बुधवार, 26 अक्तूबर 2011

५ दिन पछि गद्दाफीको शव अज्ञात स्थानमा गाडियो

 कार्तिक ९- लिबियाका पूर्व शासक माअमर गद्दाफीको शव एक मरुभूमिमा अज्ञातस्थलमा गाडिएको समाचार छ। साथै गद्दाफीका छोराको शवपनि उनीसँगै गाडिएको हो वा उनको अन्त्येष्टि गरिएको छैन भन्ने बारेमा पनि सो समाचारमा केही बताइएको छैन। यसका साथै अन्य एक जनाको पनि अन्त्येष्टि गरिएको प्रवक्ताले जानकारी दिएका छन्। सिर्टेमा भएको आक्रमणमा परी ५० जनाको ज्यान गएको बताइएको छ। अधिकारीहरुका अनुसार गद्दाफीको अन्त्येष्टिमा उनका केही आफन्त तथा अधिकारीहरुको समेत सहभागीता थियो। यसअघि उनको शवलाई सोमबारसम्म कोल्ड स्टोरमा राखिएको थियो।

पश्चिमी लिबियाली सहर मिसार्तामा उनको शबलाई निकै विगत पाँच दिनदेखि सार्वजनिक रुपमै देखिनसक्ने गरी राखिएको थियो। मासु चिस्याउने एक चिस्यानमा उनीसहित उनका छोरा मुतासिमलाई पनि राखिएको थियो। अज सोही स्थानबाट लगी उनको अन्त्येष्टि गरिएको समाचारमा उल्लेख छ। हिजो रोयटर्स समाचार समितिले उनको शवलाई राखिएको स्थनको समाचार दिएको थियो। सो समाचारमा उनको शवप्रति त्यहाँको सङ्क्रमणकालीन परिषद्का लडाकुहरूले पहारा दिइरहेको र उनको शवप्रति त्यति चासो नदेखाइएको पनि समाचारमा उल्लेख गरेको थियो। आज उनको अन्त्येष्टि गरिएको स्थानका बारेमा कैयौं समाचार एजेन्सीहरूले जिज्ञासा राखिरहेको भएपनि सो स्थानका बारेमा भने सरकारले केही बताउन चाहेको छैन।

गद्दाफीका आफन्त एवम् परिवारले उनको शव मागेका थिए। मुस्लिम परम्परा अनुरुप जतिसक्यो चाँडो अन्त्येष्टि गर्ने भन्दै उनका परिवारले शव मागेका समाचारहरू यसअघि आएका थिए। तर त्यहाँको अन्तरिम सरकारले भने उनको शवलाई उनका आफन्तको जिम्मा लगाउन मानेन। उसले परिवारलाई शव दिन नमानेर आज आफै मरुभूमिको एक अज्ञात स्थलमा गाडेको समाचार सो टिभीले दिएको छ। यसका साथै उनीहरूले गद्दाफीको हत्याको बारेमा पनि छानविनको माग गरेका थिए। उनको हत्याको छानबीनको माग उनलेमात्र नभई विश्व समुदायले पनि गरेका थिए। लिवियाको अन्तरिम सरकारका प्रमुख मुस्ताफा अब्देल जलिलले सोमबार मात्र पनि विश्व समुदायको सो अनुरोधमा अन्तरिम सरकारले एक समितिको गठन गरी उनको हत्याको छानविन गर्ने आश्वासन दिएका थिए।

जलिलले गद्दाफीका सहयोगीहरूले नै उनको हत्याका लागि सघाउ पुर्‍याएको बताउँदै आएका छन्। तरपनि ती आफन्तको हुन र किन उनको हत्या नै खोजेका थिए भन्नेबारेमा भने उनले केहीपनि बताएका छैनन्। लिबियामा करिब ४२ वर्षसम्म शासन गरेका पूर्व शासक गद्दाफी गत बिहीबार त्यहाँको अन्तरिम सरकारका सेनाद्वारा नै मारिएका थिए। उनलाई पहिल्यै मारिएको थियो वा नियन्त्रणमा लिएपछि मारियो भन्नेबारेमा भने विभिन्न तर्कहरू बाहिर आएका छन्।

(डिसीनेपाल डटकम संवाददाता)

कोई टिप्पणी नहीं: