रविवार, 16 अक्टूबर 2011

ग्लोटेकले ६ महिनामै ३० मेगावाट बिजुली निकाल्ने

काठमाडौं, असोज २९ (नागरिक)- पावर हाउस बिना खोलामै टर्बाइन राखेर बिजुली उत्पादन गर्ने प्रविधिबाट ग्लोटेक इनर्जीले एक वर्षभित्र ३० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ।
'ओपन रिभर टर्बाइन' प्रविधिको नामले चिनिएको यसबाट सुनकोसी, भेरी, त्रिशुली नदीमा बिजुली निकाल्न विद्युत विकास विभागमा लाइसेन्स आवेदन दिएको छ। नेदरल्यान्डको टोकार्डो बिभी इन्टरनेसनल र नेपाली ग्लोटेक इनर्जी मिलेर एक वर्षभित्र ३० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको ग्लोटेक सोलुसनका अध्यक्ष डिबी शेरचनले बताए।
यो प्रविधि अन्तर्गत खोलाको दुई किनारामा बलियो संरचना निर्माण गरेर फलामे डोरी राखिन्छ। फलामे डोरीमा टबाईन झुन्ड्याएर सिधै बिजुली उत्पादन हुन्छ। प्राविधिकका अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्न कर्णाली, सेती, त्रिशुली, भोटेकोसी, मर्स्याङदी नदी उपयुक्त देखिएको यसको अध्ययनको लागि आएका टोकार्डोका प्रबन्ध निर्देशक हान्सभान ब्रेगुलले केही महिनाअघि नागरिकसँग बताएका थिए।
मन्त्रिपरिषदको गत असोज १४ गते बसेको बैठकले यो प्रविधिबाट बिजुली निकाल्न ग्लोटेकलाई सहमति दिएको हो। 'यसबाट सबैभन्दा छिटो जलविद्युत निकालेर प्रसारणमा लैजान सकिन्छ,' अध्यक्ष शेरचनले भने।
बिजुलीको पावरहाउसबाट जाने पानी (टेलरेस) मा समेत टोकार्डोको खुल्ला टर्बाइन राखेर बिजुली उत्पादन गर्न सकिन्छ। टर्बाइनलाई पानीले कुनै असर नगर्ने वाटरप्रुफ भएको र बाढीको समयमा समेत नबगाउने प्रविधि यसमा हुन्छ।
नदी प्रवाहमा आधारित विद्युतगृह बनाउँदा बढी समय र खर्च लाग्छ। बिना कुनै अवरोध काम हुन पाए यसबाट ६ महिनाभित्रै बिजुली उत्पादन गरेर वितरण गर्न सकिन्छ।
यो प्रविधिबाट सानासाना गाउँमा बिजुली बत्ति पुर्‍याउन सकिन्छ। यो बिजुलीलाई थि्रफेज लाइनबाट सिधै घरघरमा पुर्‍याउन र राष्ट्रिय प्रसारण लाइनबाट समेत विभिन्न स्थानमा पुर्‍याउन सकिन्छ।
अहिलेको नीति अनुसार जलविद्युत आयोजना बनाउन विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति, विद्युत बिक्री सम्झौता र निर्माण अनुमति लिनुपर्छ। खुल्ला टर्बाइन प्रविधिमा भने एकै पटक निर्माणमा जान सकिने भएकाले त्यसका लागि नीति नै संशोधन गर्नुपर्ने हुन्छ। यसको तयारी ऊर्जा मन्त्रालयले सुरु गरिसकेको छ।
चाँडो बिजुली उत्पादन भए पनि यसको लागत भने महँगो रहेको शेरचनले बताए। 'रन अफ दी रिभर' आयोजनाको लागत प्रति मेगावाट सालाखाला १५ करोड पर्छ। यो प्रविधिमा भने १६ करोड पर्छ। लोडसेडिङ हटाउन चाँडो बिजुली निकाल्न सकिने भएकाले कम्पनीले बिजुलीको बढी भाउ प्राधिकरणसँग मागेको छ। तर प्राधिकरणले भने २५ मेगावाटभन्दा साना आयोजना सरहमात्र दिन सकिने जानकारी दिएको शेरचनले बताए।
प्राधिकरणले २५ मेगावाटभन्दा कम क्षमताका आयोजनालाई वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट दिने गरी गत जेठमा मात्र दर संशोधन गरेको हो।
खुला टर्बाइनबाट बिजुली निकाल्न ५० देखि ५ सय किलोवाटसम्मका टर्वाइन टोकार्डोले उत्पादन गरेको छ। नदीमा टर्बाइनलाई छाडेपछि पानीको चापले टर्बाइन घुम्न थाल्छ र बिजुली निस्कने यसको सिद्धान्त हो।
टर्बाइन घुमेर निस्केको बिजुलीलाई नदी किनार छेउमा राखिने कन्ट्रोल प्यानलबाट सिधै थि्रफेज लाइनमा जोडेर प्रयोग गर्न सकिन्छ। एकसय किलोवाट क्षमताको टर्बाइनको तौल ३ देखि ४ टनसम्म हुन्छ।
खोलामा पानीको सतह बढेको समयमा स्वचालित रुपमा यो टर्बाइन माथिनै जाने र सतह घट्दा तल जाने प्रविधि यसमा हुन्छ। जतिसुकै बाढी आए पनि टर्बाइन बगाउने समस्या यसमा हुँदैन। चारैतिर फलामे डोरीले कसेर डुंगाजसरी स्थिर बनाएर राख्न पनि सकिन्छ।
सरकारले सहज वातावरण बनाइदिएमा आउँदो चार वर्षभित्र पाँचसय मेगावाट बिजुली यो प्रविधिबाट निकाल्न सकिने दाबी कम्पनीले गरेको छ। नदीको विशेषता र स्थानअनुसार टर्बाइनको डिजाइन गर्नुपर्ने भएकोले युरोपबाटै ल्याउनुपर्छ। टर्बाइन बनाउनमात्र ३ देखि ४ महिना लाग्छ।
यो प्रविधिको अर्को सकारात्मक पक्ष नदीमा जतिसुकै पानी घटे पनि क्षमताको ८० प्रतिशत बिजुली निकाल्न सकिन्छ। खोलामा बाँध बाँधेर त्यसमा रिजरभ्वाएर, पेनस्टक पाइप हुँदै पानी खसालेर बिजुली निकालिने प्रविधिबाट वर्षामा बढी बिजुली उत्पादन भए पनि सुख्खा समयमा भने आधा पनि बिजुली उत्पादन हुँदैन।
नेपालमा यस्तो प्रविधिबाट पाँचहजार मेगावाटसम्म बिजुली निकाल्न सकिने दावी कम्पनीले गरेको छ। एकपटक राखेपछि टर्बाइनबाट २० वर्षसम्म बिजुली निकाल्न सकिन्छ। लगानीकर्ताले ४ देखि ६ वर्षभित्र लगानीको प्रतिफल असुल गरिसक्ने भएकोले निकै आकर्षक भएको दाबी समेत कम्पनीले गरेको छ।

कोई टिप्पणी नहीं: