मनोज अधिकारी, पोखरा, असार २३ - मणिपाल शिक्षण अस्पतालमा हर्नियाको अप्रेसन गरेका एक बालकको १२ दिनपछि मृत्यु भएको छ। एकै पटक दुबैतर्फ हनिर्याको अप्रेसन गरेका तनहुँको छाङ गाविस-९ का ९ वर्षीय विवेक विकको मंगलबार मृत्यु भएको हो। उनको मृत्युलगत्तै अस्पतालले गल्ती स्वीकार गर्दै बाबुलाई रोजगारीसहित उचित क्षतिपूर्ति दिने आश्वासनमा प्रहरी र पत्रकार नबोलाउन आग्रह गरेकाले घटना ढिलोगरी सार्वजनिक भएको हो।
असार ९ गते अप्रेसन गरेदेखि नै छट्पटाईरहेका बालकको अस्पतालकै लापरबाहीले मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका छन्। आफन्तले अस्पताल घेराउ गर्दै दोषी चिकित्सकलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गरिरहेको प्रहरीले जनाएको छ।
सुरुमै भएको मौखिक सहमति अस्पतालले पालना नगरेपछि पीडित पक्षले बिहीबारबाट संघर्ष थालेको छ। मृतक बालकका काका सुरज विकले अस्पतालकै लापरबाहीले विवेकको मृत्यु भएको जिकिर गर्दै दोषी चिकित्सकलाई कारबाही र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखे।
'चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको स्वीकार गर्दै अस्पतालले सुरुमै उचित क्षतिपूर्ति दिने आश्वासन दिएर घटना बाहिर नलैजान आग्रह गरेको थियो,' उनले भने,'अहिले क्षतिपूर्ति दिन मिल्दैन। पहिले पोष्टमार्टम गर्नुपर्छ भनेर अस्पताल पन्छिन खोज्यो।'
विवेकको दुवैतर्फ हर्नियामा समस्या देखिएको थियो। अभिभावकले अहिले एउटा मात्र अप्रेसन गर्ने भनेर अस्पताल लगे पनि चिकित्सकले एकैपटक दुवैको अप्रेसन गरिदिएका थिए। एकैपटक दुवै हर्नियाको अप्रेसन गरेकाले बालकको मृत्यु भएको आफन्तको आरोप छ। चिकित्सकले भने पछिसम्मको झन्झट टर्छ भनेर एकैपटक अप्रेसन गरिदिएको बताएका थिए। विरामीका आफन्तकाअनुसार एकैपटक दुई चिकित्सकले दुवै अण्डकोषको अप्रेसन गरेका थिए।
काका सुरजकाअनुसार, असार ६ गते अस्पताल भर्ना भएका विवेकको ९ गते अप्रेसन गरिएको थियो। अप्रेसनपछि होसमा आएलगत्तै उनी छट्पटाउन थाले। यस्तो भएपछि पटकपटक चिकित्सकहरुको बैठक बसेको थियो। शिक्षण अस्पताल भएकाले चिकित्सकहरुले प्रयोगात्मक अभ्यासका लागि एकैपटक दुवै हनिर्याको अप्रेसन गरेर अवोध बालकको ज्यान लिएको उनको आरोप छ।
'डाक्टरले ठीक हुन्छ आत्तिनु पर्दैन भन्दै राखेका थिए,' उनले भने,'डाक्टरहरुले सिक्ने साधन बनाउँदा उसको दुई दिनअघि मृत्यु भयो।'
अस्पताल प्रशासनले भने पीडित पक्षसँग वार्ता भईरहेकाले घटनाबारे केही बोल्न नमिल्ने प्रतिक्रिया दिएको छ। बालकको मृत्यु भएपछि पाँच चरणमा भएका वार्तामा समेत अस्पतालले दोषीलाई कारबाही र क्षतिपूर्तिको प्रयास नगरेपछि संघर्ष गर्नु परेको काका सुरजले बताए।
पढाईमा तेजिला विक छाङ गाविसकै हिरामणी प्रावि कक्षा २ मा पढ्थे। विद्यालयका शिक्षकले उनी पढ्नमा तेजिलो रहेको र बिरामीबारे कुनै जानकारी नभएको बताए।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें