शनिवार, 15 अक्टूबर 2011

स्याङ्जामा फेरि अर्को दुर्घटना, दुईको मृत्यु, तीन सिकिस्त

आज भएको यो छैटौँ दुर्घटना-टेकनारायण भट्टराई, पाल्पा असोज २७- स्याङजामा शुक्रबार राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
लु १ ज ९५३ नम्बरको जीप दुर्घटना हुँदा स्याङ्जा पक्वादीकी १९ वर्षीया अञ्जली थापा र तीनदोबाटे-८ की २४ वर्षीया हरीकला रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
सिद्धार्थ राजमार्गको करादिबाट तीनदोबाटेतर्फ जाँदै गरेको जीप शुक्रबार करिब साढे ७ बजे संदिया भन्ने स्थानमा सडकबाट तल पल्टेको प्रहरी निरीक्षक तपनकुमार दाहालले नागरिकलाई बताए। राजमार्गबाट २ किलोमिटरभित्र कच्ची सडकमा जीप पल्टेको उनले बताए।
घटनास्थल वालिङ बजारदेखि १२ किलोमिटर टाढा पर्छ। घाइतेलाई उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज ल्याउँदै गरिएको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भएको भन्ने खुल्न सकेको छैन।
सिन्धुलीमा बस दुर्घटनामा ४१ जना मारिएको भोलिपल्ट आजै मात्र पाल्पामा एउटा, बारामा दुई वटा, सिन्धुपाल्चोकमा एउटा र फर्पिङको भीमडाँडामा एउटा गरी पाँच वटा दुर्घटना यसअघि भइसकेको छ। बारामा भएका दुई वटा दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने सबै घटनामा गरी ५० भन्दा बढी घाइते भएका छन्। ती मध्ये केहीको अवस्था चिन्ताजनक छ।

कोई टिप्पणी नहीं: