मंगलवार, 18 अक्टूबर 2011

कतार टेलिकमबाट रेमिटेन्स पठाउन सकिने

रामचन्द्र भट्ट, काठमाडौं, कात्तिक १ - खाडी मुलुक कतारमा रहेका नेपालीले आफन्त वा परिवारलाई कतार टेलिकममार्फत रकम पठाउन सक्ने भएका छन्। कतार टेलिकम (क्युटेल) ले सञ्चालन गरेको 'क्युटेल मोबाइल मनी' नामको सेवामार्फत नेपालीलाई स्वदेशमा रकम पठाउन संभव भएको हो।
अहिले विभिन्न मनी ट्रान्सफर कम्पनी वा हुन्डीमार्फत् रकम पठाउने गरिएको छ। यो प्रणालीमार्फत् क्युटेलको सेवा केन्द्रमा गई रकम जम्मा गरेपछि उसले रकम जम्मा गर्नेलाई एउटा पीन नम्बर उपलब्ध गराउँछ। नेपालमा रहेका परिवार वा आफन्तलाई उक्त पीन नम्बरबारे जानकारी दिएपछि कतार टेलिकमले नेपालमा तोकेको संस्थाबाट रकम पाउन सकिन्छ।
क्युटेलले नेपालीका लागि आउँदो तीन महिनाभित्र सेवा सुरु गर्ने घोषणा गरेको छ। 'हामी नेपालीका लागि मोबाइल बैंकिङ सुरु गर्दैछौं, यसबाट कतारमा काम गर्ने धेरै नेपालीहरुले नेपालमा सजिलोसँग पैसा पठाउन पाउनेछन्,' क्युटेलका अन्तर्राष्ट्रिय सेवा हेर्ने कार्यकारी निर्देशक अहमद युसुफ इब्राहिमले सोमबार काठमाडौंमा नागरिकसँग भने।
कतारमा अहिले साढे पाँचलाख नेपाली काम गर्छन्। क्युटेलले सेवा सुरु गरेपछि त्यहाँ काम गर्ने नेपालीले उनीहरुका आफन्तले पाउने गरि मोबाइलबाटै एसएमएस वा फोन गरेर पैसा पठाएको जानकारी दिन सक्नेछन्।
क्युटेल कतारमा मोबाइल र ल्याण्डलाइन टेलिफोन, उच्चगतिको इन्टरनेट सेवा सञ्चालन गरिरहेको कम्पनी हो। यसले मध्यपूर्ब र अफ्रिकाका १७ देशमा टेलिफोन कम्पनी सञ्चालन गरिरहेको छ। क्युटेलका ५ करोड ७५ लाख ग्राहक छन्। सन् २०२० सम्म अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट २० दूरसञ्चार कम्पनीमा सूचिकृत हुने लक्ष्य यसले लिएको छ।
क्युटेलले यस्तो सेवा अहिले फिलिपिन्स र पाकिस्तानमा दिइरहेको छ। कतारभरि रहेका क्युटेलका आउटलेट (सेवाकेन्द्र) मा गएर पठाउने रकम र कमिसन शुल्क तिरेपछि यो सेवाबाट रकम नेपालीले पठाउन सक्छन्।
क्युटेल फोनका उपभोक्ताले फिलिपिन्समा रकम पठाउँदा ग्लोबल (जी) क्यास आउटलेटबाट उनीहरुका आफन्त र परिवारले बुझ्न सक्छन्। पाकिस्तानमा भने क्युटेलबाट पठाइएको रकम हबिब बैंकको जुनसुकै शाखाबाट लिन सकिनेछ।
क्युटेलले सुरु गरेको यो सेवा प्रयोग गर्न आफ्नै नाममा मोबाइल वा ल्याण्डलाइन हुनुपर्छ। यो सेवाबाट कतारभित्रै पनि रकम ट्रान्सफर गर्न सकिन्छ। कतारमा काम गर्ने नेपालीले कतारमै रहेका साथीलाई आधा कतारी रियाल शुल्क तिरेर स्थानीय ट्रान्सफर गर्न सक्छन्।
नेपालीले त्यहाँबाट पठाएको रकम विदेशस्थित क्यास काउण्टरबाट भुक्तानी लिँदा १५ र मोबाइलबाट भुक्तानी लिँदा १२ रियाल चार्ज तिर्नुपर्छ। यो चार्ज क्युटेललेनै लिएर रकम ट्रान्सफर गर्ने व्यबस्था अहिले फिलिपिन्स र बंगलादेशी कामदारका लागि गरेको छ।
यो प्रणालीबाट मासिक २५ हजार कतारी रियाल पठाउन सकिने व्यबस्था गरिएको छ। दैनिक भने १० हजार रियालमात्र पठाउन सकिने गरि सीमा तोकिएको छ।
क्युटेलले बैंक जस्तै गरि रकम वचत गर्ने सुविधा पनि ल्याएको छ। आउटलेटमा गएर आफूले वचत गर्न चाहेको रकम राख्नसक्छन्। वचत गरेको रकम निकाल्न पर्दा क्युटेलकै आउटलेटमा जानुपर्छ।
क्युटेलले नेपालमा कुन संस्थाबाट रकम भुक्तानी दिने भन्ने तोकिसकेको छैन। फिलिपिन्समा रेमिट्यान्स कम्पनी जस्तै कम्पनीबाट रकम भुक्तानी दिइएको छ भने पाकिस्तानमा बैंकबाटै दिने व्यबस्था क्युटेलले गरेको छ।
नेपाल टेलिकमले आयोजना गरेको दुईदिने क्यारिएर सम्मेलनमा भाग लिन क्युटेलका दुई उच्च अधिकारीहरु अहिले काठमाडौंमा छन्। यो भ्रमणमा उनीहरुले उपयुक्त निकायसँग छलफल गरेर भुक्तानी माध्यम तय गर्ने संभावना छ। यस बारेमा भने कम्पनीका अधिकारीहरुले स्पष्ट बताउन चाहेनन्।

कोई टिप्पणी नहीं: