शनिवार, 13 अगस्त 2011

आज जनैपूर्णिमा अर्थात रक्षा बन्धन

२८, साउन काठमाडौ । वैदिक परम्परा र हिन्दु संस्कृति पहिचानको रुपमा मानिएको रक्षा बन्धन जनै पुर्णिमा आज हिन्दु धर्माबलम्बीले मनाउँदै छन् ।
आजका दिन हिन्दुहरुले दृश्य र अदृश्य शक्तिबाट बच्न र किसानहरुले खेतीबाली राम्रो होस् भनेर सप्त ऋषिको पूजा गर्दछन् । जनैपूर्णिमा पर्वलाई मानव कल्याणको रुपमा पनि लिइन्छ ।
आजका दिन विशेष गरी ब्राम्हण क्षेत्री, ठकुरी, गिरी, पुरी, सन्यासी, नेवार समूहका समुदायले नयाँ जनै फेर्ने र हातमा डोरो अथवा राखि बाँध्ने चलन छ । जसलाई रक्षा बन्धन पनि भनिन्छ ।
जनैका ९ सरैयालाई अग्नि ओमकार सर्प पितर सोम प्रजापति वायु सूर्य र सवै देवताको प्रतिकको रुपमा लिइन्छ । रक्षाबन्धनका दिन हातमा बाधिएको रक्षा बन्धन तिहारको गाइपूजाको दिन गाईको पुच्छरमा बाँधी दिए वैतर्णीबाट पार पाइने किम्वंदन्ती छ ।
जनै लगाउने तागाधारीहरुले ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् ।
आजका दिनमा आफ्नो सुरक्षाका लागि नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले आजै राखी बाँध्ने चलन छ । आजै पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड नुवाकोटको देविघालगायतको धार्मिक क्षेत्रमा मेला लागिरहेको छ ।

कोई टिप्पणी नहीं: