मंगलवार, 18 अक्टूबर 2011

तराईका २२ जिल्ला मधेसी दलको ठेक्का होइन : माओवादी नेता

कमल थापा, रुकुम, कात्तिक १- पूर्व स्वास्थ्य मन्त्री एवम् एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्ट मगरले तराईका २२ जिल्ला मधेसवादी दलको ठेक्का नभएको बताएका छन्। उनले मन्त्री भण्डारीले तत्काल राजीनामा दिनुपर्ने पनि बताए। केही दिनपहिले रक्षा मन्त्री शरदसिंह भण्डारीले दिएका तराईका २२ जिल्ला अलग हुन सक्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै माओवादी नेता बिष्ट मगरले २२ जिल्ला मधेसवादीको मात्र नभई पहाडी र हिमालीको पनि तराई भएको बताए। रुकुम सदरमुकाम खलङ्गामा नेपाल पत्रकार महासङ्घ रुकुमले गरेको पत्रकार सम्मेलनमा माओवादी उनले मधेसी जनताका लागि बलिदानी गर्न तयार रहेको पनि बताए।

'हामीलाई पनि मधेसको माया र त्याग छ, मधेसका लागि हामी जस्तोसुकै बलिदान गर्न तयार छौं तर देश टुक्राउन पाइँदैन’- उनले भने। रक्षा मन्त्री भण्डारीले सनकको भरमा राष्टियताप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएकाले पद त्याग गर्नुपर्ने पनि उनको भनाई थियो। 'विवादित २ मन्त्रीमध्ये हाम्रो पार्टीका मन्त्री प्रभु साहले राजीनामा दिनुभएको छ, रक्षा मन्त्रीले पनि तत्काल राजीनामा दिनुपर्छ’- उनले थपे।

पार्टीभित्र केही विवाद भएको स्वीकार गर्दै नेता बिष्ट मगरले ती केही विवाद केन्द्रीय कमिटीको बैठकबाट समाधान हुने बताए। 'किरणजीहरुले दबाबका लागि छुट्टै भेला बोलाएका हुन, तर तत्कालका लागि सबै भेला स्थगित गरेका हौं।’ पार्टीमा देखिएको विवादलाई धुलो पारी पानीमा घोलेर पिएपछि समाधान हुने उनले बताए। 'पार्टीको विवाद महाधिवेशनमा लगिन्छ, धुलो पारिन्छ, पानीमा घोलेर पिइन्छ, त्यसपछि सबै नेताको होस आउँछ’, उनले भने- सेना समायोजनमा ६ हजार लडाका पर्छन्। कङ्ग्रेस, माओवादी र एमालेले भनेजस्तो नभई सबैको मिलनविन्दु ६ हजार हुने उनको भनाई थियो।

कोई टिप्पणी नहीं: