गुरुवार, 27 अक्तूबर 2011

जमकट्टेलमाथि आक्रमण माओवादी लडाकुबाट, कारण पार्टीकै आन्तरिक : प्रहरी

केपी ढुंगाना, काठमाडौँ,  कात्तिक १०- माओवादी सभासद तथा मजदूर नेता शालिकराम जमकट्टेलमाथि दुई महिनाअघि बबरमहलमा भएको सांघातिक आक्रमण पार्टी कै लडाकुबाट राजनीतिक र आन्तरिक कारणले भएको प्रहरीले दावी गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा एसएसपी कमल सिंह बमले मजदूर संगठन विवाद आक्रमणको कारण भएको अनुसन्धानले देखाएको बताए। प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन भएको सो घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले प्रस्तुत गरेका तारानिधि पन्त 'रमेश' प्रधानमन्त्री बाबुराम भट्टराई निकटका हुन्। पन्त माओवादी मजदुर संगठनका निवर्तमान सचिव तथा होटल मजदूर युनियन स‌ंघका अध्यक्ष हुन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सार्वजनिक गरेकामा माओवादी लडाकु शिविर तेस्रो डिभिजनका प्रमाणित लडाकु र अयोग्य लडाकुहरु छन्। अनुसन्धान अधिकारी बमका अनुसार तेस्रो डिभिजनका प्रमाणित लडाकु राम पुडासैनीले आक्रमणको योजना र निगरानी गरेका थिए। त्यसैगरी सोही डिभिजनका प्रमाणित लडाकु इन्द्रबहादुर शाही ठकुरीले रडले हानेको र त्यसमा अयोग्य लडाकु सुदीप कार्की 'नवीन' र कमल बुढाथोकीले सहयोग गरेको प्रहरीको दावी छ। बुढाथोकी क्यासिनो नेपालका सुरक्षा गार्ड हुन्।

मुख्य योजनाकार पन्त र  योजनाकार राजन खरेल 'धीरज ' फरार छन्। घटनामा संलग्नहरुलाई उनीहरुले सामान्य खर्च र जागिरको प्रलोभन दिएको बयानबाट खुलेको छ।

'सबक सिकाउनु पर्छ, तर्साउने मात्र हो, मर्ने गरी नहान्नू भन्ने निर्देशन दिएको देखियो', एसएसपी बमले बताए। उनका अनुसार घटनाको १५ दिनअघिदेखि आक्रमणको योजना बनेको थियो।

कोई टिप्पणी नहीं: