सोमवार, 17 अक्टूबर 2011

बेलायतको भेदभावपूर्ण भिसा नियम परिवर्तन हुने संकेत

UK
लन्डन, आश्विन ३० - बेलायती अध्यागमन सम्बन्धी मन्त्री दामियन ग्रीनले हालै सम्पन्न क्युएए सम्मेलनमा निजी कलेजका विद्यार्थीहरुले काम गर्न नपाउने वर्तमान व्यवस्थामा सरकारले पुनर्विचार गर्ने संकेत दिएका छन् ।
संसदको होम अफेयर्स कमिटीले समेत नयाँ विद्यार्थी भिसा नियमले बेलायतको अर्थतन्त्र नै प्रभावित हुने चेतावनी दिइरहंदा मन्त्री ग्रीनले सो संकेत गरेका हुन् । यसो भएमा निजी हाइली ट्रस्टेड कलेजका विद्यार्थीहरुलाई पनि विश्वविद्यालय पढिरहेका विद्यार्थीसरह सुविधा दिइने छ ।
परिणामस्वरुप विद्यार्थीहरुले कक्षा चलिरहंदा प्रति हप्ता २० घण्टा र विदाका बेलामा पूर्ण समय काम गर्न पाउने छन् । सो नियम २०१२ को अप्रिल वा डिसेम्बरभन्दा अगावै परिवर्तन हुने विश्वास कलेज सञ्चालकहरुको छ । उता, एसोसिएसन अफ युके प्राइभेट स्कुल्स् एण्ड कलेजले बेलायती गृहमन्त्री टेरेसा मेको ‘भत्किएको व्यवस्था टाल्ने’ कथित योजना विरुद्ध बेलायती उच्च अदालतमा पुनरावलोकनका लागि आव्हन गर्ने भएका छन् ।
निजी कलेजहरुलाई सरकारको कथित नक्कली विदेशी विद्यार्थी नियन्त्रण गर्ने निर्णयविरुद्ध कानुनीरुपमा चुनौती दिन अनुमति दिइ सकिएको छ । न्यायाधीशले एसोसिएसन अफ युके प्राइभेट स्कुल्स् एण्ड कलेजलाई विद्यार्थीको भिसा कटौती गर्ने सरकारको योजनाविरुद्ध उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिन अनुमति दिएका छन् ।
उच्च अदालतका उप–न्यायाधीश चाल्र्स जर्ज क्यूसीले एसोसिएसनले उच्च अदालतको आदेशका लागि आवेदन गर्न सक्ने बताए । प्रारम्भिक उच्च अदालतको लण्डनमा भएको सुनुवाईमा न्यायाधीशले एसोसिएसनसित पुनरावलोकनका लागि तार्किक मुद्दा रहेको बताएका थिए । गृहमन्त्री टेरेसा मेले गतवर्ष कठोर नियम घोषणा गरेपछि धेरै निजी कलेज धमाधम बन्द हुंदै छन् । आर्थिक संकट भोगिरहेका निजी कलेजहरुले सरकारको सो योजना नमिल्दो, स्वेच्छाचारी र कठोर बताउँदै आएका छन् ।

कोई टिप्पणी नहीं: