शनिवार, 15 अक्टूबर 2011

अब फरक खालको सहमति आउँछ : प्रधान मन्त्री भट्टराई

दाहालका राजनीतिक गुरु अभिनन्दित-चाँदनी हमाल, चितवन, असोज २८- प्रधान मन्त्री बाबुराम भट्टराईले अब छिट्टै फरकखालको सहमति जनताले पाउने बताएका छन्। सरकारले छोटोभन्दा छोटो समयमा पनि शान्ति र संविधान ल्याउन तयारी गरेको पनि उनले जानकारी दिए। कम्युनिष्ट राजनीतिमा आफ्ना गुरु रहेका ८६ वर्षीय खम्बसिंह कुँवरलाई चेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नागरिक अभिनन्दन गरेपछि आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन। दाहाल जन्मनुपूर्व नै राजनीतिमा सक्रिय कुँवरले उनीसहित एमाओवादीका दर्जनौं नेतालाई कम्युनिष्ट पार्टीको सदस्यता दिलाएका थिए।
नेकपा मसालको चौथो महाधिवेशनताका कुँवरले नै दाहाललाई पार्टी सदस्यता दिलाएका थिए। त्यतिखेर खम्बासिंह कुँवर असारे काजीका नामबाट परिचित थिए भने पार्टीका पोलिटब्युरो सदस्य थिए। वि.सं. १९८५ सालमा लमजुङको बाङग्रे गाविस-७ मा जन्मेका कुँवरका पत्‍नीसहित दुई छोरा, चार छोरी र नातिनातिना तथा पनाति पनातिनी छन्। सामान्य किसान जीवनका उनी दाहाल जन्मेको साल २०११ देखि ५७ वर्षसम्म बढी सक्रियरुपमा कम्युनिष्ट राजनीतिमा लागेका थिए।

यसअघि दाहाल पुष्पलाल श्रेष्ठको खेमाबाट राजनीतिमा सक्रिय थिए। एमाओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका उनको राजनीतिमा दाहाललाई अघि बढाउन पहिलो हात थियो। पार्टीमा फरक मत राख्‍ने नेता मोहन वैद्य पनि उनको अभिनन्दनमा सामेल रहे। उनी पनि कुँवरलाई गुरु मान्छन्।

आफ्नै चेलाबाट नागरिक सम्मान लिएपछि कुँवरले चेलाहरुलाई पार्टी नफुटाउन आग्रह गरे। 'आँट र जोश भएको पार्टी हो', कुँवरले चेलाहरुलाई गुरु दक्षिणाको स्वरमा भने- जुन मतभेद छन् मिल्न नसक्ने छैनन्।' 'सबै सक्षम छन्, अपसमा बसेर आत्मालोचना गरेर वा महाधिवेशनमा गएर भए पनि एक ढिक्का होउ। जनताको चाहना पनि पार्टी नफुटोस् भन्ने छ, कुनै हालतमा फुट्न हुँदैन्, गुट-उपगुटमा चर्किएको विवाद केलाउँदै उनले चेलाहरुसँग भने। आफूजस्तै लगातार खटेर जनसेवामा लाग्न उनले कार्यकर्तासँग आग्रह पनि गरे।

सियो ,धागो र बटम जसरी अनुशासनमा मिलेर बस्छ, त्यस्तै अनुशासन आफूले कुँवरबाट सिकेको उल्लेख गर्दै दाहालले कम्युनिष्ट राजनीतिमा नेतृत्व गरेको २२ वर्षपछि आफ्ना गुरु कुँवरलाई सम्मान गर्न पाउँदा हर्ष लागेको बताए।

पार्टीमा सरस र सरल छविका कुँवरले पदत्याग गरेरै समर्पित रहेको सम्झँदै दाहालले उनकै प्रेरणाले पार्टी एक ढिक्का बनाउने बताए। 'जनयुद्धकालमा आफूहरुसँग भएका साधन स्रोतलाई राम्रोसँग उपयोग गर्न सिकाउने नेताका रुपमा उहाँलाई सम्झन्छु।' पार्टीमा सङ्घर्ष र बहससँगै नयाँ एकता पैदा हुने भन्दै दाहालले नयाँ ढङ्गले पार्टी एक हुने विश्वास व्यक्त गरे।

सार्वजनिक कार्यक्रममा एकताको चर्को कुरा उठाए पनि दाहालले भरतपुरमै पटक पटक आफू निकटका कार्यकर्ता भेला एवम् छलफल गरेका थिए। पार्टीमा जस्तै फरक मत राख्दै नेता मोहन वैद्यले तत्काल एकवबद्ध हुन सक्नेमा शङ्का व्यक्त गरे। 'हामी पार्टी एकता, एकता भन्छौं, एकता पनि होला', वैद्यले भने- तर जबसम्म देश र जनताका लागि नयाँ जनवाद, साम्यवाद अनि स्वाधीनता जस्ता आधारभूत आदर्श पहिले प्राप्त हुनुपर्छ।' अहिलेको राजनीतिक खिचातानी जटिल रहेको भन्दै उनले जटिल सङ्घर्षबाटै पार्टी रुपान्तरण भई नयाँ एकता जन्मने बताए।

नागरिकले रुचाएका कुँवरजस्ता नेता बन्न नेतृत्वलाई उनले आग्रह गरे। दाहाललाई लक्षित गर्दै उनले भने- पद ,प्रतिष्ठा र नामका निम्ति मरिमेट्ने क्रम सुरु भएको छ, कुँवरसरह गुमनाम भएर पनि पार्टीका लागि वर्षौंवर्ष मरिमेट्न सक्नुपर्छ।

प्रधान मन्त्री बाबुराम भट्टराईले कुँवरले देखेको नयाँ नेपालको सपना पूरा हुने दाबी गरे। 'पहिले जनयुद्ध होस् भन्ने चाहना उनको पूरा भयो, प्रधान मन्त्री भट्टराईले भने- त्यसपछि जनसेना होस्, अनि आधार शिविर सबै पूरा भए। अब नयाँ नेपाल देखेर मर्ने सपना पनि हामी पूरा गर्छौं, प्रतिबद्धताको स्वरमा उनले बोले- पार्टी फुटेर हैन, जुटेर अघि बढ्छ।

सरकारले छोटोभन्दा छोटो समयमा पनि शान्ति र संविधान ल्याउन तयारी गरेको  भन्दै उनले छिट्टै फरक खालको सहमति जनताले पाउने खुलासा गरे। नागरिक अभिनन्दनमा जिल्लास्थित विभिन्न दलका पार्टी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। उनीहरुले एमाओवादीले सबै दल, तह र वर्गलाई मिलाएर लैजान नसकेको असन्तुष्टि पोखेका थिए।

चेलाहरुको हातबाट कुँवर पत्‍नी धीरा कुँवर पनि अभिनन्दित भइन। नागरिक अभिनन्दनअघि नागरिक समाज चितवनले कुँवरलाई विशेष समारोहबीच बाजागाजा, अबिर र रथ यात्रासहित बजार परिक्रमा गराएको थियो। विक्रम संवत् १९८४ मा जन्मिएका कुँवर समाजले परिवर्तनका लागि योगदान गरेकोमा सम्पूण नागरिकका अघि सम्मान गरिएको आयोजक समितिका संयोजक नारायणसिंह कुँवरले बताए।

कोई टिप्पणी नहीं: