शनिवार, 22 अक्टूबर 2011

सभापतिले पार्टीभित्र विकसित भइरहेको एकताको भावनामाथि बञ्चरो प्रहार गरे : देउवा

अजित तिवारी, विराटनगर, कात्तिक ५- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भातृ संगठन बिघटन गरेर सभापति सुशील कोइरालाले ‘पार्टीभित्र विकसित भइरहेको एकताको भावना' माथि बञ्चरो प्रहार गरेको बताएका छन्। उनले सधैं आफूलाई पेल्ने काममात्र गरेको आरोप लगाउँदै सभापतिको पेलाई सहन नसकेर कार्यकर्तामाझ आएको बताए। ‘पार्टीमा मलाई सधैं पेल्छ, कति सहनु'- मोरङ कांग्रेस कार्यालय विराटनगरमा शनिबार आयोजित कार्यकर्ता भेलामा बोल्दै देउवाले भने, ‘सभापतिको पेलाई सहन नसकेर तपाईँहरु (कार्यकर्ता)माझ आएको हुँ।' कोइराला पक्षको गढ मानिएको विराटनगरमा नेता देउवाले आफ्नो चाहना पार्टी फुटाउने नरहेको समेत बताए।

‘म राजा, माओवादी र गिरिजाबाबुसँग त डराइन'- उनले भने, ‘अहिलेकाले देखाएको डरले म बिच्चलित हुन्न।' भातृ संगठन बिघटन गरेर पार्टी सभापति कोइरालाले महाधिवेशपछि देशभरिका कांग्रेसीमा पैदा भएको एकताको भावनामा चोट पुर्‍याएको देउवाको भनाई छ। ‘माओवादीसँग मिल्ने सभापतिले आफ्नै पार्टीको भातृ संगठनका सभापतिहरुसँग किन मिल्न नसकेका'- देउवाले भने, ‘भातृ संगठन बिघटन गरेर सभापतिले पार्टीको उचाई र साख झार्ने काम गरेका छन्।'
पार्टी एकताको जिम्मेवारी पूरा आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउने देउवाले पार्टी सभापति भने कानमा तेल हालेर सुतेको आरोप लगाए। ‘अनसनमा बसेका कार्यकर्ताहरु भोखै मर्न लागेको बेला पनि सभापतिले ध्यान दिएन'- देउवाले भने, ‘केन्द्रीय सदस्यबाट राजीनामा गरेर जुस खुवाएर अनसन तोडाए, तर सभापति केही नभएजस्तो गरे।' उपसभापति र महामन्त्री मनोनयन गर्नेक्रममा पार्टी सभापतिसँग भएको सम्झौतामा भातृ संगठन विघटन नगर्ने सहमति भएको देउवाले दाबी गरे।
‘पार्टीमा जसलाई जे मन लाग्छ, त्यो निर्णय गर्न पाइँदैन'- देउवाले भने, ‘म चुपचाप जेसुकै निर्णय स्वीकार्दिन।' पार्टी सभापति कोइरालाले भातृ संगठनको पद खोसेर विवाद गर्ने काम गरेको उनको आरोप छ।

कोई टिप्पणी नहीं: