मंगलवार, 18 अक्टूबर 2011

१० कक्षा, १६ शिक्षक, २२ विद्यार्थी

बारा , कार्तिक १ - बाराको एक माध्यमिक बिद्यालयमा जम्मा २२ जना बिद्यार्थी अध्ययनरत रहेको खुलेको छ । बारा सदरमुकाम कलैया ३ स्थित श्री सिद्घेशवर संस्कृत माध्यमिक बिद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म जम्मा २२ जना विद्यार्थी अध्ययनरत छन् ।
बिद्यालय सुधार टोल समितिका संयोजक मुक्तिनाथ तिवारीको नेतृत्वमा गएको एक टोलीले बिद्यालयको स्थलगत अनुगमन निरीक्षण गरेपछि बिद्यार्थी संख्याको रहस्य बाहिर आएको हो ।
बिद्यालयमा कक्षा १ मा ५ जना, कक्षा २ मा ३ जना, कक्षा ३ मा २ जना,  कक्षा ४ मा ४ जना,  कक्षा ५ मा ३ जना, कक्षा ६ मा २ जना, कक्षा ७ मा दुई जना, कक्षा ८ मा शुन्य, कक्षा ९ मा १ जना, कक्षा १० मा दुई जना बिद्यार्थीहरु अध्ययनरत रहेको संयोजक तिवारीले जनाएका छन् ।
निरीक्षणको क्रममा बिद्यालयको दर्ता पुस्तिकामा जम्मा १ सय ५६ जना बिद्यार्थीको नाम उल्लेख रहेको उनले बताए । बिद्यालयमा १६ जना शिक्षकको दरबन्दी रहेको छ । कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखी छुटाछुटै शिक्षकले अध्यापन गराउने गरेको पाइएको तिवारीले बताएका छन ।
संस्कृत विद्यालयको नामले सञ्चालन भएको कारण उक्त विद्यालयमा यस्तो समस्या आएका बाराका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताए । उक्त विद्यालयमा पनि संस्कृत विषयलाई अनिवार्य नगरी ऐच्छिक विषयको रुपमा राखे विद्यालयमा विद्यार्थीको संख्या बढ्न सक्ने उनले बताए ।
'नजिकै रहेको श्री ३ चन्द उच्च माविमा विद्यार्थी खचाखच छन् र त्यहाँ विद्यार्थीलाई बस्न कक्षा कोठाको अभाव छ तर सिद्धेश्वर माविमा किन विद्यार्थी जादैनन् सोच्ने विषय छ,' स्थानिय केदार शर्माले ईकान्तिपुरसँग भने ।

कोई टिप्पणी नहीं: