सोमवार, 17 अक्टूबर 2011

जनचाहाना अनुसार प्रहरी संगठन विकसित गर्नुपर्छः गच्छदार

bijaya
काठमाडौ, आश्विन ३० - उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र जनचाहना अनुरुप नेपाल प्रहरी संगठनलाई विकसित गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रहरीद्वारा प्रहरी दिवस– २०६८ को उपलक्ष्यमा सोमबार  आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समारोहमा उनले नेपाल प्रहरीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नेतर्फ सरकारले आवश्यक पहल गर्ने जानकारी दिए ।
गृहमन्त्री गच्छदारले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न, राष्ट्र निर्माण र विकासका लागि प्रहरीको सहभागिता अपरिहार्य भएको बताए ।
गृहमन्त्री गच्छदारले प्रहरी नीति, प्रहरी सरुवा बढुवामा हस्तक्षेप भएको भन्ने खबर कपोलकल्पित भएको बताउँदै यस प्रक्रियामा हस्तक्षेप नहोस् भन्ने उद्देश्यले सरकारले प्रहरी सेवा आयोगको मस्यौदा तयार पार्न थालेको जानकारी गराए ।
उनले प्रहरी संगठनको तल्लोस्तरका कर्मचारीको कार्यक्षेत्रमा मनोबल बढाउनका लागि सरकारले कल्याणकारी योजना सञ्चालन गर्ने तथा प्रहरी संगठनमा लैंगिक मैत्री वातावरण बनाउन लागिपर्ने विश्वास व्यक्त गरे  ।
प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका लागि प्रहरी प्रशिक्षण संस्थानको व्यवस्थापन गर्न तथा ट्राफिक जनचेतनासम्बन्धी पाठ्यसामग्री स्कुलको पाठ्यक्रममा सहभागी गराउनका लागि पहल गर्नसमेत गृहमन्त्री गच्छदारले सङ्गठन प्रमुखलाई निर्देशन दिएका थिए  ।
सो अवसरमा उनले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै तीन जना अमर प्रहरी परिवारलाई कदरपत्र तथा स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने सातजना प्रहरी कर्मचारीलाई कदरपत्र प्रदान गरेका थिए  ।
कार्यक्रममा अमर प्रहरी परिवार, प्रहरी अधिकृत, कर्मचारी, नागरिक समाजका सदस्यलगायतले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी अमर प्रहरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी परिवार महिला सङ्घबाट अमर प्रहरी परिवारलाई राहत वितरण गरिएको थियो ।

कोई टिप्पणी नहीं: