काठमाडौं, आश्विन २८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार निर्माणअघि भएको चार बुँदे समझदारी पुनर्विचार गर्न राखेको प्रस्ताव मधेसी मेार्चाले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ माओवादी र मोर्चाका शीर्ष नेताहरुको बैठकमा दाहालले चार बुँदे सहमति पुनर्विचारको सम्भावनाबारे ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मधेसी मोर्चाका नेताहरुले समझदारी ऐतिहासीक भएको उल्लेख गर्दै परिवर्तन हुन नसक्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
स्रोतका अनुसार बैठकमा मधेसी मोर्चाका नेताहरुले चार बुँदे सहमतिबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको आलोचना गरेका थिए । दाहालले तीन दिनअघि आफ्नै निवासमा भएको पत्रकार सम्मेलनमा चार बुँदे सहमति समीक्षा गर्न सकिने धारणा राखेका थिए ।
'हामीबीच यस (चार बुँदे सहमति)बारे केही 'अन्डस्ट्यान्डिङ' भए भित्रै मिलाउँ, बाहिर गएर अभिव्यक्ति नदिउँ भन्ने कुरा भयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले भने ।
मधेसी मोर्चासँग भएको सम्झौता 'राष्ट्रघाती' भन्दै आरोप लगाउँदै उपाध्यक्ष मोहन वैद्य समूहले सडक संघर्षसमेत सुरु गरेपछि दाहालले सहमतिको समीक्षा हुन सक्ने बताउँदै आएका थिए । वैद्य समूह सम्झौता खारेज नभएसम्म सरकारमा समेत नजाने अडानमा छ ।
बैठकमा तराईका २२ जिल्लाले निर्णय गरेर देश टुक्र्याउन सक्ने चेतावनी दिएका रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाका विषयमा पनि दुई सत्तासाझेदारबीच छलफल भएको छ ।
माओवादीको संस्थापन र उपाध्यक्ष मोहन वैद्य पक्षले भण्डारीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । माओवादी अध्यक्ष दाहालले सार्वजनिकरुपमै भण्डारीले राजीनामा दिनुपर्ने भनाइ राखेपछि मोर्चाले कडा आपत्ति जनाउँदै आएको छ ।
बैठकमा भण्डारी र भूमिसुधार मन्त्री प्रभू शाहको राजीनामा माग गर्दै सुरु गरेको सदन अवरोधबारे पनि छलफल भएको छ । 'यस विषयमा विपक्षीसँग बसेर समाधान खोज्ने सहमति भएको छ,' यादवले भने, 'राजीनामाबारे कुनै निर्णय भएन ।'
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो । भ्रमणमा प्रधानमन्त्रीले गर्ने सम्झौताका विषयमा सोमबार पुनः बृहत् छलफल गरेर तयारी गर्ने निर्णय भएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें