बुधवार, 6 जुलाई 2011

नेपालमा विकास हेर्न चाहन्छन् अमेरिकी नेपाली



वासिडटन डिसी , अषाढ २२ - अमेरिकाममा बसोवास गर्दै आएका नेपालीहरुको पुरानो संस्था एएनए सम्मेलनमा राजनीतिक विषयमा बर्षेनी कार्यक्रम हुदै आए पनि यस बर्ष नेपालको विकासलाई केन्द्र विन्दुमा राखेर बौद्धिक बहस आयोजना गरिएको छ ।
अमेरिकाको विभिन्न विश्व विद्यालयमा अध्यापनरत बौद्धिक व्यक्तित्वहरु, नेपालबारे चासो राख्नेहरु सहभागि कार्यक्रममा राजदुत शंकर शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपाल विकास पथमा अग्रसर हुने प्रचुर सम्भावना रहेको बताए । राष्ट्रिय योजना आयोगलगायत विभिन्न सरकारी तहमा काम गरिसकेका शर्माले राजदुत नभई विकासविदका रुपमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
न्युन आम्दानी, जातीय प्रभाव र प्राकृतिक स्रोतमाथिको निर्भरता भएका मुलुकमा द्धन्द्ध दोहोरिन सक्ने अध्ययनबाट देखिएको उनले बताए । तर नेपालमा भने कम आर्थिक बृद्धिका कारणमात्र यस्तो जोखिम केही मात्रामा रहेको शर्माले बताए । ' कुनै पनि भागमा एक जातिको प्रभुत्व नभएको र प्रकृतिक श्रोत निर्भरता नभएपनि न्युन आर्थिक बृद्धिका कारण त्यस्तो सम्भावन अझै छ,' उनले भने, 'त्यसैले रोजगारीका अवसर बढाउने गरी आर्थिक बृद्धि द्रुत गतिमा अघि बढाउनु पर्ने आवश्यकता उनले औल्याए ।'
अमेरिका नेपाल सोसाइटीका निवर्तमान अध्यक्ष खेम भट्टचनद्वारा संयोजन गरिएको कार्यक्रममा शर्माले कृषिको व्यवसायिकरण, जलविद्युतको विकास, समावेसी आर्थिक बृद्धि अहिलेको आवश्यकता भएको बताए । यसबाहेक पर्यटन उद्योग नेपालको लागि तुलनात्मक लाभको क्षेत्र भएको धारणा उनको थियो ।
कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै जोन हपकिन्स विश्व विद्यालयमा अनुसन्धानरत डा. सुदिप श्रेष्ठले ग्रामिण विकासको माडल प्रस्तुत गर्दै सहभागिहरुलाई सहयोगको निम्ति आग्रह गरेका थिए । आफुलाई गि्रन कार्ड दिन अमेरिकी सरकारले अफर गरे पनि नेपालमै गएर काम गर्ने उद्देश्यका कारण नलिएका उनले कृषिकै माध्यमबाट शिक्षा र स्वास्थ्यमा सुधार गरी आर्थिक बृद्धि गर्न सकिने  उनले बताए ।
वासिडटन डिसीस्थित विश्व बैंक मुख्यालयमा कार्यरत बरिष्ठ अर्थसास्त्री डा गोविन्द तिमिल्सिना, स्टेट गभरमेन्टका अनुसन्धान अधिकृत डा डम्बरकुमार गुरुड, १९८५ मा जर्ज वासिडटन विश्वविद्यालयबाट राजनीति सास्त्रमा विद्या वारिधी गरेर विभिन्न अन्तराष्टिय अनुसन्धान केन्द्रहरुमा काम गरिसकेका अनुभवी प्राध्यापक डा. चित्रकृष्ण तिवारी, एनआरएनका संस्थापक उपाध्यक्ष डा श्याम कार्कीलगायत विद्धानहरुले आफ्ना धारणा कार्यक्रममा राखेका थिए ।
एएनए सम्मेलन सम्पन्न
अर्को बर्ष टेक्सकस्थित डल्लासमा ३० औं सम्मेलन गर्ने निर्णय गर्दै उत्तर अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको पुरानो संस्था (एएनए) का २९ औ सम्मेलन सकिएको छ ।
झण्डै १ हजार ५ सय दर्शकले खचाखच हलमा सांस्कृतिक कार्यक्रम गर्दै कार्यक्रम समापन गरिएको थियो । बरिष्ठ अभिनेता सरोज खनालको  संयोजनामा सम्पन्न कार्यक्रममा प्रशिद्ध लोक गायक प्रेम राजा महत, चर्तित गायिका नलिना चित्रकार, राजु लामा, यमन श्रेष्ठ, राम प्रसाद दाहाल लगायत कलाकारले दर्शकलाई रोमाञ्चित बनाएका थिए ।
अमेरिकाका लागि नेपाली राजदुत शकर शर्माको आतिथ्यमा आयोजित समापन सामारोहमा एएनए सम्मेलनका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । फुटबल, अमेरिकी फुटबल, भलिवल, गल्फ र बास्केटबल प्रतियोजिता आयोजना गरिएको थियो । फुटबलका सहभागिमध्येबाट अमेरिकी नेपाली राष्टिय टोलीको घोषणा पनि कार्यक्रममा गरिएको थियो । खेलकुदमा अमेरिकाको ५० राज्यका ७ सयभन्दा बढिको सहभागिता थियो ।
बालबालिकाहरुको कार्यक्रम
एनएनएको २९ औं वाषिर्क सम्मेलनको अर्को आर्कषक पक्ष थियो, बालबालिकाको किड्स क्याम्प । ५२ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागीता रहेको किड्स क्याम्पमा परिचायत्मक, पेन्टिड. तथा तातो आलु खाने जस्ता रोचक खेलले बालबालिकाहरुलाई निकै उत्साहित र उक्त खेलहरुले उपस्थिती जनसमुदायलाई बालप्रतिभाको महशुस गराएका थिए ।
३ दिन सम्म नियमित संचालित उक्त कार्यक्रमको दोश्रो दिनको शुभारभ्भ नेपाली राष्ट्रिय गीत शुरु भएको थियो । कार्यक्रमको क्रममा टोपी लुकाई, घुम्ने कुर्सी, फि्रजीडं गेम, ओमकार मंत्र र फ्रेडसीप गेम जस्ता खेलले बाल मनस्थितीमा उर्जा थपेको र अन्तिम दिनमा सञ्चालन भएको बालबालिकाको किडफ्री सो नामक खेल पश्चात बाल सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
अर्जि प्रसाई, आयोन खनाल, रित संग्रौंला, सम्पदा आचार्य, सगुन आचार्य, कान्ती शिवाकोटी, सन्ध्या अधिकारी, स्वीकार दाहाल, कृति पोख्रेल, आभा श्रेष्ठ, श्रीयसी अधिकारी, आयुसा खनाल र पुजा लगायतका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।
बाल प्रतिभाको विकास र बाल सहभागीताको पक्षलाई समेटी गरिएको बालकार्यक्रमले अभिभावक र सहभागीहरुलाई भरपुर मनोरञ्जन तथा बाल क्षमताप्रति सम्मान जागृत गरेको थियो । कार्यक्रमको संचालन गोमा संग्रौलाले गरेका थिए ।
कविता गोष्ठी सम्पन्न
नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले एएनए सम्मेलन स्थलमा कविता गोष्ठि पनि आयोजना गरेको थियो ।
कार्यक्रममा साहित्यकारहरु हेमन्त श्रेष्ठ, बसन्त श्रेष्ठ, आनन्द प्रसाद शर्मा, सीता पाण्डे, होम नाथ सुवेदी, चन्द्र कमारी नेवा, विश्व विमोहन श्रेष्ठ, छेवाड. शेर्पा लामा, नम्रता गुरागाई, आचार्य, कविता घीमीरे, मीना शाक्य, विनोद रोक्का, गोविन्द सिंह रावत लगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको सभापतित्व श्री बसन्त श्रेष्ठले गरेका थिए ।
आदिवासी जनजाती फोरम
आइतबार नै जनजाति तथा आदिबासीहरुको विशेष फोरम पनि आयोजना गरिएको थियो । उक्त फोरममा बोल्दै एएनए कार्यदलका अध्यक्ष छेवाड शेर्पा लामाले हामीले पहिले जनजातिवीचमै एकता गर्नु गर्ने अनि नेपाली नेपाली वीचमा एकता खोज्नु पर्ने कुरा आबश्यकता औल्याए । महिला अधिकारकर्मी विष्णु परियारले सवै नेपालीहरु एक हौं भनेर काम गर्न र विभेद नगर्न अनुरोध गरिन् ।
यसैगरी कविन्द्र सिटौलाको संयोजकत्वमा एएनएको इतिहासमा पहिलो पल्ट आयोजना भएको वरिष्ठ नागरिकहरुको फोरममा अमेरिकी नेपाली वरिष्ठ नागरिक समाजका अध्यक्ष राम मालाकार, दिव्य हाडा, गंगाकुमारी लुइटेल, जगधीश पराजुली लगायतले आआफ्नो विचार ब्यक्त गरेका थिए ।

कोई टिप्पणी नहीं: