाले भाडा महँगो बनाउनुपरेको दाबी गर्छन्। 'अन्तकाले फर्कंदा पनि सामान लान पाउँछन्,' उनले भने, 'यहाँकाले पाउँदैनन्, अनि बढी भाडा नलिएर के गर्नु?'

कोई टिप्पणी नहीं: