काठमाडौं, कार्तिक १ - शान्ति प्रक्रिया र संविधान निर्माणको काम अलपत्र परेका बेला प्रमुख दलका शीर्ष नेताहरू पाँच दिन लामो विदेश भ्रमणमा निस्कने तयारीमा छन् । एसियाली राजनीतिक दलहरूको संगठन (आईक्याप) को निमन्त्रणामा माओवादी र एमालेका शीर्षदेखि दोस्रो वरीयताका वरिष्ठ नेताहरू आइतबार कम्बोडियाको राजधानी नोमपेन्हतर्फ जान लागेका हुन् ।
भ्रमण दलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, पूर्वगृहमन्त्री कृष्णबहादुर महरा, एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, उपाध्यक्ष अशोक राई, पूर्वगृहमन्त्री भीम रावलसहितका नेताहरू सहभागी छन् । कांग्रेस स्रोतका अनुसार सभापति सुशील कोइराला नजाने मनस्थितिमा छन् । उनले कसलाई पठाउने भन्नेबारे निर्णय लिएका छैनन् ।
कार्यक्रमको संयोजन आईक्यापअन्तर्गत 'नेपाल पिस एन्ड रिकन्सिलिएसन इनिसिएटिभ' ले गरेको हो । कात्तिक ६ देखि ९ गतेसम्म कम्बोडियाको गृहयुद्ध, शान्ति प्रक्रिया, लडाकु समायोजनलगायत विषयमा स्थलगत अध्ययनमा नेताहरू सहभागी हुनेछन् । कात्तिक १० मा उनीहरू आईक्यापको अलग्गै बैठकमा सहभागी हुने कार्यक्रम छ । दक्षिणपूर्वी एसियामा पर्ने कम्बोडिया लामो गृहयुद्धपछि राजनीतिक स्थीरतातर्फ फर्किएको मुलुक हो ।
स्रोतअनुसार भ्रमण दलका अधिकांश सहभागी कात्तिक १० गते स्वदेश र्फकने छन् । एमाले नेता ओली भने आईक्यापको स्थायी समिति बैठकमा सहभागी हुन नोमपेन्हबाटै दक्षिण कोरिया जानेछन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें