शनिवार, 22 अक्टूबर 2011

"धोबीघाट गठबन्धन भत्किँदा आनन्द"

dahal
काठमाडौ, कार्तिक ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कमजोर बनाउन पार्टीभित्र बनेको धोबीघाट गठबन्धन समाप्त भएपछि आनन्द महसुस भएको बताएका छन् । उक्त गठबन्धनको निरन्तरताले पार्टीको नैतिकता, चरित्र र कम्युनिस्ट विचारधारामाथि जनताको आस्था नै समाप्त हुने उल्लेख गर्दै अध्यक्ष दाहालले 'जसरी पनि धोबीघाट गठबन्धन भंग गर्नु जरुरी थियो' भनेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई निकट म्यागेजिन 'ग्रेटवे' को कात्तिक अंकलाई अन्तर्वार्ता दिँदै अध्यक्ष दाहालले गठबन्धन भंग गर्न सकेकामा खुसी व्यक्त गरेका हुन् । अन्तर्वार्ता उक्त अंग्रेजी म्यागजिनका सल्लाहकार तथा पत्रकार महासंघका महासचिव ओम शर्मासमेतले लिएका हुन् ।
'धोबीघाट बैठकमा उपस्थितहरूलाई म आरोप त लगाउँदिनँ तर नेतृत्वलाई कमजोर बनाउन एउटा अनैतिक झुन्ड र अवसरवादीहरूको समूहले षड्यन्त्र रचेको थियो,' अध्यक्ष दाहालले भनेका छन्, 'त्यहाँ एउटा पक्ष अध्यक्षलाई समाप्त पार्न चाहन्थ्यो, अध्यक्षको हैसियतमा मैले धोबीघाट गठबन्धन भत्काउनुपर्ने थियो, अहिले धोबीघाट गठबन्धन समाप्त भएको छ । म आनन्द महसुस गरिरहेको छु ।'
गत साउनमा दाहाललाई कमजोर बनाउने प्रयास स्वरूप माओवादीका उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाले गठबन्धन बनाएका थिए । त्यही गठबन्धनको आडमा भट्टराई पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेपछि सम्भवतः त्यो तोड्ने उद्देश्यले दाहालले समर्थन गरेका थिए ।
दाहालले अन्तर्वार्तामा वैद्य समूहभित्र व्यक्तिवादी प्रवृत्ति हाबी भएको तथा स्वार्थी र पदलोलुपहरू रहेको आरोप लगाएका छन् । मन्त्री नपाएका कारण साँचो विवाद झिकेको उल्लेख गर्दै वैद्य समूहले पार्टीको कार्यदिशा, सिद्घान्त, अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख गरेका छन् । 'किरण पक्षसँग पदलोलुप, स्वार्थी र व्यक्तिवादी चरित्रका नेताहरू छन्,' उनले भनेका छन्, 'म व्यक्तिगत रूपमा किरणजीलाई आरोप त लगाउँदिनँ तर केही नेताहरू यो समस्याबाट ग्रस्त छन् । आफूले भनेअनुसारको पद नपाएका
कारण उनीहरूले यस्ता झिनामसिना कुरा उठाएका हुन् ।'
उक्त समूहले सीपी गजुरेललाई उपप्रधान तथा परराष्ट्र, देव गुरुङलाई अर्थ मन्त्रालयलगायत अन्य मन्त्रलायहरू मागेको र त्यो नहुँदा उनीहरू विरोधमा उत्रेको बताएका छन् । 'मैले धोबीघाटमा देखिएको शक्ति सन्तुलनको आधारमा मन्त्रीहरूबीच भागबन्डा गरौं भनेको थिएँ, अध्यक्षलाई कमजोर बनाउने गरी गठबन्धन गरेको भए पनि तपाईंहरूसँग बहुमत छैन, त्यसैले गठबन्धनको हिसाब-किताबअनुसार ११ मध्ये ६ मन्त्रालय संस्थापन पक्ष र बाँकी धोबीघाट गठबन्धनका समर्थकहरूलाई छुट्टयाउनुपर्छ भनेको हो, संस्थ्ाापन पक्षले सबै मन्त्रालय उनीहरूलाई दिए र आफू चाहिँ जोगीजस्तो बस्नु पनि न्यागसंगत हुँदैनथ्यो,' दाहालले भनेका छन् ।
 उनले पार्टीको निर्णयविपरीत कन्टेनरको साँचो बुझाउने निर्णय गरेको भन्ने वैद्य पक्षको आरोपको खण्डन गरेका छन् । बहुमत सदस्यले चाबी बुझाउने निर्णय अनुमोदन गरेको उल्लेख गर्दै वैद्य पक्षले पार्टीको लेटरप्याड दुरुपयोग गरेर वक्तव्यबाजी गरेको आरोप लगाएका छन् ।
'एउटा लेटरप्याड प्रयोग गरेर दुइटा परस्पर विरोधी धारणा सार्वजनिक भएको माओवादी र नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा नै नयाँ हो, यो काम किरणजीले गर्नुभयो,' उनले भनेका छन्, 'किरणजी र उहाँको समूह पार्टी पद्घति, नैतिकता, कम्युनिस्ट पार्टीको जनवादी केन्द्रीयता र समान्य सिद्घान्तबाट विचलित छ ।'
उनले राजाले माघ १९ मा कदम चालेपछि गिरिजाप्रसाद कोइराला र आफूबीच दिनहुँ सम्पर्क हुने गरेको खुलासा पनि गरेका छन् । १२ बुँदे समझदारी भएपछि कोइरालाले माओवादीको सैन्य अपरेसनमा पनि सुझाव दिने गरेको दाहालले बताएका छन् । 'हाम्रो सैन्य अपरेसनलाई प्रभावकारी बनाउन उहाँले सुझाव दिनुहुन्थ्यो, निरंकुश राजतन्त्र हटाउनका लागि म कोइरालाको सुझावअनुसार आक्रमणका लागि हाम्रो फोर्स प्रयोग गर्थें ।'

कोई टिप्पणी नहीं: