शनिवार, 15 अक्टूबर 2011

बैंक खातासहित पर्शुरामका सबै सम्पत्ति रोक्का, लामाको खाता रोक्का


बालकृष्ण ज्ञवाली/खिलानाथ ढकाल, काठमाडौं, असोज २८- 'राजनीतिक संरक्षणमा अवैध काम गरी अकुत सम्पत्ति जोडेको' आरोपमा सरकारले बन्दी र पत्रकार आक्रमणका फरार अभियुक्त पर्शुराम बस्नेतका बैंक खातासहित सबै सम्पत्ति रोक्का गरेको छ।
दुई महिनाअघि गठन भएको सम्पत्ति शुद्धीकरण निवारण विभागले अवैध सम्पत्ति जम्मा गरेको आरोपमा बस्नेतको नबिल र सिद्धार्थ बैंकमा रहेको खाता रोक्का गरेको हो। बस्नेतसँगै काभ्रेका डन गणेश लामाको पनि एनडिइपी विकास बैंकमा रहेको खाता रोक्का गरिएको छ।
विभागले अवैध सम्पत्ति जोडेको आशंकामा पर्शुराम र लामासँगै काठमाडांैका दीपक मनाङे र चक्रे मिलनको सम्पत्ति पनि खोजबिन गरिरहेको छ। यी चारै राजनीतिक नेताका संरक्षणमा व्यापारी र सर्वसाधारणसँग चन्दा उठाउने, चोरी र लुटपाट गर्ने, सरकारी ठेक्का बलजफ्ती लिनेजस्ता अवैध धन्दामा संलग्न छन्।

मनाङे र मिलनका नाममा भने अझै बैंक खाता फेला परेको छैन। विभागका एक अधिकारीका अनुसार यी चारैजना डनको सम्पत्ति रोक्का गर्न बैंक तथा वित्तीय संस्था, मालपोत, कम्पनी रजिस्ट्रारको कार्यालय, स्टक एक्सचेन्ज, यातायात कार्यालय लगायत सबै निकायमा पत्राचार गरिएको छ।
विभागले बैंक खाता रोक्का गर्न सिफारिस गरी राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। राष्ट्र बैंकले पनि सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएअनुसार नबिल र सिद्धार्थले खाता रोक्का गरेका हुन्।
विभाग स्रोतअनुसार सबै बैंकले अझै विवरण पठाएका छैनन्। उनीहरूको कुनकुन बैंकमा खाता छन्, सबै जानकारी आइसकेको छैन। बैंकहरूमा उनीहरूले ठूलो रकम नराखेको र उल्टै कर्जा लिएको देखिन्छ।
भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक जितबहादुर थापाले विभागको निर्देशनअनुरूप उनीहरूका नाममा रहेका अचल सम्पत्ति (घरजग्गा) पत्ता लगाई रोक्का गर्न सबै ८३ वटै मालपोत कार्यालयलाई पत्राचार गरेको जानकारी दिए। 'कुनकुन जिल्लामा सम्पत्ति फेला परेको छ, त्यो सबै विवरण आइपुगेको छैन,' उनले भने, 'फेला परे तत्काल रोक्का गरिनेछ।'
बन्दी अभिषेक गिरीलाई अदालत परिसरमै आक्रमण गरेको, नागरिककर्मी खिलानाथ ढकाललाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको घटनाका मुख्य अभियुक्त पर्शुराममाथि मोरङ अदालतमा ज्यान मार्ने उद्योग तथा हतियार खरखजाना मुद्दा चलिरहेको छ।
प्रहरी अनुसन्धानअनुसार पर्शुरामका नाममा विभिन्न मोडलका मोटरसाइकल, कार र जिप गरी झन्डै एक सयवटा सवारीसाधन फेला परेका छन्। हुन्डाईको टक्सन गाडी प्रयोग गर्ने उनले दुई पत्नीका लागि एकएक कार किनिदिएका छन्। पर्शुरामको विराटनगर- १६ पाचाले टोलमा अत्याधुनिक बंगला रहेको र विराटनगरमै मुकेश बुढाथोकीको नाममा अर्को घर पनि फेला परेको छ।
विभागका एक कर्मचारीका अनुसार पर्शुरामका पिता गोपालबहादुर बस्नेतको नाममा रहेको सम्पत्तिसमेत रोक्का गर्न निर्देशन दिइएको छ।
लामो समयदेखि राजनीतिक नेताको संरक्षण लिएर आपराधिक कार्यमा संलग्न डनहरूलाई प्रहरीले समेत आवश्यक कारबाही गर्न नसकेको अवस्थामा विभागले हात हालेको छ । विगतमा यिनीहरूलाई कारबाही गर्न खोजिए पनि नेताहरूको दबाबमा रोकिने गरेका थिए।
'अनुसन्धान सुरु गर्दा नै अनेकौँ ठाउँबाट दबाब आएका छन्, तर कारबाही प्रक्रिया रोकिएको छैन,' यही मुद्दा हेरिरहेका विभागका एक अधिकारीले भने, 'अर्थमन्त्री र सचिवको समर्थनसँगै महानिर्देशकको अडानले काम गर्न सजिलो भएको छ।'
विभागका महानिर्देशक खुमराज पुञ्जालीले यसबारे केही बताउन चाहेनन्। उनले विभागको कामै अवैध रूपमा सम्पत्ति जोडेकालाई कारबाहीको दायरामा ल्याउनु रहेकाले त्यसैअनुरूप काम अगाडि बढिरहेको बताए। उनले कसैको डरधम्की र दबाबले कारबाही प्रक्रिया नरोकिने पनि जनाए।
अर्थसचिव कृष्णहरि बास्कोटाले पर्शुरामलगायत व्यक्तिको अवैध सम्पत्ति खोजी कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको जानकारी दिए।
'अवैध रूपमा सम्पत्ति जोड्ने जोसुकैलाई पनि कारबाही गर्न अर्थ मन्त्रालय पछि पर्नेछैन,' उनले भने, 'शुद्धीकरण विभाग गठन भएकै यस्तैलाई कारबाहीको दायरामा ल्याउन हो।
गत साउन २० मा विभाग गठन भएको हो। चारपाँचजना मात्र अनुसन्धान अधिकृत रहेकाले विभागले नयाँ नयाँ मुद्दा हेर्न भ्याएको छैन। विभागले हेर्न लागेको यो पहिलो ठूलो मुद्दा हो।
यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले संगठित अपराधमा संलग्न सातभन्दा बढी व्यक्तिको सम्पत्ति विवरण संकलन गरेको थियो। आपराधिक गतिविधिबाट संकलित रकमको विवरण संकलन गरी सम्पत्ति शुद्धीकरण निवारण निवारण ऐनअर्न्तगत कारबाही गर्न प्रहरीले मनाङे, चक्रे मिलन, दिनेश अधिकारी (चरी), कुमार घैंटे, लुमडी कार्की, रोज राणा, काजी शेर्पा, विष्णु लामा र राजु गोर्खालीको सम्पत्तिको खोजी गरेको थियो।
दोलखाका पर्शुराम मोरङ आउँदा खलासीको हैसियतमा थिए। पछि, एमाले निकट युथफोर्समा आबद्ध भएपछि उनले अवैध धन्दाबाट आर्थिक लुट नै मच्चाउन थाले।
पर्शुराम करिब एक करोड पर्ने टक्सन गाडी चढ्छन् भने सहयोगीलाई उनले दुई सयवटा पल्सर मोटरसाइकल किनिदिएका छन्। उनले कहाँ, कति सम्पत्ति जोडेको र कुनकुन बैंकमार्फत कारोबार गरेको नखुले पनि आफू र सहयोगीका नाममा अकुत सम्पत्ति जोडजाम गरेको स्रोतले बताएको छ।
स्रोतका अनुसार उनका विराटनगर- १५ मा २ करोड पर्ने दुईवटा घर छन्। सोही स्थानमा उनको करिब २ करोड पर्ने होडिङ बोर्डको फ्याक्ट्री छ। किरणसिंह बस्नेतको झुल फ्याक्ट्रीमा पनि उनको शेयर रहेको स्रोतले बतायो।
त्यसैगरी, उनका निकट सहयोगी विकास चौधरीको फुटवेयर पसल र हालसालै महेन्द्र चोकमा खुलेको नेपाल बजारमा पनि उनको सेयर रहेको बताइन्छ। 'यस्ता धेरै ठाउँमा उनको सेयर छ', एमाले स्रोतले भन्यो, 'फरार भएपछि कतिपय सम्पत्ति श्रीमती अञ्जु सिंहले बेचबिखन पनि गरेको सुनिन्छ।'
गत जेठ १८ गते जिल्ला अदालत मोरङमा पेसीका लागि ल्याइएका बन्दी अभिषेक गिरीमाथि अदालत परिसरमै संघातिक आक्रमण गरेपछि फरार रहेका बस्नेतलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन। अदालतले जारी गरेको ७० दिनको म्यादी पुर्जी गुज्रिसके पनि उनी अदालत उपस्थित भएका छैनन्।

कसको कति सम्पत्ति ?
लामा
• अचल पुँजी ५० करोडमाथि।
• उपत्यकामा चारवटा घर, ३४ आना जग्गा।
• बैंक मौज्दात र लगानी विवरण खुल्न बाँकी
• मासिक आम्दानी दुई लाख ५० हजार
• मेलम्बी एकोन क्रसरप्लानमा ६ करोडबराबर सेयर
• नयाँबजारस्थित होटल गार्डेनमा लगानी,
• क वर्गको सिरुवा कन्ट्रक्सन प्रालिमा आफू, बाबु र भाइको नाममा करिब १० करोडको सेयर
• मेट्रो सहकारी, इन्फास्टक्चर डेभलपमेन्ट बैंकलगायतका लगानी
• २ वटा एक्जाभेटर, एउटा लोडर, चारवटा टिपर र बा ३ च ३३७३ नम्बरको ल्यान्डक्रुजर, बा २ च ९५७५ नम्बरको भि४४ र बा ५ च २७१० काृ टोयोटा यारिस
• भक्तपुरमा ६ रोपनी खेत

मनाङे
• करिब २० करोडको सम्पत्ति
• घरजग्गा, ५०औं रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रान्सपोर्ट र हङकङमा लगानी
• ठमेलमा श्रीमतीको नाममा २५ आना जग्गा र तीन तले घर
• ठमेलमै ट्राभल्स, विरगञ्ज ट्रान्सपोर्टमा गाडीहरू
• थानकोटमा ढुंगाखानी
• स्वयम्भू क्षेत्रमा जग्गा र हङकङमा समेत सम्पत्ति

कोई टिप्पणी नहीं: