सोमवार, 23 मई 2011

गृहमन्त्रीले भने– ‘प्रहरीमा राजनीति घुस्न दिन्न'

काठमाडौ, जेष्ठ १० - गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुरक्षा निकायको अनुगमन थालेका कृष्णबहादुर महराले सोमबार नेपाल प्रहरीको मुख्यालय निरीक्षण गरेका छन् ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा गृहसचिवसहित पुगेका उपप्रधानमन्त्रीसमेत रहेका उनले प्रहरीलाई ‘इमानदार भएर काम गर्न’ निर्देशन दिए ।
उनले कानुनी राज्यको उपस्थिति जनाउने प्रहरीले जनताको सेवामा कन्जुस्याइ गर्न नहुने बताए । ‘जनताको काम गर्ने प्रहरी इमानदार नभए सिंगो मुलुकको सुरक्षास्थिति खल्बलिन्छ,’ उच्च प्रहरी अधिकृतलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको नै हो ।’
प्रहरीमा राजनीतिक घुसपैठको प्रसंग सुनाउँदै उनले आफू गृहमन्त्री भएको दुई सातामा दुई बाकस सिफारिस आइपुगेको बताए । ‘दुई सातामा दुई बाकस सिफारिसका कागज आइपुगेका छन्, प्रहरीले नै नगरी ती कागज म कहाँ आइपुगेनन्,’ उनले भने ।
सिफारिसको प्रसंग निकाल्दा निर्देशन सुन्न बसेका प्रहरी अधिकृतहरू मुखामुख गर्दै हाँसेका थिए । ‘प्रहरीमा नेताले राजनीति घुसाएका हुन् वा प्रहरी आफैंले त्यो वातावरण बनाएको हो ? विचार गर्नु आवश्यक छ,’ उनले भने, ‘अपराधी छुटाउनदेखि प्रहरीको सरुवा बढुवामा मबाट कुनै सिफारिस वा हस्तक्षेप हुँदैन, तपाईंहरू कानुनले दिएको अधिकार प्रयोग गर्नोस् ।’
अधिकारभित्र रहेर काम गर्दा कुनै दबाब वा सिफारिस आए निर्धक्क आफूलाई भन्न आग्रह गर्दै महराले त्यस्ता गलत कामलाई आफूले जसरी पनि रोक्ने अडान व्यक्त गरे ।
उनले सबै राजनीतिक दलसँग एकै खालको सम्बन्ध राख्न पनि प्रहरीलाई निर्देशन दिए । ‘म गृहमन्त्री भएँ भन्दैमा माओवादीसँग नजिक हुनु पर्दैन, सबै दलसँग एकैखालको र समान दूरी राख्नोस्,’ उनले भने ।
उनले माओवादी जनयुद्धका समयमा भएका कुरालाई भुलेर अघि बढ्न सुझाए । ‘त्यसबेला राज्यको तर्फबाट प्रहरीले उचित काम गरेको थियो, माओवादीले पनि त्यसबेलाको सन्दर्भमा गरेको जनयुद्धको औचित्य पुष्टि भएको छ,’ उनले भने, ‘यस विषयमा हामीबीच अब कुनै मनोवैज्ञानिक दूरी, आग्रह पूर्वाग्रह छैन, बाँकी छ भने आजैका दिनदेखि अन्त्य गर्न आग्रह गर्छु ।’ प्रहरी ऐन र नियमावली समयसापेक्ष परिवर्तन गर्नेसमेत उनले प्रतिबद्धता जनाए ।
उनले सम्बोधन गर्नुअघि मुख्यालय परिसरमा रहेको माओवादी युद्धका बेला ज्यान गुमाएका प्रहरीहरूको ‘अमर प्रहरी स्मारक’ मा पुष्पमाला चढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

कोई टिप्पणी नहीं: