बुधवार, 17 अगस्त 2011

फुटबलले दिलायो कार


car
कास्की, श्रावण ३२ - खेलेर बाँच्नै गाह्रो छ, कमाउनु त टाढाको कुरा । अधिकांशले यसै भन्दै आएका छन् । तर फुटबलर अनिल गुरुङमा भने यो कुरा मेल खाँदैन । संघर्षले अनिललाई सफल खेलाडी मात्रै होइन, राम्रो कमाउने पनि बनायो । खेलकै कमाइले भर्खरै मात्र अनिलले २६ लाख रुपैयाँको आई ट्वाइटी  कार किनेका छन् ।
'खेलेरै गाडी किन्ने हैसियतमा पुगौंला भनेर सोचेकै थिइनँ, मालेपाटनस्थित आफ्नो घर आएका उनले शनिबार भने, 'यो मेरो खेलकै कमाइ हो ।' उनले आफूले खेलेरै यति ठूलो सफलता पाउँला भनेर नसोचेको बताए ।
पाँच वर्षअघि एन्फाले उत्कृष्ट खेलाडीबापत उपेन्द्रमान सिंहलाई कार उपहार दिँदा धेरैले कार पाएर के गर्नु तेल हाल्न पनि सक्नुपर्‍यो भन्दा एन्फा अध्यक्ष गणेश थापाले नेपाली खेलाडीलाई कार चढ्ने हैसियतमा पुर्‍याउने बताएका थिए । तर अनिल भने आफ्नै मिहिनेत र संघर्षको कमाइले कार किनेर त्यसमा हुइँकिने हैसियत बनाउन सफल भएका छन् ।
उनले दस वर्षअघि मालेपाटनको घरेलु हिले मैदानबाट फुटबल खेल्न सुरु गरेका थिए । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अनिल गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्दै बेलायतको चर्चित फुटबल क्लब चेल्सीसम्म पुग्न सफल भए । पढेन भनेर गाली गर्ने परिवार अहिले उनको सफलताबाट खुसी छ । 'पढेन, के गरेर खान्छ भनेर चिन्ता लाग्थ्यो,' आमा विष्णुले भनिन्, 'अहिले सफलतामा खुसी छु ।' 
भारतको 'ए' डिभिजन सिलोङ लाजोङ क्लबबाट खेल्दा उनले ठूलो रकम पाए । बेलायतमा ट्रायल  दिने अवसर पाएका अनिलले भने, 'नेपाली खेलाडीलाई बाहिर खेल्न जान दिए प्रगति गर्न सक्छन् । अहिले त नेपालमै राम्रो खेल्नेलाई पैसा छ ।'

कोई टिप्पणी नहीं: