शनिवार, 15 अक्टूबर 2011

शान्ति प्रक्रिया र संविधान नै मुख्य : कांग्रेस सभापति कोइराला

काठमाडौं, असोज २८- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र संविधान लेखनका कार्य टुङ्ग्याएर चुनावी प्रक्रियामा गई स्थायी सरकार निर्माण गरेपछि मात्र बृहत्तर विकासका सम्भावना रहेको औंल्याएका छन्। उनले त्यसतर्फ एकजुट हुन सबैमा आग्रहसमेत गरेका थिए।
नेपाली कांग्रेसले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को पाँचौं विश्‍व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। सभापति कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई माला र टीका लगाई बधाई ज्ञापनसमेत दिएका थिए।
उनले मुलुकको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन एकता, सहमति र आपसी विश्वासको वातावरण सिर्जना गर्न आवश्यक भएकोमा जोड दिँदै द्वन्द्वको समाधान सहमतिबाटै खोज्न दलहरु अग्रसर हुनुपर्ने बताए।
एनआरएनजस्तो पवित्र सामाजिक संस्थालाई राजनीतिकरण गर्न नहुनेमा जोड दिँदै सभापति कोइरालाले नेपालको सामाजिक र आर्थिक विकासमा एनआरएनको महत्वपूर्ण योगदान रहेको बताए। यसलाई निरन्तर मातृभूमिप्रतिको दायित्व सम्झेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो।
उनले विगत लामो समयदेखि एनआरएनहरुले उठाउँदै आएको दोहोरो नागरिकताको विषयलाई आगामी बन्ने संविधानमा जोडतोडका साथ उठाउन आफू र आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने विश्वाससमेत दिलाए।
एनआरएनका अध्यक्ष जीवा लामिछानेले नेपाल सरकार, राजनीतिक पार्टीहरु र आम नेपालीको सदासयताबाट मात्रै आफ्नो संस्थाले नेपालमा सामाजिक तथा आर्थिक उन्नति र विकासका कार्यक्रम गर्नसक्ने भएकाले सोहीअनुसार काम गर्न आवश्यक भएको बताए।
सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र निवर्तमान अध्यक्ष देवमान हिराचनले नेपाल र नेपालीकै लागि स्थापित विशुद्ध सामाजिक संस्था एनआरएनलाई सोहीअनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिए। रासस

कोई टिप्पणी नहीं: